चितवन, ३० असोज। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा जिल्लाबाट १३ हजार २८४ जनाले मतदान गर्न पाउने भएका छन्।
निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाका दुई स्थानीय तहका तीन वडामा गरी उनीहरुले उपनिर्वाचनमा सहभागिता जनाउन लागेका हुन्। कार्यालयका प्रमुख हरि ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा उपनिर्वाचन हुँदैछ।
निर्वाचनका लागि कार्यालयले मतदाता नामावलीको अन्तिम रुप दिएको हो। जसअनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन्।
भरतपुर महानगरपालिका–१६ मा विसं २०७६ असोज ७ गते १८ वर्ष पूरा भएका र खैरहनी नगरपालिकाका मतदाताको हकमा साउन १६ गते १८ वर्ष पूरा भएकाले मात्र मतदान गर्न पाउनेछन्। ती वडामा वडाध्यक्षको निधनपछि पुनः मतदान हुनलागेको हो।
ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा तीन मतदानस्थलमा १० केन्द्र रहनेछन् भने खैरहनी नगरपालिका–४ मा दुई स्थानमा तीन केन्द्र र ५ मा एक स्थानमा दुई केन्द्र रहनेछन्। निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षाकर्मीबाहेक १ सय ३५ कर्मचारी खटिने उनले जानकारी दिए। ६० स्वयंसेवक मतदानस्थलमा नै नियुक्ति हुनेछन् भने ७५ कर्मचारी कार्यालयले खटाउने तयारी गरेको छ।
विसं २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्षको निधनपछि पुनः निर्वाचन प्रक्रियामा जानुपरेको हो। भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको विसं २०७६ असोज ४ गते क्यान्सर रोगका कारण निधन भएको थियो भने खैरहनी नगरपालिका–४ र ५ का वडाध्यक्ष क्रमशः नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको विसं २०७४ फागुन ७ गते दुर्घटनामा परी मृत्यु भएको थियो।
अहिले निर्वाचन हुन लागेका वडामा खैरहनीका दुई वडा काङ्ग्रेस र भरतपुर महानगरको वडा नं १६ को वडाध्यक्षमा तत्कालीन नेकपा एमाले विजयी भएको थियो। तीनै वडाका लागि नेपाली काङ्ग्रेसले उम्मेदवार तय गरिसकेको छ भने नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाउने तयारी भइरहेको जनाएको छ।



रासस न्यूज

