सहकारी संस्थाहरू एकिकृत उत्पादनमा लाग्नुपर्छ : मन्त्री अर्याल

Padma Aryal
लाेकपाटी न्यूज

काठमाडौं, १९ भदौ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममाकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन आग्रह गरेकी छिन्। नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका सन्दर्भमा बिहिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

सहकारीले अब उत्पादनमा लगानी गर्नुस् भन्दा सहकारी अभियन्ताले सहकारी क्षेत्रलाई बुझ्नुभएन की भन्ने प्रश्न गरेको भन्दै मन्त्री अर्यालले आफूले सहकारी क्षेत्रलाई राम्ररी बुझेकै कारण उत्पादनमा लाग्न आग्रह गरेको समेत बताइन्। ’सहकारी क्षेत्रलाई मन्त्रीले सहकारी बुझ्नुभएन कि भनेर अभियन्ताले भन्नुहुन्छ । तर मैले मज्जाले बुझेको छु’, मन्त्री अर्यालले भनिन्, ’अबको दिशा समृद्धि, विकासकै दिशा हो। सहकारीको स्रोत उत्पादनमा लगाउनुस्। उत्पादनमा लाग्नुस् भन्दा मन्त्रीले सहकारी बुझेन क्या हो भन्ने होइन । उत्पादनका क्षेत्रमा लगानी गरिदिनुस् भनेको सहकारीले सहकारीमै लगानी गर्नुस् भनेको हो ।’

लगानीको कुरा गरिरहँदा मन्त्री आफैले किन गरेन भन्ने प्रश्न पनि स्वभाविक रूपमा उठ्ने भएकाले आफूले ३ गाउँको जमिन एकिकृत गरेर कागती खेती शुरू गरिसकेको मन्त्री अर्यालले जानकारी दिइन्। ’मन्त्री आफैंले गरेन भन्ने प्रश्न उठ्ला भनेर मैले त शुरु गरिसके । तीन गाउँका जमिन एकीकरण गरेर कागती लगाउन शुरु गरेका छौं। यस वर्ष ३० हजार कागती लगाउने योजना रहेको छ’, उनले भनिन्। अब हरेकले एउटा उद्यममा लगानी गर्नुपर्ने उनको जोड थियो।

सहकारीले भाषण मात्रै गर्छन् काम गर्दैनन् भन्ने प्रश्न पनि उठिरहेको सन्दर्भमा अब भाषण मात्र नभएर काम गर्नुपर्ने उनको भनाइ थियो । त्यसैका निम्ती सहकारी संस्थाहरू एकिकृत उत्पादनमा लाग्नुपर्ने मन्त्री अर्यालले बताइन्। उनले भनिन्, ’तपाईहरू सबै उत्पादनमा लाग्नुस् । सबै अभियन्तालाई बोलाएर एक र एक वटा होमवर्क दिएर पठाउने हो।

हाम्रो भूमि खाली भयो। अब भूमिको अधिकतम् प्रयोग गरेर जाने हो।’ पाठ्यक्रममा सहकारीको विषय उल्लेख हुनुपर्यो भनेर त्रिभुवन विश्वविद्यालयलाई अनुरोध गरिसकेको भन्दै मन्त्री अर्यालले सहकारी क्षेत्रमा केही नयाँ गर्ने गरी सरकार अगाडि बढेको बताइन्। सबै सहकारीमा एकै किसिमको ब्याजदर निर्धारण गर्न सरकारले सन्दर्भ ब्याजदर तोकेको भन्दै उनले यसमा अभियन्ताहरूको पनि साथ रहेको बताइन्। केही प्राविधिक कुरा मिलाउनु पर्योय भन्ने सुझाव आएको भन्दै उनले यसलाई कार्यान्वयन गर्ने गरी जाउ भनेर अभियन्ताहरूले भनेको जानकारी दिइन्।

राज्यको ध्यान सहकारी क्षेत्रमा रहेको भन्दै उनले यसलाई व्यवस्थित गर्न कोकोमिस प्रणाली बनाएर गएको बताइन्। भूमिलाई निजी सम्पत्तिको रुपमा स्विकार गरिसकेपछि अहिलेको अवस्थामा भूमिलाई राष्ट्रियकरण गर्न सम्भव नभएको भन्दै मन्त्री अर्यालले त्यही भूमिको अधिकतम प्रयोग गर्दै जानुपर्ने बताइन्।  यसैबीच, त्यस अवसरमा दुई पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ।

नेपाल सहकारी पत्रकार समाजले स्थापना गरेको ’सिजेएन राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार’ क्लिकमाण्डु डटकमकममा कार्यरत शोभित थपलियालाई प्रदान गरिएको थियो । त्यस्तैगरी संस्थाका संस्थापक उपाध्यक्ष डिल्ली सापकोटालाई सम्मान गरिएको थियो। मन्त्री अर्यालले दुबै पत्रकारलाई पुरस्कृत तथा सम्मानित गरिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्