–रमेश भट्टराई ‘सहृदयी’
सभ्यताको एकता
“दशैँ आयो खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, धत्त पापी छुट्टै बसाैंला” बच्चाका तोते लवज गुञ्जिँदाको मजा बेग्लै लाग्छ। धर्तीको फोहोरलाई पखालेपछि आकाशले बादललाई बिदाइ गरिदिन्छ। वनको हरियालीमा भमराले गीत गुनगुनाउन थाल्छन्। एकातिर प्रकृतिको उल्लास, अर्कातिर वर्षौँका वेदना भुलेर रमाउने नेपाली मनको गन्तव्य। मीठो सम्मिश्रण छ यसमा।
चण्डी पाठ, रुद्री पाठ, जप, पूजामा मन्त्र ध्वनिको सुरम्य आवाज र रौनक छरपस्ट फिँजिन्छ। देशले समावेशी बगैँचामा रम्न सिक्दै गर्दा पर्व, संस्कृतिमा एकताको सद्भाव फक्रिरहेका दृश्य साँच्चै नेपाल आमाको मुस्कानका पल बन्छन् । सबैले सबैको सम्मानमा बाँच्ने सहिष्णुतासँग हिन्दू, बौद्ध वा अन्य धर्मावलम्बी पनि रमिरहेका दृश्यमा कति आनन्द वर्षा भाव छ। नेपालीपना गुञ्जायमान हुन्छ।
बगैँचा अनि फूलबारीमा फक्रँदो फूलको यौवन त्यसै पोखिन्छ– प्रकृतिको काखमा। धरणी स्निग्ध देखिन्छ। शारदीय रातका तारा र जूनले आफ्नो राज्यको बाधा फुकुवा भएको महसुस गर्दा हुन्। वर्षा ऋतुले गड्याङगुडुङ गर्न छोडेकाले सूर्यको किरण निडर बिहानीमा लामा पाइला हालेर जमरा कानमा सिउरिएको देख्न अतालिएभैmँ लाग्छ– दशैँको परिवेशमा।
वर्षौँसम्म फोन र च्याटमा बोलेर मन बुझाउनु परेका स्वदेशी र विदेशी परदेशी भएका छोराछोरी, आमाबाबा, दिदीबहिनी या अन्य आफन्तसँगको भेट हुने आशाले साकार रूप लिन्छ। पर्खाइको एउटा सुखान्त संसार त्यहाँ साह्रै आशावादी हुन्छ। अफिस, स्कूल, कलेजको लामो तानाबाना एकछिन बिसाएर पारिवारिक एकतामा रमाउने सुअवसर दिन्छ–यो पर्वले।
लामो शत्रुता, मनमुटावलाई समेत क्षमा र पश्चातापमा बदलेर अलिकति मानवतालाई जीवन्त पार्दो रहेछ। बाल हृदय त झनै पुलकित बन्दा रहेछन्। गाउँ–डाँडासँग रमाउनेहरू दौँतरीसँग नयाँ कपडामा सजिएर तुलना गर्न रुचाउँछन्। पिङ खेल्ने, चङ्गा उडाउने, गरीबका चुलोमा पनि मिठो मसिनो पाक्ने हुनाले दशैँ चाड स्तर, परिवेशअनुसार मूल्यवान् बन्दो रहेछ। त्यसैले त कवि शिरोमणि ऋतु विचारमा पोखिन्छन्–
‘हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
भवानीको भयो पूजा चल्यो साऽऽनन्दको चर्चा।’
हिन्दू परम्पराअनुसार परापूर्व कालमा शुम्भ, निशुम्भ, रक्तबीज, महिषासुरजस्ता दैत्यहरूको ज्यादतिले मानिस र देवताहरूमा ठूलो कष्ट पर्यो। सङ्कट समाधान गर्नका लागि ऋषि, देवगणहरूले प्रार्थना गरेपछि दुर्गादेवीले राक्षसी शक्तिलाई बध गरिदिइन्। सत्यले पुनर्बहाली पाएपछिको विजय उत्सवको रूपमा दशैँमा दुर्गादेवीको पूजा आराधना गर्ने गरिन्छ।
त्यस्तै त्रेतायुगमा रामचन्द्र भगवानले आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापना पश्चात् शक्तिस्वरूपीणी दुर्गादेवीको आराधना गरी उनैको कृपाले दशमीका दिन रावणको बध गरेका थिए। यही विजय उत्सवको स्मरणमा अर्थात् सत्यले विजय प्राप्त गरेको सुअवसरको दिनलाई स्मरण गर्दै दशैं मनाउन थालिएको पाइन्छ। चैतमा चैते दशैं मनाइने गरेको भए पनि मूलतः आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्मको अवधि नै हिन्दूहरूको महान् चाड बडादशैं पर्व हो । दशैँ पर्वको आफ्नै विशेषता र महिमा रहेको पाइन्छ।
