राष्ट्रपतिज्यू, ‘सत्य बोल्ने तपाईको हिम्मतलाई सलाम छ’

उहाँको पक्षधरता नेकपा नै हो । कम्युनिष्टका हरेक कणकणका जवाफदेहिता उहासँग छ, रहनेछ र हुनुपर्छ सधैं आदिइत्यादि । तर, जे भनौं उहाँ कम्युनिष्ट हो । उहाँको पार्टी सरकारमा छ र उहाँ सरकारवादी हो । तर, यो भन्दा धेरै त यो हो कि, उहाँ यो देशको संरक्षक हो, सरकारको अभिभावक हो, सम्मानित राष्ट्रपति हो। कुरो यति मात्रै कहाँ हो र उहाँ उक्त कार्यक्रममा त जवाफ दिने ठाउँमा पनि त हुनुहुन्थ्यो ।
लाेकपाटी न्यूज

– ओमकुमारी पौडेल, नेतृ, नेकपा

त्याग र निष्ठाका पर्याय नेपालका आदरणीय व्यक्तित्व प्रजातान्त्रिक आन्दोलनका सेनानी अथक योद्धा दिवङ्गत गणेशमान सिंहको स्मृतिमा आयोजित कार्यक्रममा महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीज्यू हरेक वर्षझैं यस वर्ष पनि सरिक हुनुभयो। देशकै प्रमूख व्यक्तित्व हुनुभएका कारण कार्यक्रमको अन्त्यसम्म बस्नुभयो। सबैका कुरा सुन्न बुझ्न कोशिस गर्नुभयो । सबैभन्दा पछाडि बोल्नुभयो। र, कार्यक्रम समापन भइसके पछाडि प्रस्थान गर्नुभयो।

कार्यक्रममा व्यवस्थापन पक्षको कमजोरीका कारण मञ्चको आवाज माससम्म पुग्ने तर सोही मन्चका अतिथि दिर्घामा नपुग्ने अर्थात् नसुनिने रहेछ। महामहिम राष्ट्रपति ज्यू भन्दा अगाडि सम्बोधन गर्नु हुने कसैले पनि यो कुरा गर्नु भएन । व्यवस्थापकीय कमजोरीका बारे थाहा पाउनु भएन कि उठाउन जरुरी ठान्नु भएन, यो उहाँहरुको विषय हो।

तर, महामहिमज्यूले यो कुरा उठाउनु भयो, उठाउन जरुरी ठान्नु भयो। ‘वक्ताहरुले के बोल्नु भयो मञ्चमा सुन्न सकिएन आवाज आएन हामीलाई पनि सुन्ने व्यवस्था मिलाउनु पर्दथ्यो। कार्यक्रममा व्यवस्थापकीय त्रुटि भयो। तर पनि सबैले ताली लगाउनु भएको छ, दर्शक दिर्घामा सबैको अनुहार हँसिलो छ, सबैको मन छोएको छ। सायद, राम्रो बोल्नु भयो। मिडियामा सुन्न पाइएला। तर अहिले त सुन्न सकिएन।’ महामहिमज्यूले कार्यक्रम आयोजकलाई यसरी सुझाव समेत दिनुभयो ।

यो उहाँले किन भन्नुभयो होला ? के सरोकार थियो उहाँलाई यो भनिरहन ? अझ भनौं पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति प्रतिनिधि सभाका मा. शेर बहादुर देउवाको जिब्रोमा समस्या छ। प्रजातान्त्रिक आन्दोलनका क्रममा शासकहरुले उहाँ माथि निर्मम दमन गरे, आवाज दबाउन खोजे, हर यातना दिए, जिब्रो काटी दिए र हाल उहाँको आवाज तपाईं हामी सरह स्पष्ट आउँदैन । बुझ्नमा केही कठिनाइ हुन्छ । यो कुरा महामहिमज्यूलाई थाहा थिएन त्यसकारण उहाँले भद्दा मजाक गर्नुभयो, खिल्ली उडाउनु भयो र तपाईंले बोलेको बुझिन भनिदिनु भयो ।

साँच्चिकै यही हो कि के होला त वास्तविकता ? साराका सारा मिडियामा, सामाजिक सञ्जालमा बग्रेल्ती समाचार आए, उधुम मच्चिए महामहिममाथि। सके जति गाली गलौजका वर्षा भए। यसरी अपमान गरियो मानौं, यो परिवर्तनमा उहाँको कुनै भूमिका छैन । उहाँको आफ्नो कुनै इतिहास छैन । उहाँ खास केही होइन । त्यस्तो पो गरियो अहो ! खास कुरा के हो त ? के साँच्चिकै महामहिमज्यूले कार्यक्रमको गरीमालाई त्यसरी नै लत्याउनु भएकै होला त ?

