काठमाडौँ, १४ भदौ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले सङ्घीयताको बुझाइमा संविधान जारी गर्दाका सहयात्री दलहरूबिच नै एकरूपता कायम नभएको गुनासो पोखेका छन्। उनले भने,‘सङ्घीयताको बारेमा हामीहरूबिच एकरूपता भएको छैन।’
शनिवार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता शर्माले अझै पनि शिक्षा, स्वास्थ्यलगायतका महत्त्वपूर्ण क्षेत्रमा सङ्घीयता कार्यान्वयनमा नगएको गुनासो पोखे। उनले भने,‘अहिलेपनि थुप्रै मन्त्रालयहरू सङ्घीयताको मर्म र भावनाअनुसार अघि बढेका छैनन्, सङ्घीयता कार्यान्वयन गर्नेतर्फ कानुन तथा विधेयकहरू पेस भएका छैनन्।’
उनले संविधान र मुलुकको व्यवस्था नयाँ भए पनि काम गर्ने शैली पुरानै भएको र ऐन, कानुन र विधेयकहरू नयाँ आउन नसकेको टिप्पणी गरे। उनले भने,‘हाम्रो व्यवस्था सर्वोत्कृष्ट छ। तर, संविधान कार्यान्वयनमा समस्या छ।’
शर्माले केन्द्रका मन्त्रालयहरूले सङ्घीयता कार्यान्वयन गर्नेगरि उपयुक्त कानुन तथा ऐन बनाउन समस्या रहेको कुरा पटक–पटक सुनाए। उनले वर्तमान सरकार असफल नभएको जिकिर गरे। उनले भने,‘यो सरकारले सर्वोत्कृष्ट काम गर्छ। हामीले नसके भोलि काँग्रेस र राजपाका साथीहरू सरकारमा आउने हो। दलीय प्रणालीमा यो नौलो कुरा होइन।’
उनले केन्द्र सरकारका मन्त्रीहरूले प्रदेश तथा स्थानीय तहलाई अधिकार दिनको लागि हिचकिचाएको पनि आरोप लगाए। उनले भने,‘सङ्घका मन्त्रीहरूले तल अधिकार दिनको लागि अहिले हिचकिचाउने काम गर्नुभएको छ। तल अधिकार दिनको लागि कन्जुस्याइँ गर्नुहुँदैन। अधिकार जति आफ्नो मुठ्ठीमा राखेर बस्नुहुँदैन। यसरी कसरी देश समृद्ध हुन्छ ?’
उनले आफूहरूले संघीयताविरोधी विधेयकहरू नल्याउनको लागि सङ्घका मन्त्रीहरूलाई निर्देशन दिएको सुनाए। उनले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्नेमा आफू विश्वस्त रहेको सुनाए। पूर्वमन्त्री समेत रहेका शर्माले व्यवस्था र संविधानको विरोध गर्न नपाइने जिकिर गरे। उनले भने,‘सरकारको कामकारबाहीलाई विरोध गर्न पाइन्छ, आलोचना गर्न पाइन्छ। तर, व्यवस्थाको विरोध गर्न पाईँदैन्।’



लाेकपाटी न्यूज

