काठमाडाैं, १४ भदाै। जम्मु काश्मीरका युवाका हातमा अब ढुंगा नभएर भारतीय सेनाको बन्दुक हुनेछ। अब उनीहरुले भारतको सेवा गर्नेछन् किनभने शनिबार जम्मु काश्मीरका ५ सय ७५ युवा भारतीय सेनामा भर्ती भएका छन्।
जम्मु काश्मीर लाइट इन्फान्ट्री रेजिमेन्ट सेन्टर, श्रीनगरमा आज पासिङ आउट परेडको माध्यमबाट घाटी क्षेत्रका ५ सय ७५ युवाले देशको रक्षाको लागि शपथ लिएका छन्। अब उनीहरु भारतीय सेनाको अभिन्न अंग बनेका छन्। उनीहरुले भारतीय भूमिको रक्षाको लागि शपथ लिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
भारतीय सेनाको हिस्सा बनेसँगै शनिबार काश्मीरका युवाले आफूहरू देशको लागि मर्न र मार्न तयार रहेकाे र भारत माताको रक्षाको लागि सँधै तयार रहने बताएका छन्। भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आस्विनी कुमारले जम्मु काश्मीरमा अब सेना भर्तीको अवसर लगातार खुल्ने पनि बताएका छन्।
हालै भारत सरकारले जम्मु काश्मीरलाई प्रदान गरेको विशेषाधिकार हटाएको छ। संविधानको धारा ३७० हटाएर सरकारले जम्मु काश्मीरलाई केन्द्र शासित बनाएको छ। यस कार्यको विरोधमा जम्मु काश्मीरका युवाले सरकार विरोधी प्रदर्शन गरिरहेका छन्। जम्मु काश्मीरका युवाले प्रदर्शन गरिरहँदा भारत सरकारले सेनाको भर्ती खुलाएर त्यहाँको युवालाई रोजगारी प्रदान गरेको हो। –एजेन्सी



लाेकपाटी न्यूज

