नेपालका बैंकहरुको एटिएम सेवा अनिश्चतकालका लागि बन्द

ATM pic
लाेकपाटी न्यूज

काठमाडौं, १५ भदौ। नेपालका अधिकांश बैंकहरुले आफ्नो एटिएम सेवा बन्द गरेका छन्। ह्याकरको निशानामा नेपालका बैंकहरु पर्न थालेपछि अधिकांश बैंकहरुले आफ्नो एटिएम सेवा बन्द गरेका हुन्।

एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको छ। ह्याकरले नेपालका अधिकांश बैंकहरुका बैंकिङ सिस्टम ह्याक गर्न थालेपछि एटीएम सेवा अनिश्चित कालीन बन्द गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रहरीले एटिएम ह्याक गरेर रकम निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि सुरक्षा खतराका कारण बैंकहरुले तत्कालका लागि एटिएम बन्द गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

प्रहरीले पक्राउ परेका ५ चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ। बैंकका खातावालाको रकम उनीहरुले अनधिकृत रुपमा निकालेका थिए।

पक्राउ परेका गिरोहका समूहले नै अधिकांश बैंकका सिस्टम ह्याक गरेकाले एटीएम सिस्टम नचलेको हुन सक्ने प्रारम्भीक अनुसन्धानमा देखिएको छ।