जापानको राजधानी टोक्योमा आजकल २५ डिग्री सेल्सियस तापक्रम छ तर एउटा खेलस्थलमा भने दर्शकहरूले हिउँ परेको अनुभव गरेका छन्। यो अनौठो मौसम थिएन, तर सन् २०२० को ओलिम्पिक आयोजकहरूले दर्शकहरूलाई गर्मीबाट बचाउन गरेको एउटा नयाँ प्रविधिको परीक्षण थियो।
सी फरेस्ट वाटरवे खेलस्थलको दर्शकदीर्घामा झन्डै तीन सय किलो नक्कली हिउँ छरिएको थियो। यसको उद्देश्य यसले तापक्रम र आद्रता कम गर्न सहयोग गर्छ कि गर्दैन भनेर परीक्षण गर्नु थियो। जुलाईमा टोक्योको तापक्रम ३५ डिग्री सेल्सियस पुग्छ जसले गर्दा आगामी ओलिम्पिकमा दर्शकहरूलाई स्वास्थ्य समस्या हुनसक्ने चिन्ता व्यक्त गरिएको छ।
यो खेलस्थलमा ओलिम्पिकका रोइङ् र कनूइङ्का खेलहरू खेलाइने योजना छ। दुई हजार दर्शक क्षमता रहेको यस खेलस्थलका आधा सीटहरूमाथि छानो छैन। शुक्रवार टोक्यो ओलिम्पिक आयोजक समितिले पाँच मिनेट नक्कली हिउँ पार्ने परीक्षण गरेको थियो।
तर यसको नतिजा भने उनीहरूले अपेक्षा गरे अनुरूपको नभएको हुनसक्छ किनभने हिउँ पार्नु अघि र पछिको तापक्रम ठ्याक्कै एउटै रह्यो। समितिका ताकासी ओकामुराले नतिजा अपेक्षाकृत नभएपनि हिउँका अरू फाइदा भएको बताए। ‘यो मेसिनको फाइदा भनेको दर्शकहरूले रमाइलो माने।’
सङ्गीत कार्यक्रमहरूमा प्रयोग गरिने हिउँ पार्ने मेसिनले १५ मिटरसम्मको दुरीमा हिउँ पार्न सक्ने बताइएको छ। खर्च भने बताइएको छैन। आयोजक समितिले यो मेसिन प्रयोग गर्ने वा नगर्ने भन्ने निर्णय गरिसकेको छैन तर शुक्रवार अर्को परीक्षण पनि गर्ने बताएको छ। ‘आज पहिलो परीक्षण हो,’ समितिका टोमाआकी मात्सुमातोले भने। ‘तर हामीले यो प्रयोग गर्नसक्ने अवस्था छ।’ -बीबीसी



लाेकपाटी न्यूज

