यात्रा आफैंमा एउटा काव्य हो र यात्री त्यस काव्यको रचनाकार। यात्रा गर्नलाई कुनै न कुनै एउटा अवसर जुट्नुपर्छ। समय र अवस्थाले पनि साथ दिनु पर्छ। मलाई धेरै पहिले देखि कर्णाली जिल्लाका पहाडी जीवन हेर्ने निकै नै चाख थियो। तर कार्य व्यस्तता र निरस प्रायः शहर केन्द्रीत जीवनले यी मेरा संकल्पहरुलाई धिक्कारिरहेका थिए।
मलाई एक दुई बजार, एक दुई घर, बाटाघाटा र जंगल मात्र हेर्नु थिएन। त्यहाँका चरम् सभ्यतासँग परिचित हुनु थियो। सायद, अति नै चाहा राखिदिएपछि पनि धेरै चिजहरु पूरा हुने गर्छन्। यस्तै भइदियो केएमसी पूर्व विद्यार्थी संघद्वारा आयोजना हुने भनिएको निःशूल्क स्वास्थ्य शिविर मेरा लागि वरदान सावित भयो। संस्थाको अध्यक्ष समेत भएको हिसाबले पहिले पहिले पूर्वमा सुनसरी र नजिकमा धादिङसम्म गएर निःशूल्क स्वास्थ्य शिविर गरेका अनुभवहरु थिए। यो चोटी पश्चिम त्यो पनि कर्णालीको विकट मुगु जिल्ला नै जाने अठोटका साथ कार्यहरु अघि बढाएँ।
नजिक त सबै जान्छन्। जहाँ आवश्यकता पर्छ टाढा नै किन नहोस्, समाजिक सेवाको भावले हामी जानै पर्छ भन्ने हेतुले छायानाथ रारा नगरपालिकाको कार्कीवडालाई शिविर हुने स्थानका रुपमा तोकियो। वडाको स्वीकृति पत्र सँगसँगै खर्च र औषधी उठाउन संयोजन टोली पनि गठन गरियो। जुम्लाकै वासिन्दा नविन भाइले टोलीको नेतृत्व गरे भने यासना बहिनी र मुगुकै वासिन्दा पुष्पराज भाइ पनि निरन्तर कार्यक्रम सफल बनाउन लागि परे। सायद हाम्रो आत्मविश्वास बलियो भएर होला मौसमको प्रतिकूलतामा समेत हाम्रो नौ जना चिकित्सकसहितको अठार जनाको टोली असोज ९ गते काठमाडौंबाट सुर्खेतका लागि निस्कियोैं।
दशैंको बेलामा सुर्खेत सम्मको यात्रा कष्टदायी नै रह्यो। अझ थानकोटको जामले हाम्रो यात्राको अवधिलाई एक दिन लम्बाइदियो। १० गते सुर्खेत पुग्नासाथ ढिला नगरी दिउँसोको ३ बजे हामी मुगु जिल्लाको यात्राका लागि नौ नौ जना बाडिएर स्कोरपियो र बोलेरोमा चढ्योैं। त्यसपछि भने यात्राले रोमाञ्चक मोढ लियो। कर्णाली राजमार्ग आफैमा जोखिमयुक्त राजमार्ग हो भन्ने हामीले सुन्दै आएका थियौं, प्रत्यक्ष देख्दा भोग्दा आङ नै सिरिंग हुने अवस्था थियो। गुराँसे हुँदै खुड्कीज्यूला पुगेर त्यो दिनको बास बस्यौं। सायद, व्यग्र थकानले होला मिठो खाना खाएर हामी मिठो निद्रामा लाग्यौं।
