– सचिन्द्र श्रेष्ठ
काठमाडाैं । अहिले नेपालमा जहाँ त्यहीँ एटीएमको प्रयोग बढ्दै गइरहेको छ। प्राय बैंक, वित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा, एक अर्को स्थानबाट आदानप्रदान गर्न छिटो सहज हुने र जुन सुकै अवस्थामा जुन बेला पनि निकाल्न मिल्ने भएका कारण यसको प्रयोग अहिले ह्वात्तै बढेको हो। यसले गर्दा आम मानिसहरूको समय बचत भएको त छँदै छ, यसको जोखिम र लापरबाही पनि उत्तिकै बढेको छ।

सन् १९६७ जुनमा जोन शेफर्ड बार्रोंनले एटीएमको आविष्कार गरेसँगै संसारभर सानो या ठूलो देश जहाँ त्यहीँ यो फैलिएको छ। वास्तवमा एटीएम (अटोमेटेड टेलर मेशिन) भनेर भनिन्छ। अहिले आएर एटीएमको सहजतासँगै यसले पारेको प्रभावमा समेत थप जोखिम भएका कारण यसको निराकरण तर्फ राज्य एवं बैंकिङ संस्थाहरु लाग्नु पर्दछ।
पटक–पटक हुने एटीएमको दुरूपयोग, ह्याकरले ह्यकिंग गरी एकबाट अर्को बैंक खातामा गर्ने ट्रान्जेक्सन अहिले देश विदेशका बैंकिङ सेक्टरलाई थप चुनौति खडा गरेको छ। जसका कारण मानिसले बैंकप्रति विश्वास क्रमशः गुमाउँदै आएको छ किनकी आफूले जम्मा गरेर बचत गरेको रकम अन्यले लुट्ने या चोरेर लैजान सक्ने समस्या भएको हुँदा मानिस बैंकको भर पर्न छोडिसकेको छ । यसको पछिल्लो उदाहरण विदाको अवसर पारी एनआईसी एशिया, जनता बैंक, प्रभु, ग्लोबल आईएमई, सनराइज बैंक जस्ता बैंकबाट चोरी गरिरहेको अवस्थामा ५ जना चिनियाँ नागरिक पक्राउ परेसँगै आम बैंक, वित्तीय संस्थाप्रति औंला ठड्याउने र प्रश्न गर्नेको ताँती देख्न सकिन्छ।
एटीएमबाट चोरी हुने वा अन्य बैंक खातामा ट्रान्सफर गर्ने घटना यो मात्र नौलो र पहिलो पक्कै होइन। वि.स.२०७३ साल कार्तिक, जुन दिन तिहार विदाको अवसर पारेर हिमालय बैंकको एटीएम बुथबाट रोमानिया नागरिकलाई चोरी गरेकोमा पक्राउ गरियो। यस्तै गरी स्विफ्ट ह्यकिंग गरी एनआईसी एशिया बैंकबाट पनि चोरी भयो।
सन् २०१६ मा सेन्टर बैंक अफ बंगलादेशमा स्विफ्ट ह्याकिंग गरी बैंकको सुरक्षा प्रणालीमा छिरेर १० करोड अमेरिकी डलर चोरी गर्यो। प्रायः ह्याकर संसारमा १०० वटा बैंक तथा वित्तीय संस्थामा स्विफ्ट ह्यकिंग द्रुत रकम प्रवाह सेवा लिई चोरी गर्ने चलन बढी भएको र विश्वभर बैंकिङ प्रणालीमा रकम भुक्तानी सुविधा दिने स्विफ्ट विश्वासिलो संस्था पनि हो। सन् १९७० बाट विश्वभर स्विफ्ट कार्ड (सोसाइटी फर वर्ल्डवाइड इन्टर बैंक फाइनान्सियल टेलिकम्युनिकेशन) प्रयोग गर्न थालिएको हो।
उत्तर कोरियाली ह्याकर समूह लजारस ग्रुपले २०७४ मा नेपालको एक वाणिज्य बैंकको साढे ४६ करोडभन्दा बढी रुपैयाँ चोरी गरेको थियो। बैंकको स्विफ्ट कार्ड ह्याक गरी चोरी भएको रकम भने ४ करोड रकम बराबर मात्र ह्याकरले लिन सफल भएको थियो। यसले गर्दा हरेक नेपालीको मनमा एक पटक पुनः ढ्याङग्रो ठटाउन बाध्य बनायो। आखिर विश्वास गर्ने के को ? बैंक कि राज्य ? जो दुवैबाट असुरक्षित छ।
ह्याकरबाट हुने समस्यालाई समाधान गर्न राष्ट्र बैंकले साइबर सेक्युरिटी अडिट अनिवार्य गरेको पनि छ। तर, अहिलेको यस्तो घटनाले गर्दा बैंकको लापरबाही हो या राज्यको कमजोरीले यस्ता घटना घटेका छन्। यो सोचनीय विषय रहेको छ आम मानिसमा !
अन्त्यमा, चोरी गर्नेलाई पक्रेर वा केही धरौटी लिई छोडी दिने जुन परम्परा छ त्यसको सदा अन्त्य गर्नुपर्छ । चोरी हुन नदिन के गर्न सकिन्छ र आम मानिसहरुको रकम सुरक्षित कसरी हुन्छ, त्यसलाई सोचेर एटीएम मार्फत् हुने चोरी, ठगीमा सचेत हुनुपर्ने देखिन्छ।
हामीले पनि यसको प्रयोग कसरी गरेका छौं र यसबाट हामीले कस्तो खालको लाभ लिन सकिने हो ? यसको सदुपयोग गर्ने कि नगर्ने ? जहाँ अहिले साइबर अपराधको शिकार बन्न हामी आफैं लालायित त छैनौं ? यसतर्फ ध्यान दिएर बैंक र राज्यले पनि आगामी दिनमा यस्ता खालका अपराधबाट टाढा रहन के कस्तो खालको आधुनिक उपकरण, टेक्नोलोजी, आई टी विशेषज्ञको आवश्यक छ त्यसतर्फ सोचेर कदम चालनु पर्ने देखिन्छ। अस्तु…!



लाेकपाटी न्यूज

