सरकार ! तिमी प्रलोभनशील र कच्चा हुनु हुँदैन
जन्म जन्मान्तरसम्म
सेवामुखी मृगतृष्णामा बाचिरहेछौं हामी
सरकार तिमी पैसा र शक्तिको
भुलभुलैयामा चक्कर मार्नु हुँदैन,
मिथ्याहरु एक पछि अर्को जन्मिँदै जानेछन्,
हामी शुन्य न्यायकै
भूमरीमा अलमलाईरहने छौं
सरकार, तिमी आफ्नै क्रियाका
असत्य जालहरुमा
लर्बराउँदै, धर्मराउँदै जानेछौ
पुलिस प्रशासन लगाएर
हामीमाथि ज्यादती नगर सरकार
माफियाका महत्वाकांक्षालाई काखी च्यापेर
हाम्रा मागहरुमा लात्ती भकुण्डो नखेल सरकार
याद राख,
जब कोही
च्याँठ्ठिन्छ, छटपटिन्छ, रुन्छ,
त्यो घाँटीमा नाम्लो बोक्ने होस् वा
त्यो घाँटीमा इस्थेत बोक्ने होस्
त्यसको आवाज
हरेक गल्लीका कानहरुले सुन्नेछन्
र त्यस बखत
तिमी अझै पनि बहिरो भएको नाटक गर्न कदापि सुहाउने छैन ।
लगभग महिना बित्यो
चितवन मेडिकल कलेज
सुनसान छ
विद्यार्थीहरु आन्दोलित छन्
डाक्टर बन्ने सपनाहरु स्खलित छन्
अभिभावकहरु दिग्भ्रमित छन्
अब लुट्न नपाउने हो कि भन्दै माफियाहरु सशंकित छन्
अनि तिमी मौन छौ
लाग्छ तिमी पनि माफियाकै अन्धभक्त हौ
नत्र यो शान्त आन्दोलनको
फाइदा उठाई,
कसरी प्रहरी प्रशासन लगाएर
ताला खोल्न सक्थ्यौ र ?
के देश बिरामी हुँदा हामी चाहिदैन र ?
के जाजरकोटको
बिरामीमा तिम्रो रुप झल्किँदैन र ?
के माफियाको मनपरितन्त्र
सिंहदरबारबाट चिहाउँदैमा पुग्छ र ?
चेतना होस्, सरकार !
हामी महमा टाँसिने माखाहरु होइनौं
अन्याय र अत्याचार विरुद्ध संघर्ष गर्दै
देशलाई निको पार्न हौसिएका
हामी भविष्यका कर्णधारहरु हौं
यो सेतो एप्रोनको गरिमा
र पेशाको ईमानलाई
माफियाको टुनामुनाले बहकाउन सक्दैन,
हेर्दै जाउ सरकार,
आज हजार छौं
भोलि लाखौं हुनेछौं
नियमविपरित अतिरिक्त
शूल्क लिने विरुद्ध लडिरहनेछौं
हामी अघि बढिरहनेछौं
अवश्य एक दिन तिम्लाई
माफियासँग सम्बन्ध विच्छेद गरेर
हाम्रा आवाज सुन्न कर लाग्छ
हाम्रा दृश्य हेर्न कर लाग्छ
हाम्रा लागि बोल्न कर लाग्छ ।
डा. अच्युत शाली घिमिरे
चिकित्सा शास्त्र अध्ययन संस्थान



लाेकपाटी न्यूज