घटस्थापना (प्रतिपदा) का दिनदेखि जमरा राखेर देवीका नौ रूपको पूजा अर्चना तथा घरघरमा स्तोत्र पाठ गर्दै दशैँको सुरुवात गरिन्छ । घटस्थापनापछि षष्ठीसम्म देवीको पूजा अर्चना गरिने भए पनि सप्तमीको दिनदेखि विशेष दशैँको तामधाम चल्छ।
‘सप्तमी’ (फूलपाती) का दिन बेलपत्र, धानका गाभा, अनार, अदुवा, ऊखु, केरा आदि पल्लवहरूलाई भित्र्याउने कार्यलाई फूलपाती भित्र्याएको भनिन्छ। यस दिन विशेष गरेर महासरस्वतीको पूजाका क्रममा कापी, कलम, पुस्तकको पूजा गर्ने गरिन्छ । काठमाडौँ उपत्यकामा हरेक वर्ष यसै दिनमा बढाईँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने परम्परा छ।
आठौँ दिन अर्थात् ‘महाअष्टमी’ (नवरात्रि) मा विशेष गरेर महाकाली (भद्रकाली) को पूजा अर्चना गरिन्छ। मनुस्मृतिमा बताएअनुसार महाअष्टमी र महानवमीको बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ। किसानहरुले यसैदिन खेतीमा प्रयोग गर्ने हातहतियारको पूजा गर्ने गर्छन् र दशमीमा विसर्जन गर्छन्।
‘महानवमी’ नवरात्रिको नवौँ दिन हो। यस दिन विश्वकर्माको पूजा गर्ने हुँदा हातहतियार प्रयोग गरी बली दिने चलन छ। बलीको अर्थ आपूmभित्र रहेका नकारात्मक विचार वा खराब सोचलाई अन्त्य गर्नु हो। दुर्भावनालाई नवदुर्गाको चरणमा अर्पेर सद्बुद्धि माग्दै घिरौँला या केराको कोसोलाई पशुको प्रतिक बनाई पशुत्व भावलाई बली दिने गरिन्छ।
आश्विन महिनाको शुक्लपक्ष श्रवण नक्षत्रले युक्त नवरात्रिको दशौँ दिन दशमीलाई ‘विजयादशमी’ भनिन्छ। यसदिन दुर्गादेवीलाई विधिविधानसहित पूजा अर्चना, आरती, पुष्पाञ्जली गरेर विसर्जन गरे पश्चात् उनैको प्रसाद स्वरूप जमरा र टीका वितरण तथा ग्रहण गर्ने गरिन्छ । मान्यजन, ठूलाबडाद्वारा आपूmभन्दा सानालाई आशीर्वचन दिइन्छ ।
आयुद्रोण सुते श्रीयम् दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यम् नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
द्रोणका छोरा अश्वत्थामाको जस्तो आयु (चिरञ्जीवी) होस्, राजा दशरथको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रुहरू नास होऊन्, नहुष राजाको जस्तो ऐश्वर्य बढोस्, गति हावाको जस्तो होस्, दुर्योधनको जस्तो मान होस्, सूर्यपुत्र कर्णजस्तै दानी बनेस्, बलरामको जस्तो बल होस्, कुन्तीपुत्र युधिष्ठिरजस्तै सत्यवादी बनेस्, विदुरको जस्तो ज्ञानको निपुणता होस् र नारायण भगवानको जस्तै कीर्ति बढोस् भन्ने हुन्छ।
नारीहरूलाई टीका लगाइदिँदा विशेष गरेर “जयन्ती मङ्गला काली, भद्रकाली कपालीनी। दुर्गा, क्षमा, शिवा धात्री स्वाहा, स्वधा नमोस्तुते” जस्ता मन्त्र लगायत देवीका स्तुति गानले अझै सम्मान गरेको बुझ्न पाइन्छ ।
यथार्थता के छ ?