एघार गते बिहानै उठेर तातो पानी खाएर उही रफ्तारमा हामी हुइकियौं कर्णालीको तिरैतिर। नेपथ्यमा नेपथ्य ब्यान्डको शा कर्णाली… गुञ्जिरहेथ्यो। बाटाेबाटोमा खोला झरनाहरु हाम्रै स्वागत गर्न तम्तयार बसिरहेका थिए।सम्भावनाको दुरीलाई मेट्दै मेट्दै हामी चियाको चुस्की लिन कालिकोटको सदरमुकाम मान्मा आइपुग्यौं। हुस्सु लागेर मान्मा बजार पुरै ढाकिनै आटेको थियो। मान्मा बजारबाट अगाडि बढ्दै गर्दा हाम्रो बोलेरो र विपरीत दिशाबाट आएको गाडी घुम्तीमा अचानक ठोकिन पुग्यो।
त्यो घटना सामान्य थियो। हामीलाई चोटपटक केही लागेन तर मान्मा बजार पुरै उर्लिएर आयो दुर्घटनाको लेखाजोखा गर्न। कर्णाली राजमार्गमा यो घटना सामान्य हो भन्दै थिए धैरै त्यहाँका बासिन्दाहरु। केही मेलमिलाप पछि हामी फेरि यात्रामा अघि बढि रह्यौं। त्यसपछि हाम्रो भेट नाग्मासँग भयो। नाग्मा पुगेर जुम्लाको सिमि र माछासित मिठो मानी मानी टन्न खाना खायौं। यो खानाको तारिफ पछिसम्म नै यादगार बन्न पुग्यो। नाग्मा पछि हामी जुम्ला जाने पिच बाटोलाई छाडेर मुगुतर्फ मोडियौं। सायद, अबको बाटो सबै कच्ची थियो र उत्तिकै अत्यासलाग्दो पनि। नदी किनारमा राजारानीका कुँदिएका मनै लोभ्याउने तस्विरहरुसँग अंकमाल गर्दै हामी फेरि उही रफ्तारमा अघि बढ्यौं। लाग्यो यो त्यही ठाउँ हो जहाँका कलाकारहरु नेपाली हृदयहरुलाई सत्य र सुन्दरको माधुर्य बुझेर लहराउन सिकाउँछन् र विशाल नेपाल स्पर्श गर्ने कला जन्माउँछन्।
गाडीभित्र मिठा मिठा गफहरु गुञ्जिदै गए। कोही आकाशमा उड्दै थिए कोही धर्तीलाई स्पर्श गर्दै। गाडी धेरै ठाउँमा फस्यो, तान्दै धकेल्दै र बेल्चाले माटो समेल्दै हामी अघि बढिरह्यौं। कर्णालीका दुःखहरु भोग्दै छिचोल्दै गुडिरह्यौं। लाग्यो दुनियाँ कर्णालीका हर दुःख र कमजोर उपर सदा प्रभावकारी बन्दै छ। शक्ति बढाउ भनेर हरेक क्षण कर्णाली आत्मशक्ति व्यय गरिरहेछ तर हरेक पटक कर्णाली दुःख पाइरहेछ। पानी पर्दा हिलो, अरुबेला धुलो यो राजमार्गको बेहाल देख्दा देख्दै खै प्रदेश र संघीय सरकार के हेरेर बसिरहेछ ? भ्रमण वर्ष २०२० को तयारी गर्ने सरकारले रारा पुग्ने बाटो मर्मतमा किन ध्यान नदिएको होला ? जसो तसो पानीमा भिज्दै हामी सिञ्जा हुँदै गुठीज्यूला आइपुगेर बास बस्यौं। हामी तय गरिएको मिति भन्दा निकै ढिला हुदै गइरहेका थियौं तर मानवसेवाको अठोटले प्राकृतिक असहजतालाई समेत जित्ने आँट राख्दै थियो।
१२ गते बिहानै हामी शिविर स्थलका लागि हिँड्यौं तर फेरि पनि बाटोमा आइलागेका अनेकौं असहजताले गर्दा गाडी ताल्चा भन्दा उता जान सकेन। हामी केही साथीहरु परिवेश बुझ्न ओरालो गोरेटो बाटो झर्यौं र राति अबेरसम्म भोलि हुने शिविरको स्थान अवलोकन एवं पर्यावरण बुझ्ने प्रयत्नमा लाग्यौं। तर उता अन्य साथीहरु ताल्चा हुँदै मुगुको सदरमुकाम गमगढी जाने बाटैमा फसेका हुनाले त्यो दिनको बास उतै गमगढीमा गर्नु पर्ने भएकाले रातारात कार्कीवडाबाट पानीमा भिज्दै हामी पनि गमगढीतिर लाग्यौं। त्यसदिन हामी सबै जना सदरमुकाममा भेला भएपनि औषधी ल्याईपुर्याउन सकेको अवस्था थिएन। सबैले त्यस दिनको दुःख सुख साट्दै हिले शरीरलाई आराम दिनका लागि ओछ्यानतर्फ लाग्यौं।
