काठमाडाैं, ११ भदाै। बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टीसँग एकताको गृहकार्य गरिरहेको राष्ट्रिय जनता पार्टी नेपालभित्र विवाद झन् झन् बढ्दै गएकाे छ।
राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले आगामी शुक्रबार र शनिबार बाेलाएको पार्टीको राजनीतिक समिति बैठकलाई महासचिव लगायतका असन्तुष्ट समूहले बहिष्कार गर्ने घोषणा गरेको छ ।
एकता अघिका तत्कालिन दलका अध्यक्षले आलोपालो अध्यक्षमण्डलको अध्यक्षता गरिरहेका छन् । हाल अध्यक्षमण्डलको संयोजक सम्हालेपछि राजकिशोरले समिति बैठक डाकेका हुन् । तर, उनलाई यो समितिको बैठक बोलाउने अधिकार नभएको भन्दै असन्तुष्ट समूहले बहिष्कार गर्ने भएको छ । राजपा महासचिव केशव झाकाअनुसार अध्यक्षमण्डलसँग सहमति नगरी बैठक बोलाएकोले बैठक बहिष्कार गर्न लागिएको हो ।
राजनीतिक समितिमा २७ पदाधिकारी र सचिवालयका ७ जना गरी ३४ सदस्य छन् । राजकिशोर ५ असोजदेखि अध्यक्ष मण्डल को संयोजकबाट हट्दैछन् । त्यसपछि संयोजकको पालो महन्थ ठाकुरको रहेकाे पार्टी निकट स्राेतले बताएकाे छ । पार्टीभित्रको आन्तरिक विवादका कारण महाधिवेशनको मिति समेत तय हुन सकेको छैन।



लाेकपाटी न्यूज