‘सत्वमेव जयते’ को भाव सदैव अमर भएको भावमा हामी जिउन चाहन्छौं। अज्ञानतालाई नास गरेर तत्वज्ञान प्राप्त गर्नु नै जीवनको सफलता हो। ज्ञानले मोक्ष प्राप्त हुन्छ। ज्ञानको प्राप्तिका लागि अनि अज्ञानरूपी अन्धकार नासेर ज्ञानगङ्गामा डुबुल्की मार्नुलाई जीवनको जित हो–श्री भगवती गीतामा उल्लेख छ।
रावणलाई होइन रावणको अन्धकार, काम, क्रोधरूपी नकारात्मतालाई रामले मारेका हुन्–रामगीताको सार छ। रावणका दशवटा टाउकाको अर्थ रावणको दशै इन्द्रीयको बसमा लिप्त थियो । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य नै मानिसका शत्रु हुन् ।
यी शत्रुलाई मार्नु अर्थात् बली दिनु नै जीवनको सार्थकता हो। हामी देवीदेवताका नाममा पशुको हिंसा गर्छौँ। तर, आफूभित्रका विकारलाई हटाउँदैनौं। वास्तवमा दशैँले भाइचारा सिकाएको छ, आदर्शको पूजा गरेको हुन्छ, स्वस्थ, स्वच्छ प्रकृति निर्माणको संस्कार विकास गरेको छ, सामाजिक एकता र सह–अस्तित्वलाई जोगाउँदै मानवीय सम्बन्धको आनन्दमा बाँच्न सिकाएर शान्ति प्रदान गरेको छ। तसर्थ, यो सामाजिक एकता र आदर्श आचरणको ठूलो ज्ञान भण्डार हो।
साङ्लामा बाँधिएको कुकुरले फुत्कन पाउँदा जथाभावी टोकेझैं जुवातास, मद्यपान, धुम्रपानमा लाग्नु सही आचरण होइन। युवाशक्तिले त अझै त्यस्ता सामाजिक असङ्गति हटाउने भूमिका निर्वाह गर्न सक्नुपर्छ। चङ्गा उडाउँदै जाँदा छतबाट खसेर मरेका घटना कति हृदयविदारक होलान्। विकृत पक्षमा रम्ने विद्यार्थीका किताबका पानाहरूमा माकुराले जालो लगाउँछ।
झगडालाई आगोमा घिउ थप्ने जोसभन्दा मित्रतालाई परिवारमा, समाजमा बाँढ्ने मानिसको होसले दशैँलाई दशा होइन, बाबाआमाको आशा बन्न सक्नुपर्छ–नवपुस्ताहरू। घाँटी हेरेर हाड निल्ने वातावरणमा दशैँलाई उत्सव बनाउनु सबैको दायित्व हो। “आयो दशैँ रमाइ रमाइ, गयो दशैँ कान समाइ” बन्ने आडम्बरी देखासिकी छोडेर सचेतना जागरणमा गर्नु उत्तिकै आवश्यक छ।
स्वतन्त्र समयलाई नयाँ पुस्तक पढेर आफ्नो ज्ञान भण्डार अभिवृद्धि गर्ने तथा सामाजिकीकरणको अवसर मिलाउँछ, दशैँ पर्वले। फुर्सदको समयले विद्यार्थीलाई समाज र परिवारसँग सद्भाव बढाउन टेवा दिन्छ। मानिस सप्रन वर्षौँ लाग्छ तर बिग्रनु परे एक क्षण नै पर्याप्त बन्छ।
बसुधैव कुटुम्बकम्को भावनाले मौलाउने अवसर पाउँछ–दशैँमा। चोरी डकैतीजस्ता सामाजिक अपराध निरुत्साहित पार्ने सद्कार्यमा असल नागरिकको ठूलो हात बन्न सक्छ। अतः यातायातको भाडामा चलेको मनलागीतन्त्र, व्यापारमा आकाशिदो महङ्गी र कालोबजारीलाई खबरदारी गर्न एकता नै शक्तिशाली मन्त्र बन्छ ।