१३ गतेको दिन बिहानै भरियाहरुद्वारा ताल्चाबाट औषधी बोकाएर शिविर स्थलसम्म पुर्याएर औपचारिक कार्यक्रमसँगै बिरामी जाच्ने र निःशूल्क औषधी वितरण गर्ने कार्य सुचारु गर्यौं। यसरी बेलुकी ७ बजे सम्मको निरन्तर चेकजाँच पश्चात् विकट मुगु जिल्लामा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भयो। केएमसि पूर्व विद्यार्थी संघको आयोजनामा मिति २०७६ असोज १३ गते श्री नेपाल राष्ट्रिय आधारभूत मा. विद्यालय, छायानाथ रारा न.पा,वडा नं ५, कार्कीवाडा मुगुमा एक दिने निःशूल्क स्वास्थ्य शिविर सम्पन्न हुँदा हामी सबै खुशी थियौं।।
शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कान्ति बाल अस्पताल, पाटन अस्पतालमा कार्यरत अनुभवी तथा दक्ष चिकित्सकहरुद्वारा रोगीको परिक्षण सँगसँगै निःशूल्क औषधी वितरण कार्यक्रम समेत सम्पन्न भएको थियो। रगत, पिसाब, सुगर जाँचका साथै सबै बिरामीलाई उचित परामर्श समेत दिएका थियौं।
मौसमको प्रतिकूलतामा समेत काठमाडौंबाट चार दिन लगाएर, गाडी नपुग्ने उक्त आयोजना हुने स्थलमा भरियाद्वारा औषधी बोकाएर समेत हाम्रो संस्थाले बृहत् स्वास्थ्य शिविर गर्न सफल भएको हुँदा स्थानीय समेत खुशी थिए। र, उक्त स्वास्थ्य शिविरबाट जिल्ला अस्पतालको पहुँचमा नभएका छायानाथ नगरपालिकाका सम्पूर्ण बासिन्दाले स्वास्थ्य लाभ लिएका थिए।
केएमसी एजुकेसन नेटवर्क र छायानाथ रारा नगरपालिका वडा नं ५ को सहकार्यमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा करिब ६०० जना बिरामीले प्रत्यक्ष लाभ लिएको देख्दा र यस्तो विकट जिल्लामा निःशूल्क स्वास्थ्य शिविर गर्दै अशक्त, बालवृद्ध, विपन्न, पहुँच नभएकाहरुको हकहितमा कार्य गर्न पाउँदा संस्थाको अध्यक्ष र अभिभावक भएको नाताले मलाई धेरै नै खुशी लागेको थियो । उक्त शिविरमा एक सय बिरामी बालरोग, एक सय बिरामी नसा तथा हाडजोर्नी समबन्धि रोग, एक सय बिरामी महिला तथा स्त्री रोग र अरु रोगका बिरामीहरु जेनरल रहेका थिए। निःशूल्क शिविरहरुको आयोजनाले गरीब जनताहरुको स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सक्ने हुँदा भविष्यका दिनमा समेत समाजलाई टेवा पुग्ने अनुकरणीय कार्यमा सधै अग्रसर रहने वाचा समेत मैले तिनै मुगुका जनताका सामु गरेको थिएँ।
