– प्रा.डा.रामप्रसाद दाहाल (शिक्षाविद्)
जङ्गे पिलरलाई फालेजस्तै पुराना संस्कार र संस्कृति एकैचोटि फाल्न सकिन्न। भूगोलभित्रको जङ्गे पिलरजस्तो संस्कृति होइन। तर, राष्ट्रिय चिन्तनभित्रका पृष्ठभूमिहरू बडो महत्वपूर्ण हुन्छन्।
त्यो पृष्ठभूमिबाट संस्कृतिलाई हेरिनुपर्छ। हामीले जनमुखी र वैज्ञानिक संस्कृति आफैँले निर्माण गर्नैपर्छ। यसका लागि शिक्षा, स्वास्थ्य, वातावरण र उद्योगलाई यसमा जोड्नुपर्छ। श्रमलाई सम्मान गर्ने प्रवृत्ति हुनुपर्छ। यसको हामीले नै विकास गर्नुपर्छ। श्रमलाई प्रगतिशील राष्ट्रवादमा ढाल्नुपर्छ।
हामीले हिन्दू संस्कृतिलगायत अन्यको पनि हेर्दा यहाँ जस्केलो संस्कृति रहेको देखिन्छ। अगाडिबाट जान गाह्रो भएपछि जस्केलोबाट गएर छोरीबुहारीले भित्रको काम गर्छन् नि, त्यस्तै बाहिरबाहिर नयाँ संस्कृति मानेजस्तो गर्ने तर भित्रभित्रै पुरानै संस्कृति बोकिराख्ने। यस्तो जस्केलो संस्कृति छ। त्यसलाई तोड्नुपर्छ। समय लाग्ला। तर यो तोडिन्छ।
यहाँ लिने संस्कृति आएको छ। अहिले मान्छे मर्दा १३ दिन किरिया बस्ने चलन छ। अझै यस्ता खालका कुसंस्कार हामीभित्र छन्। त्यस्ता कुरा समाप्त पार्न सबैले यसको सुरुआत गरौँ। जस्केलो संस्कृति बन्द गर्नेतिर लागौँ।
श्रमलाई सम्मान गर्ने संस्कृति नै ल्याउनुपर्छ। सोच्ने तरिकालाई बुँदागत रूपले पहिल्याएर अगाडि बढाऔँ। तीज टुँडिखेलमा मनाउन थालिसके। यो डेढ महिना हुँदै डेढ वर्षसम्म मनाउनुपर्छ भन्न थालिसके। यो प्रवृत्ति घटाउनुपर्छ। लिने संस्कृतिभन्दा दिने संस्कृति उजागर गर्न सकौँ।



लाेकपाटी न्यूज

