चितवन, २५ भदौ। भरतपुरको चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच आज बिहान झडप भएको छ। अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो।
आन्दोलनरत विद्यार्थीले अस्पतालको सेवा प्रवाहमा अवरोध खडा गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो। झडपमा केही विद्यार्थीहरु घाइतेसमेत भएका छन्। विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए।
विरोध प्रदर्शनमा उत्रिएका सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवन मेडिकल कलेजले अवैध शुल्क असुलेको भन्दै विरोध प्रदर्शन गरिरहेका छन्।
यता कलेज प्रशासनले भने आन्दोलनका नाममा कलेजका प्रमुख सञ्चालक तथा अन्य सञ्चालकहरु माथि निम्नस्तरको गाली गलौज र धम्की दिने गरेको भन्दै आपत्ति जनाएको छ। कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले बुधबार विज्ञप्ती जारी आन्दोलनका नाममा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालमा हुल हुज्जत गर्ने, सेवा प्रवाहमा बाधा व्यवधान खडा गर्ने जस्ता गैरकानुनी कामहरु रोकिनुपर्ने उल्लेख गरेका छन्।
विज्ञप्तीमा सरकार र त्रिभुवन विश्वविद्यालयले बनाएका नीति निर्देशन र शुल्कलाई कलेजले पूर्णपालना गर्ने प्रतिवद्धता जनाइएको छ।




लाेकपाटी न्यूज