उहाँले किन एक आदरणीय नेता पूर्व प्रधानमन्त्री, प्रजातान्त्रिक आन्दोलनका योद्धा, प्रतिनिधि सभाका मा. शेर बहादुर देउवाज्यूको त्यसरी अपमान गर्नुभयो ? सङ्गिनको तीखो चुचोले छेदन भएको आदरणीय नेता शेर बहादुर देउवाज्यूको आवाजलाई उहाँले किन त्यस्तो खिसिट्युरी गर्नुभयो अर्थात् मा. शेर बहादुर देउवाज्यूलाई महामहिमज्यूले किन बुझ्न सक्नु भएन होला ? आदिइत्यादि कुराले मेरा मनमा आज केही नलेखी सुखै नहुने ज्वाला बल्यो । आखिर के भएको होला ? यो सब के भइरहेको छ र हुँदै छ मुलुकमा ?

महामहिमज्यू उक्त कार्यक्रमको प्रमूख अतिथि हुनुहुन्थ्यो । उहाँ नेकपाको नेता पनि हो । उहाँको हरेक नशा–नशामा नेकपाको रगत बगेको छ यही नेकपा बनाउन लागि पर्दा उहाँको घर तहसनहस भयो । जीवन अपुरो, अधुरो भयो जिवनका सारा रहरहरु यतिकै तुहिए । तथापि, आज उहाँ नेकपाकै कारण यो गरिमामय स्थानमा हुनुहुन्छ ।

उहाँको पक्षधरता नेकपा नै हो । कम्युनिष्टका हरेक कणकणका जवाफदेहिता उहासँग छ, रहनेछ र हुनुपर्छ सधैं आदिइत्यादि । तर, जे भनौं उहाँ कम्युनिष्ट हो । उहाँको पार्टी सरकारमा छ र उहाँ सरकारवादी हो । तर, यो भन्दा धेरै त यो हो कि, उहाँ यो देशको संरक्षक हो, सरकारको अभिभावक हो, सम्मानित राष्ट्रपति हो। कुरो यति मात्रै कहाँ हो र उहाँ उक्त कार्यक्रममा त जवाफ दिने ठाउँमा पनि त हुनुहुन्थ्यो ।

राज्यका काम कारवाही गतिविधि प्रगति अधोगति सबैको जवाफ उहाँले सधैं दिनुपर्दछ । र, त्यस दिन त झन् दिनै पर्दथ्यो किनकि उहाँ सरकारको जवाफदेहिता लिएको व्यक्तित्व हो । त्यसदिन त उहाँ कार्यक्रमको प्रमूख पनि हुनुहुन्थ्यो । त्यसो त हामी हजारौं पटक भन्न र स्विकार्न सक्छौं, उहाँ सत्तापक्षीय नेता जरुर हो । यी कुरा हामी आम मानिसले बुझेकै छाै‌ं। र सवैले बुझ्नुपर्छ कि, उहाँलाई हजारौं पटक पखाले पनि उहाँमा भएको कम्युनिष्टको रोग हराउँदैन। कारण उहाँमा स्वयं कम्युनिष्ट जिन छ ।

त्यस कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति प्रतिनिधि सभाका माननीय सदस्य हालका सरकारका प्रमूख प्रतिपक्षीय दलका नेता मा. शेर बहादुर देउवाज्यूले बोल्नुभयो। देशको प्रजातान्त्रिक आन्दोलनका कुरा गर्नुभयो। मुलुकको परिवर्तनको निमित्त आफ्नो दलले खेलेका भूमिकाका कुरा गर्नुभयो। हजारौं हजार जनताको कुर्वानीको कुरा गर्नुभयो । लाखौंको त्याग तपस्याको कुरा गर्नुभयो । करोडौं जनता सदियौंदेखि सडकमा आएर आगोका लप्का निलेको कुरा गर्नुभयो । अनि, हालसम्मका कुरा त जरुर गर्नुभयो ।

दुईतिहाई मतको नेतृत्वसहितको कम्युनिष्ट सरकारको कुरा पक्कै गर्नुभयो। मुलुकमा व्याप्त समस्याको कुरा त झनै गर्नुभयो । सरकारले गति बढाओस् पक्का भन्नूभयो । त्यो भन्दा धेरै सरकारको संरक्षक नेकपाका हिजोका नेता हालका महामहिम राष्ट्रपतिज्यूलाई केही सुझाव केही आसा अपेक्षा र केही गुनासा पक्कै सुनाउनु भयो ।

