काठमाडौं, ३१ भदौ। मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ। पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो।
२ महिनाअघि जन्डिसले थलिएका राजुलाई सदरमुकाममै बसेर आफूलाई महायान लामा झाँक्री बताउने गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै बिरामीलाई घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए। पेट चिरेर विकार निकालेबापत् ८ हजार रुपैयाँ पनि असुलेका थिए।
झाँक्रीले पेटमा प्वाल खोपि दिएकाले अवस्था झनै जटिल भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। तर, काठमाडौं नयाँबजारस्थित पिपुल मेडिकल कलेजले अरुले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालीदिएर फिर्ता गरिदिएको थियो। लामाविरुद्ध परिवारजनले जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका छन्। हाल उनी फरार छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ।



लाेकपाटी न्यूज
