काठमाडौं, २२ भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई पार्टीबाट निलम्बन गरेको छ। पार्टीको नीति र अनुशासनविपरित काम गरेको र सहकर्मीहरुलाई झुठा मुद्दामा फसाउन पदको दुरुपयोग गरेको भन्दै पार्टी सदस्यबाट निलम्बन गरिएको नेकपाले जनाएको छ।
नेकपा–३ नम्बर प्रदेशको प्रदेश कमिटीले उनलाई कारबाही गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको थियो। खड्का नेकपाका रामेछाप जिल्ला कमिटी सदस्य पनि हुन्। उनी गत स्थानीय तह निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
उनले आफ्नै पार्टीबाट गाउँपालिकामा चुनिएका जनप्रतिनिधीबाट आफूविरुद्ध षड्यन्त्र गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गरेका थिए। खड्काको उजुरीपछि महाशाखाले उनलाई ज्यान मार्नेसम्मको धम्की दिने व्यक्तिलाई राजधानीमा नियन्त्रणमा लिएको थियो।
खड्काले आफुलाई गाउँपालिकामा रहेका आफ्नै पार्टीका उपाध्यक्ष र वडाध्यक्षले योजनाबद्ध रुपमा सिध्याउने योजना बनाएको आरोप लगाएका थिए। खड्काले उनिहरुविरुद्ध किटानी जाहेरीसमेत दिएका छन्।
खड्काले गाउँपालिका उपाध्यक्ष तथा नेकपा जिल्ला कमिटी सदस्य दीपशिखा दाहाल, नेकपाका अर्का नेता ध्रुव कार्की र वडा नम्बर ७ का वडाध्यक्ष सुवास बोहोराविरुद्ध किटानी जाहेरी दिएका हुन्।



लाेकपाटी न्यूज