समयको बोलावट, स्थानको आह्वान र आत्माको आमन्त्रण थियो सायद। हामी आफ्नो जीवन नै जोखिममा राखेर यति लामो यात्रा तय गरेर निःशूल्क शिविर गर्न आइपुगेका थियौं। जति नै कठिनताको उकालो भएता पनि हामीमाथि सयपत्री फूलको माला र अबिर लगाएर गरिएको स्वागत र सम्मान, च्याङ्ग्राको मासुसँग मार्सी चामलको भातसहितको भोजन र त्यो आत्मयीयता र कृतज्ञता अमूल्य थियो।
कति टाढा टाढाबाट स्वास्थ्य उपचार गर्न आएका ती मनहरुलाई म कसरी शब्दमा व्यक्त गरू ? सायद, चरम् गरीबी र असहिष्णु सरकारकाबीच जीवनको मूल्य सिकाउने ती हँसिला र सहयोगी चेहेराहरुलाई जे जे छ आफूसँग सर्वस्वै दिन मन लागेको थियो। स्वर्गका झिल्काहरु टिप्ने सुन्दर तर मौन ती चेतनाहरुलाई नेता भनाउँदाहरुले हरेक प्रहर पासोमा पारी निकम्मा बनाउँदै गइरहेका छन्।
घनिष्ठ प्रभावका साथ अन्तष्करणमा नघुसी त्यहाँ सुधार हुँदैनन्थ्याे। तर, जीवनको अग्रिम रेखासम्म भेट्टाउन पनि ताल्चा विमानस्थलबाट सिधै उड्नु पर्ने बाध्यताकाबीच कोदो, फापर, ढिंडो र सिस्नोको रससँग बाँचिरहेछ मुगु।पहाडपारीका दुनियाँका अनेकौं चमत्कारले सपनामा ऐठन परे पनि आखिर धूलोमा अक्षर नटिक्ने रहेछ, मैनबत्तीले भूगोल नदेखिने रहेछ, रारा हेरेरै मात्र भोक मेट्दो रहेनछ । पहाडका कथा, सभ्यता र कठिनाईका कथा सारङ्गीले गाएर मात्र के गर्नु सुन्नेले नसुने पछि? राराले पर्यटकको इशारामा रङ मात्र बदल्छ तर मुगुले विकासको रङ अझै बदल्न सकेको छैन।
यो भौगोलिक कमजोरी मात्र होइन मुगु राज्यको आँखा उपर सौताने बन्धनमा छ। यी ठाँउहरुमा मानिसहरु कसरी आए होलान्, कसरी बाँच्दा हुन्, तुषाराले कठांग्रिने र धुलो हिलोमा लट्पटिने जीवनहरु कसरी फुल्दा हुन्, भविष्यको सम्भावना एउटा उपन्यासको कथा जस्तै। गरीबीको पासोमा परी धर्म परिवर्तन र विदेशी दातृ संस्थाको शिकार भएर मुगु जिउँदो लास र चलनको दास भएर बाँचिरहेछ। मार्फाको ह्यांगमा मुगुलाई अन्यायमा पार्ने छुट कदापि राज्यलाई छैन।
तैपनि आत्मसमर्पणको विशाल प्रेम र भक्तिमा बाँचेका छन् त्यहाँका मनुष्यजातीहरु। सयाद, सच्चाईको आनन्द नेपालले यहीँबाट सिकेको होस्। अतिथि देवो भवःमा मोहनी तवरले हाँस्ने, नाच्ने, गाउने ती अंग प्रत्यंगहरु।गुलाफी रङमा फुलेका गालाहरु। मैलाको वास्तै नगरि खेतिपातीमा व्यस्त शैलीहरु। सनातन रीतिथितिमा अडिएका विश्वास,श्रद्धां र भक्तिभावहरु।ढिकी,जाँतो,बिस्कुन र भकारोहरु।खरका छानाहरु,रातो माटोले पोतिएका भुईंहरु, हरेक घरमुनि गोठहरु, भिराला खेतहरु, जंगलहरु। मुगुले आफ्नो परिवेशको माया जाल त्यहाँ पुग्ने हरेकलाई बिछ्याउँछ।