उहाँले तपाईंहरु निरन्तर आफ्ना कुरा राख्दै धैर्यतापूर्वक ५० औं वर्ष देशको प्रतिपक्षमा बस्नुभयो । जनताको अमूल्य मतको सधैं कदर गर्नु भयो। सलाम है तपाईं कम्युनिष्ट साथीहरूलाई, हेर्नू न हामीलाई त सत्ता बेगर एकैछिन पनि बाँच्नै कठिन भयो त पक्कै भन्नु भएन होला। तथापि, सबैभन्दा धेरै त उहाँले आफ्नो पार्टीको हुटहुटी राख्नुभयो ।

धेरै बर्ष पछिको आफ्नो पाटर्टीको नराम्रो पराजयको तितो ओकल्नु पनि भयो होला। जनताको तागतको फैसला नाकको नथ्थिसरी लुरुलुरु मान्नु परेको सत्यतालाई अलिक तोडफोड गर्नुभयो होला आदिइत्यादि। जे होस् अन्त्यमा केही थान प्रश्न महामहिमज्यूलाई तेस्र्याएर आफ्नो भनाई सक्नु भयो होला । अनि, महामहिमज्यू, सरकार के गरिरहेको छ भनेर सोध्नु पनि भयो होला । यी सबै महामहिमज्यूले माइक नसमाउँदैका कुरा भए । कार्यक्रमका बेलिबिस्तार भए। भलै, सत्य के हो मिडियामा यथार्थ होला कलमजीवी साथीहरुले जरुर लेख्नु भएकै होला मैले सुन्न चाहिँ पाएकी छैन। फगत, मेरा अनुमानका कुरा हुन्, सत्य नलाग्न पनि सक्छन् र नहुन पनि सक्छन् ।

अब कुरा रह्यो महामहिमज्यूको । उहाँ उठ्नु भयो, माइक समात्नु भयो र बोल्न सुरु गर्नुभयो । थुप्रै प्रश्नहरुका चाङ्ग लगाएर पूर्व प्रमले आफ्ना भनाई टुङ्गो लगाउनु भए पछाडि महामहिमले जवाफ दिनु पर्ने हुन्छ किनकी हालको सरकारको प्रतिपक्ष उपस्थित हरेक कार्यक्रमका अनुभव यस्तै देखिन्छन्। जिम्मेवारी र जवाफदेहिता भन्ने कुरा सायद प्रतिपक्षलाई लागू हुँदैन ।

हालको प्रतिपक्षीय अनुभवले यस्तै देखाउँछ । यद्यपि, यो कार्यक्रममा प्रमूख अरु कोही हुनु भएको भए सायद महामहिमले यो कुरा गर्नु हुँदैनथ्यो कि ? मलाई यस्तो लाग्छ तर उहाँ त्यस कार्यक्रमको प्रमूख र हालको सरकारको अभिभावक हुनाका नाताले जरुर यो कुरा भन्नूभयो होला, मेरो अनुमान हो । सायद, दर्शकदिर्घामा महामहिमज्यू बस्नु भएको भए यी कुरा उठ्दैनथे होलान् किनकी त्यहाँ आवाज प्रष्ट सुनिएको रहेछ, प्राविधिक समस्या मासतर्फ रहेनछ ।

कार्यक्रमको प्रमूख अतिथि सरकारको अभिभावक, त्यसो त उहाँ सत्ताधारीको नेता, कार्यक्रममा उठेका विषयमा जवाफ दिनैपर्छ । सरकारको जवाफदेहिता लिन जरुर पर्छ । तर, त्यस बखत मा. शेर बहादुर देउवालगायत अरु वक्ताहरुले के बोल्नु भयो, के प्रश्न उठाउनु भयो, उहाँले सुन्न समेत पाउनु भएन अनि भन्नुस् कसरी जवाफ दिनु उहाँले ? समर्थन गर्नु कि, विरोध गर्नु कि, केही नबोल्नु कि ? राज्यको एक अभिभावकले कार्यक्रममा उठेका विषयमा बेखबर बस्नु हुन्थ्यो र ? बस्न मिल्थ्यो र ? कि चुपचाप हिँड्नु पथ्र्यो ? अनि कार्यक्रममा व्यवस्थापन पक्षको गम्भिर त्रुटिका कारण कुरा सुनिएन, बुझिएन ।

