मन्त्री योगेश भट्टराईबाट सिक्नुपर्ने पाठ !

achyut.jpg01
डा. अच्युतशाली घिमिरे
तर, फरक आचरण र व्यवहारका कारण अहिले मन्त्री भट्टराई चर्चामा छन्। जनताको मन जित्न आफ्नो आचरण मात्र सुधारे पनि हुने रहेछ भन्ने गतिलो पाठ उनका केही दिनका गतिविधिले प्रस्ट पारेका छन्।
लाेकपाटी न्यूज

–डा. अच्युतशाली घिमिरे

काठमाडौं । केही दिन अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयका योजनाका विषयमा प्रमूख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट गरी जानकारी गराएका थिए। र, बुधबार (आज) मात्रै बुद्ध एयरको जहाजबाट नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौलासँग चितवन उत्रिएका भट्टराईले फेरि आफूभन्दा अग्रजप्रति सम्मान देखाएका छन्।

चितवनका प्रमूख जिल्ला अधिकारीले सम्मान गर्नका निम्ति खादा बहालवाला मन्त्री भट्टराई तर्फ अगाडि बढाउँदा भट्टराई स्वयंले सँगै रहेका सिटौलालाई देखाउँदै ‘पहिला दाईलाई’ भन्दै सम्मान गर्न इंगित गरे र बल्ल आफूले सम्मान ग्रहण गरे। सकारात्मक सन्देश प्रवाह गर्दै भट्टराईले जिल्ला तहमा आरोप–प्रत्यारोपमा उत्रिने स्थानीय नेताहरुलाई सवक समेत सिकाएका छन्।

नेपालको राजनीति अप्ठ्यारो मोडमा छ । साँढाहरुको दुनियाँ जस्तो जंगली व्यवहारहरु कायम छन्। एक संगठनले अर्को संगठनलाई देखि नसहने प्रवृत्ति हावी हुँदै गइरहेको छ । बलले मिच्ने, छलले कमाउने, देखाउने, बोक्रे नजरहरुलाई आकर्षण गर्ने यस्तै प्रवृत्तिको स्कूलिङ राजनीतिको तल्लो निकायदेखि माथिल्लो निकायसम्म छ। बदमासहरुको नक्कल गर्ने, अरुको खुट्टा तान्ने, अरुले राम्रो गरेको देखी नसहने, सत्तामा हुँदा आँखा नदेख्ने, सत्ताबाट बाहिरिएपछि गाली गर्ने, शत्रुसँग समन्वय गर्न नसक्ने यस्ता कूप्रवृत्तिका कारण राजनीतिक संस्कार प्रति मानिसहरुको घृणा पैदा हुँदै गइरहेको छ।

तर, फरक आचरण र व्यवहारका कारण अहिले मन्त्री भट्टराई चर्चामा छन्। जनताको मन जित्न आफ्नो आचरण मात्र सुधारे पनि हुने रहेछ भन्ने गतिलो पाठ उनका केही दिनका गतिविधिले प्रस्ट पारेका छन्। आफ्ना प्रतिस्पर्धीहरुलाई साथमा लिएर हिँड्दा हुने असंख्य फाइदाका बारेमा सायद मन्त्री भट्टराई जानकार छन्। आफू सत्तामा हुँदा अरुलाई क्षणिक मानेर नफरतको नजरले हेर्नु नीचापनको चिह्न हो।

यस्तो अन्यायपूर्ण व्यवहारले राजनीतिक किचलो मात्र निम्त्याउँछ। जब सबै शक्तिहरुलाई संगठित पारेर हिँड्न सकिन्छ आफूमा छुटै उर्जा आउँछ। यसले कालान्तरमा सकारात्मक नतिजा पनि ल्याउँछ। आफूलाई नै सर्वशक्तिमान् ठान्दा अहम् भावले टकरावको स्थिति जन्माउँछ। यसले राजनीतिको गतिलाई झगडा उन्मुख गराएर छक्का–पञ्जा र चातुरी गर्नेहरुलाई प्रोत्साहन मात्र मिल्छ र देशले नोक्सान भोग्छ।

योगेश भट्टराई त्यस्तो पात्र भएर निस्किए, जसको अनुसरण गर्नेहरुको अब लाम लाग्नु पर्छ। राजनीतिमा हुन सक्ने आपसी समझदारी र समभावको गहिराई बुझ्नु नै भट्टराईको महानता हो। उनको यस क्रियाकलापलाई हामी अद्वितीय मान्दछौं। यो चलनचल्ती भन्दा अलिकति अनौठोपन पनि हो, जहाँ भावको गाम्भीर्य र सहकार्यको आवश्यकता बुझिन्छ।

यो राजनीतिको सौन्दर्य पनि हो जस्ले सूक्ष्म चेतहरुको सजिलै सिर्जना गर्न सक्दछन्। हामी त जमानादेखि नेताहरुको स्तुति मात्र गाइरह्यौं। यस्ता अवगुणहरु सच्याउ भनेर बिल्कुल भन्न सकेनौं। असल राजनीतिको अभ्यास नहुनुमा हामी पनि दोषी छौं। तर, यस्ता गतिविधिप्रति नेताहरु भने हामी प्रति क्षमाप्रार्थी रहनै पर्दछ। जनताहरु नयाँ ढंग र बदलिँदो शैलीको राजनीतिको अपेक्षा गरिरहेछन्।

चुनावका समयमा हामी बीचमै रहने, हिँड्ने नेताहरु चुनाव जितेर मन्त्री हुनासाथ एकाएक महापुरुषझैं व्यवहार गर्नुले दिव्य सन्देश दिँदैन। मन्त्री भट्टराईले झैं सबैले यो पाठ चाँडै सिक्न सके तिनीहरुलाई युगले बुझ्नेछ, भविष्यले सम्झिनेछ। आशा गरौं ! समतामुलक मेलमिलाप पछिको आनन्द र सिर्जनाको प्रेरणाले सजीव राजनीतिको यात्रा तय गर्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्