नवरात्रिको सातौं दिन आज फूलपाती, कसरी भित्र्याइन्छ फूलपाती ?

लाेकपाटी न्यूज

काठमाडौं। आज नवरात्रिको सातौं दिन अर्थात् सप्तमी। यो दिन पूजा कोठा वा दशैं घरमा फूलपाती भित्र्याउने चलन छ। यस दिन कालरात्रि भगवतीको पूजा गरिन्छ। कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकारा पाउनका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने मान्यता छ।

कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाको लागि यदि सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा बताइएको छ। सप्तमीको दिन तुलजा भवानीको यात्रा बिहान ८ः५२ मिनेटमा र स्थिराशन बिहान १०ः०५ मिनेटमा निर्धारण गरिएको छ ।

नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दशैं घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ। वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू घरमा नरहने विश्वास छ।

यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पुजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आह्वान गरेर सोह्र सामग्रीले पुजिन्छ।

अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ।

किसानहरूले यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्। साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई परेड र बढाइँका साथ हनुमानढोका दरबारमा भित्र्याइन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्