वक्ताहरुले भनेको कुरा के हो प्रष्ट भएन । त्यसपछि उहाँले भन्नु भयो, पक्कै राम्रो कुरा गर्नु भयो । सबैले ताली लगाउनु भएको छ। तर, हामी मञ्चमा भएकाहरुले सुन्न पाएनौं। कार्यक्रम आयोजकले हामीलाई पनि सुन्ने व्यवस्था मिलाउनु पर्दथ्यो । व्यवस्थापन कमजोर भएछ तथापि पछि मिडियामा आउला र सुन्न पाइएला । महामहिमज्यूको यो कुराले आदरणीय नेता शेर बहादुर देउवाज्यूको को कसरी अपमान भयो ? कार्यक्रमको अपमान कसरी भयो ? प्रतिपक्षको मानमर्दन भन्ने कुरा कसरी आयो ? आदरणीय प्रेस जगतका साथीहरू महामहिमज्यूले मा. शेर बहादुर जि, तपाईंले बोलेको मैले बुझिन प्रष्ट बोल्नुस् भन्नू भएको थियो र ?

कि जे हो प्राविधिक समस्या त्यसलाई जस्ताको त्यस्तै औंल्याई दिएर इमानदारीता प्रकट भएको थियो उहाँले ? यदि महामहिमज्यूले जथाभावी कुरै नसुनी नबुझी, वक्ताहरुको भावना जिज्ञासा नबुझी एकोहोरो आफ्नो कुरा मात्र गरेर हिँड्नु भएको भए राम्रो हुन्थ्यो र ? तपाईं हामीलाई राम्रो लाग्थ्यो र ? पक्कै लाग्दैनथ्यो। आखिर सत्य यो हो कि, हरेकले सुझबुझपूर्ण तवरले बोलिदिए हुन्थ्यो, जवाफदेहिता लिइदिए हुन्थ्यो भन्ने त महामहिमज्यूको हकमा मात्रै होइन सबै अगुवाहरुका हकमा पनि लागू हुन्छ नि होइन र ?

खुद्रा मसिना र भईपरी आउने यस्तै प्राविधिक विषय समातेर महामहिमज्यू वा अरु कसैलाई वहाना बनाएर आगो सल्काउने मनाशय रहेको हाम्रो देशको प्रतिपक्षीय आन्दोलन कति कमजोर भएछ हगि ? हाम्रो मानसिकता कति हदसम्म प्रतिपक्षीय छन् हगि ? सत्यलाई सत्य भन्न नसक्ने कस्तो समस्या हगि तपाईं हाम्रो ? हरेक कुरालाई नकारात्मक देख्ने हामी कति दृष्टिभ्रमी रहेछौं हगि ? अनि सत्य तथ्यमा आधारित हुनुपर्ने मिडिया जगत अहिले कति दयनीय अवस्थामा पुगेका छन् हगि ?

बढाबढा अक्षरमा कार्यक्रमको गरीमा लत्याएको आरोप लाग्यो एक आदरणीय नेताको बर्खिलाप गरिन् महामहिमले भन्नसम्म भ्यायौ हगि हामीले ? महामहिमलाई व्यक्तिगत गालीगलौज गर्नसम्म भ्यायौं हगि तपाईं हामीले ? तर, म भन्छु सलाम महामहिम राष्ट्रपतिज्यू, तपाईंले ठिक भन्नुभयो । सत्य भन्नुभयो र भन्नै पर्ने कुरा भन्नुभयो । म सलाम गर्छु । तपाईंलाई म सम्मान गर्छु ।

सत्य बोल्न कहिल्यै नछाड्नु होला। किनकी, तपाईंले सोचेर, बुझेर र गमेर मात्रै बोल्नु पर्छ । हावाको भरमा कुरा गर्ने होइन । अस्ति जे गर्नु भयो, त्यो एकदम सही गर्नुभयो। त्यसैले तपाईं ठीक हुनुहुन्छ। तपाईं जस्तो राष्ट्रको अभिभावकले अनुमानका भरमा चरा खसाल्नु हुँदैनथ्यो, कनिकुथी बोल्नु हुँदैनथ्यो । समस्या कार्यक्रम आयोजकको हो, व्यवस्थापन पक्षको हो, तपाईंको हुँदै होइन । Wow, salute well done महामहिमज्यू, तपाईं साँच्चिकै जिम्मेवार र जवाफदेही हुनुहुन्छ । र, हामी पनि तपाईंसँगै छौं र रहिरहने छौं । धन्यवाद !!

[email protected]

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्