समयको मूल्य
सद्भावको सङ्गम, सामाजिक एकता र समृद्धि अनि शुभकामनाका गुच्छाले सजिएका भाव लहरी जाग्छन्। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म धनीका घरमा मात्रै हर्ष उल्लास आउने नभएर गोरु नारेर धुलो हिलोमा खेल्ने श्रमजीवी गरीबको चुलोमा पनि पक्वान्नले छोटो समयका लागि डेरा जमाउँछ।
युवाको जमघटसँगै गाउँ टोलका चोक चौतारो, धारो, बाटो–घाटो बेहुलीझैं सिँगारिँदा झनै राम्रो लाग्दो रहेछ। आमाको ममताले आफ्ना सन्तानको निकटता चाहँदा सन्तानले साथ दिँदा रहेछन्। खुसीमा रम्न जान्नुपर्छ जसरी एक असल किसानले खेतीलाई बिर्सेको हुँदैन । विद्यार्थी असल हो भने पिङको मच्चाइसँग एकछिन उसले आफ्नो नित्य कर्म पढाइको तालिकालाई छुटाउँदैन। समाजका विकृति सुधार्ने सल्लाह दिने विद्यार्थीहरूलाई उच्च सम्मान गर्न समाज विवश बन्छ ।
एकछिन परिवारमा सुख दुःख साट्न नजाने समाजको आँखामा कुवाको भ्यागुतो हुन्छ, मान्छे। आँगन र घरको भित्तो पोतेर होस् या अन्य रचनात्मक, सृजनात्मक कार्यले मानिस समयलाई फुर्मासी गर्न चाहँदैन। नेपालका राष्ट्रिय चाडमध्ये दशैँ सामाजिक तथा पारिवारिक पुनर्मिलनको आधारशीला हो। जमरा कानमा सिउरेर निधारभरि रातो टीका लगाएको परिवारको सामुहिक तस्विरले फेसबुकका पाना सजिन्छन्।
अतः ऋणको बोझ बोक्ने चाड होइन दशैँ, समस्याको भारी होइन यो पर्व। यो त सहिष्णुता र मेलमिलापको पर्व हो। हरेक सिकारुले भाइचारा र सामाजिक सहचार्य सिक्ने अवसर पाउँछन्, यहाँबाट। आडम्बर, विकृति तथा पाखण्डीपन छोडेमा मात्र दशैँ पर्वको मूल्य बढ्दै जाने कुरामा विमति नहोला सायद। देशभित्र र बाहिर जताततै दशैँकै चहलपहल छ। बजारतिर किनमेलको भिड, गाउँतिर जमघट छ। ठूलालाई आदर गर्ने, मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने अनि सानालाई माया र आशीर्वादका वासन्ती पवनको सुगन्धमानेपाली सहिष्णुता र आदर्शले झनै फूल्न पाउँछ।
बहुसङ्ख्यक नेपालीका मनमा, घर चोकमा जमघट बढ्दै जाँदाको मजा छुट्टै हुँदो रहेछ। समावेशी समाजको रङ्ग संयोजनमा आजभोलि दशैँ पर्वको रौनक बढ्दै गएको झनै रमाइलो लाग्छ। बुझे दशैँ पर्वले विद्यार्थीको ज्ञान भण्डारमा सुनौलो बिहानी ल्याउँछ। तर, लहैलहै र बहकाउमा फसे दुव्र्यसनको सिकार बनाउँछ। परिवारसँग नयाँ ठाउँ घुम्न, अवलोकन गर्न खाली समय फलदायी बन्दो रहेछ। प्रकृतिले, संस्कृतिले सिकाएको सकारात्मक सन्देशलाई मनन गर्न सक्दा साँच्चै दशैँ पर्व एकता र आदर्श ज्ञानको भण्डार रहेछ।
bhattarairamesh353



लाेकपाटी न्यूज

