दिपायल, ८ असोज। दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले मासु नपकाइदिएको भन्दै श्रीमतिको हत्या गरे। गत असार २ गते श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन्।
मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैची प्रहार गरी श्रीमतीको हत्या गरेका थिए। हत्यापछि अहिले कृष्ण जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन्। हत्या अभियोगमा कारागार चलान भएपछि अहिले कृष्णका चार छोराछोरी बिचल्लीमा परेका छन्। कृष्णकी आमा पार्वतीलाई अहिले आफ्ना नातिनातिनीहरुको साँझ बिहानको भोक मार्ने चिन्ताले गाँजेको छ।
कृष्णका छोराछोरीको गत असारदेखि पढाइ पनि अलपत्र परेको छ। स्थानीयवासी भरत द्वारियाका अनुसार पार्वतीलाई बाथरोगले ग्रसित बनाएको छ। पावर्तीको घरमा खानलाई अन्नको दाना पनि छैन। काम गरी कमाएर कलिला नातिनातिनालाई पाल्न सक्ने ताकत उनमा छैन।
रक्सीले मातेका बुवाले आखै अगाडि आमाको बिभत्स हत्या गरेको देखेका कृष्णका छोरा छोरी अहिले कसैसँग बोल्न समेत डराउछन्। आमाको हत्यापछि बिचल्लीमा परेका उनीहरुको पढाईको जिम्मा दिपायल नगर प्रमूख मञ्जु मलासीले लिने प्रतिबद्धता गरेको पार्वतीले बताइन्।
उनले भनिन् ‘नातिनातिनालाई पढाउँछु त भन्नुभएको हो, तर पछि आउनुभएन के पो भयो ।’ तत्कालको समयमा नगरपालिका र वडा कार्यालयले किरिया खर्चबापत भनेर पार्वतीका परिवारलाई रु ३५ हजार राहत दिएको थियो।



लाेकपाटी न्यूज