मनहरी क्षितिजका ५ कविता

लाेकपाटी न्यूज

एक – बिधवा सहर

प्रिय काठमाडौ
तिम्रो प्राकृतिक अस्मितामा
कामुक सिँगारका रङ्ग छरेर
अप्राकृतिक दाइजोमा थुक निलेका
महामहिमको एक लस्करले
प्रदेशीका केही थान आश्वासन पश्चात्
बिवाहा मन्डप बाटै तिमीलाई
बिधवा बनाइदिए।

दुई –  साथी

तिमी पात्र
सदमार्गि बाटो हिडने सपनामा
बुद्ध भयर जन्मियौ ।
तर अफसोच
पछि यहि समाजको
तिरस्कृत माटोमा समाहित भै
पापको खोलले बेरियको कात्रो बाट
तिमी उम्कन नसकेरै हो
हजारौ वर्ष पछि बुद्धविरोधि भै
झुट उद्दोगको सदस्यता
भिरेछौ ।

तीन – मैले नछोएको क्षितिज

सधैँझै आस्ताउँदै गरेको घामलाई सोधेँ
तिमी कहिले लिन आउँछौ मलाई?
म क्षितिज छुन चाहन्छु
केही फरक देख्न चाहन्छु जिन्दगीलाई।
तर उत्तर सधैँ एउटै
म अस्ताउने र उदाउने क्षितिज, अनि
तिमीले छुन खोज्ने र देखेको क्षितिज
जीवन मृत्यु जस्तै हो
कहिलै नजोडिने गणितीय दुई रेखाजस्तै
तर, धड्कनको अन्तिम सामिप्य बिर्सेर
मेरो अस्ताउने बिन्दु छुन आउने दिन
म पर्खिरहेको हुनेछु,
तिमी छुनेछौ मलाई
अनि बुझ्नेछौ फरक जीवन जिउनुको अर्थ।

चार- त्रिशूली र नाइल नदी

नाइल, मानव सभ्यताको रेखा बोकेर
सन्सार बिसायो, र हामी भयौँ।
नदिझै खुल्ला हृदय बोकेर
चन्द्रमामा बस्ती बसाउदैछौँ
अब नाइलसम्म संदेश र्पुयाउनु छ
नाइल नदी… तिम्रै बंश भनौँ
हाम्रो तिर हरेक समय तिमीजस्तै बगिरहेको छ,
उस्को सामीप्यमा
घामको झुल्को सँगैअस्ताइरहेछन्
हाम्रा आशाहरु।
त्रिशूली पनि बग्न त बगेकै हो
तर फरक त्यति छ
तिमी सभ्यताको शिरोधार्यमा बग्यौ,
त्रिशूली कृत्रिम सभ्यताको पहरी बोकेर
दिनरात नभनी रगतसँगै बगिरहेको छ।

पाँच –  आमाको कसम

चुइने छानो
टिनले छाउने कसम खायर
काठमानडु पसेको छोरो
यो भिडभाड शहरमा
महीनौ बिते, कति बर्सै बिते
उहिले दशैमा आमाले किनिदियका
तिनै एकाजोर कपडा लगायर
घुमिरहेको छ जागिर को खोजिमा
बाहिर निस्कदा मान्छेको भिडमा
ठेस लागेर रगताम्य भएको कुर्कुचा संगै
साझाको अधेरी जस्तै
आमिलो मन बोकेर, त्यहि
छाउपढी जस्तो टिनको ढोकाभित्र
निदाइरहेको छ
आमलाइ दिएको कसम सम्झेर।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्