बिस्तारै बिस्तारै मुगुको निकटतालाई अझ प्राकृतिक तवरले आत्मसाथ गर्न हामी रारा ताल पुग्यौं। आर्मी क्यामहरु छिचोल्दै, लालीगुराँसका जुसहरु पिउँदै, बाटोमा भेटिएका स्याउका बोटहरुबाट स्याउ टिप्दै असोज चौध गते बेलुकी हाम्रो बास रारा तालको किनारमा अवस्थित होटलमा पुगेर भयो। १०.८ वर्ग कि. मि क्षेत्रफल, ५ कि.मि औसत लम्बाई, ३कि.मि औसत चौडाई र १६७ मि गहिराई रहेको रारा ताल २९९० मि उचाईमा अवस्थित छ। यति विशाल प्रकृतिको अनुपम वरदानलाई आफ्नै आँखा अगाडि आत्मसात् गर्न पाउँदा हामी मन्त्रमुग्ध भएका थियौं।
तोते बोलीमा ब्यूँझँदै अघि बढ्दै लहरहरुमा किनारलाई स्पर्श गर्दै, अनेकौं रङहरुमा मोहनी लाउँदै एउटा शिशु जस्तै मुगुको काखमा चल्मलाउँदै रारा प्रेमको भाव बोकिरहेथ्यो। हामी ईशारामा नै लठ्ठ थियौं। साँझ परेपछिको दोहोरी र पन्ध्र गते बिहानै उठेपछि रारा तालमा गरिएको डुंगा सयर पनि अति नै स्मरणीय रहे। टुना, मन्त्र र मोहनी जगाउने राराको अद्भूत कलाले समेत हामीलाई रोक्न सकेन। किनकि दशैं घर दैलोमा आइसकेको थियो। सबैलाई मान्यजनको हातको टीका लगाउन घर घर पुग्नै पर्ने बाध्यता थियो फेरि आउदाको बाटो देखेर जादाको अवस्था आकलन गर्न सकिन्थ्यो किनकि पानी पर्न अझै रोकिएको थिएन।
स्वर्गको टुक्रा रारालाई आँखाका नानीहरुमा कैद गर्दै फेरि आउने बाचाका साथ हामी किनारै किनार हुँदै ताल्चा ओर्लियौं र गाडीको यात्रामा अघि बढ्यौं। आउँदा सिन्जाको बैरागी डाँडामा अत्यन्तै दुःख पायौं। रातको बाह्र बजे भोको पेटमा हिलो सम्याउन र गाडी धकेल्न लागी पर्यौं। जसो तसो हामी चार बजे बिहान नाग्मा आइपुग्यौं र खाना खाइसकेर एकछिन आराम गरेर फेरि कर्णाली राजमार्गमा हुँइकिन थाल्यौं। रातको १२ बजे सुर्खेत आइपुग्यौं र भोलिपल्ट सोह्र गते दिउँसो सुर्खेतको बुलबुले ताल, काक्रेबिहार र देउती बजै मन्दिरको भ्रमणसँगै हामी बेलुकी पाचँ बजेको गाडीमा काठमाडौेंतिर लाग्यौं।
यसरी असोज ९ गते थालिएको यात्रा १८ औं दिनमा गएर टुंगिदा हामीले दश दिन बितायौं। सादा जीवन र उच्च विचारको आदर्शमा बाच्न प्रेरित गर्ने हेतुले सामाजिक उत्तरदायित्वका साथ निःशूल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरियो। कामना छ, मुगुका अभावहरु मेटिउन्,स्वर्ग जाने बाटोझैं रारा (मुगु जिल्ला) जाने बाटोहरु सिंगारिउन्, मुगुको सभ्यतालाई जोगाई राख्न सबै जनताहरु स्वस्थ रहून् र निरोगी बनून्। शुभकामना !
–डा.अच्युत शाली घिमिरे, शिक्षण अस्पताल



लाेकपाटी न्यूज

