भेडै भेडाहरुको देश जस्तो भयो !

achyut.jpg01
डा. अच्युतशाली घिमिरे
रविको रिहाइको माग गर्दै तर्कविहीन भएर मानिसहरु प्रदर्शनमा उत्रिएका छन्। शालिकरामले आत्महत्या गर्नुपूर्व एक भिडियो खिचेका थिए। जसमा मर्न बाध्य पारिएको रुपमा रविको नाम लिइएको छ। र, नेपालको मुलुकी अपराध संहिता अनुसार 'कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्नु वा गराउनु अपराध हो' भन्ने व्याख्या गरिएको छ।
लाेकपाटी न्यूज

‍‍- डा. अच्युतशाली घिमिरे

काठमाडौं । आजभन्दा धेरै वर्ष पहिले कवि भूपि शेरचनले आफ्नो कविता मार्फत् लेखेका थिए ‘यो हल्लै हल्लाको देश हो, खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ।’ र, यो कुरा आज पनि सत्य छ ।

हल्लाकै भरमा हिजो भगवान कहलिएकाहरु रातभरमा दानव बन्न सक्छन्। हल्लाकै जगमा भेडावृत्तिसमेत मौलाइरहेको छ। हामीहरु केही कुराको पनि चुरो कुरो नबुझिकन अनेकौं मनगढन्ते बहस र दृष्टिकोणहरुमा बेहिसाब ढल्किदिन्छौं। अनेकौं शङ्काहरु बेक्कारमा खोतलिदिन्छौं। प्रश्नहरुमा अपरिपक्व उत्तरको पछि लाग्छौं। धैर्यतालाई त्यागी दिन्छौं र सहजतालाई सजिलै अंगालिदिन्छौं। हाम्रो नजरमा योग्यता नहुन सक्छ । तर, हामी अन्धविश्वास र भावनात्मक भएर बराबर समाधान गर्न तम्सिन्छौं। हामी आफूमा फुर्तिलो र रवाफीपन चाहन्छौं, विरोधको प्रवृत्ति देखाएर रातारात अखबारका हेडलाइन बन्न चाहन्छौं। साँच्चै यो भेडै भेडाहरुको देश हो। हामी मान्छे बन्ने तागत गुमाइरहेका छौं।

हिजोआज शालिकराम आत्महत्या प्रकरणले समाजको ध्यान खिचेको छ। र, आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रकाउ पर्ने तीन जना मध्ये एक जना ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछानेसमेत प्रकाउ पर्नाले झन् यो विषयलाई तताएको छ। अहिले चितवनको माहोल एकदम बिग्रिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि बाइपास रोडको मालपोत चोकसम्मको क्षेत्रलाई निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको छ।

रविको रिहाइको माग गर्दै तर्कविहीन भएर मानिसहरु प्रदर्शनमा उत्रिएका छन्। शालिकरामले आत्महत्या गर्नुपूर्व एक भिडियो खिचेका थिए। जसमा मर्न बाध्य पारिएको रुपमा रविको नाम लिइएको छ। र, नेपालको मुलुकी अपराध संहिता अनुसार ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्नु वा गराउनु अपराध हो’ भन्ने व्याख्या गरिएको छ। शालिकरामले आत्महत्या गर्नुपूर्व खिचेको भिडियोलाई आत्महत्या दुरुत्साहनको प्रमाणका रुपमा लिएर रविसहित तीन जनालाई पक्राउ गरेको कुरा बुझिन्छ।

यस प्रमाणलाई अदालतले समेत स्विकार गरी अनुसन्धानका लागि प्रहरीलाई म्याद दिइसकेको अवस्था छ। कतिपय कुराहरु अनुसन्धानका क्रममा बाहिर निकाल्न नमिल्ने हुन सक्छन्। यस आधारमा बयान र अटोप्सी रिपोर्टहरुमा प्रहरी थप प्रक्रिया गर्दै होला। तर, धैर्यताको सिमा नै नाघेर माहोल नै बिगार्ने हेतुले प्रदर्शनमा उत्रिनु पर्ने जरुरी चै किन ?

नेपालीहरुले केही गरुँला र भरुँला भन्ने आनन्दका सपनाहरु देख्न थालेको धेरै भयो। तर, पनि उच्च निकाय, राष्ट्रका खातिर लडेका नेताहरु, देशका व्याप्त प्रशासन र न्यायिक निकायबाट जनताले अब आफूले साँच्चै नै न्याय पाइन्छ भन्ने विश्वास गुमाउँदै गइरहेका छन्। यो एकदम डरलाग्दो पाटो हो। भ्रष्टाचार, कालोबजारी, बलात्कार जस्ता घटना परिघटनाबाट दोषीहरु सजिलै उम्किएका परिदृश्य मार्फत् जनता निराशा, कुण्ठा र आक्रोश मिश्रित भावहरुबाट ग्रसित छन्।

एक प्रकारले भन्नुपर्दा नेपालीहरु फ्रस्टेसनमा छन् र उनीहरुमा बौद्धिक चेतनाको अभाव छ। बढी नै भावनात्मक भइदिने र सजिलै जो कसैलाई विश्वास गरिदिने मनोभावमा समेत नेपालीहरु ग्रसित छन्। जसका कारण सामाजिक सञ्जाल र मिडियाबाट मानिसहरुले अब न्याय खोज्ने दिन आएको छ। कपोकल्पित तर्कहरुमा समाज आक्रान्त भएको छ। भीडले दिशानिर्देश गर्ने भेडावृत्तिले नै दोषी पत्ता लाग्न थालेका छन्। अफवाहहरुलाई महत्वका साथ हेरिएको छ। अराजकता बढाएर नकरात्मक बिकाएर सत्य ढाक्न खोजिएको छ। तर, हामी समयमै सचेत हुनुपर्ने जरुरी छ। किनकि भीडबाट कहिल्यै पनि न्याय आउँदैन।

हामी नेपालीहरु यदाकदा दुनियाँको कर्मपथमा अँध्यारो गल्लीमा हिडिदिन्छौं। कुनै एक मिथ्यासँग संयोग राख्छाैं र त्यसबाट क्षणिक सुख अनुभव गर्दछौं। सुखको चक्करमा विशाल भुलभुलैयामा फसिरहन्छौं। क्रिया प्रतिक्रियाबिहीन कसैको इसारामा नाचिदिन्छौं। कसैले आफ्नो निशाना चुकाउन हाम्रो काधँमा बन्दुक राखेर पड्काउछ, तै पनि हामी काधँ थापिरहन्छौं। हामी लर्बराउँदै धर्मराउँदै जब अघि बढ्न गडबडाउँछौ तब हामी खाल्टोमा पर्छौं। यो अरु केही नभएर हाम्रो भेडावृत्ति हो। हामी ठूला–ठूला आवाज निकाल्छौं, हृदयमा घमण्ड ज्यादा राख्छौं, आफूलाई आकाश थाम्ने हुटिट्याउँ सम्झिन्छौं । तर, हामी आफैं अँधेरो कोठामा हुन्छौं र हाम्रो घमण्ड हाम्रै अगाडि मुर्दातुल्य हुन्छ।

आजकल, समाजमा हल्लाहरु सत्य जसरी फैल्याइएको हुन्छ। कुनै पनि मानिसको चरित्र निर्धारण गर्न नेपालीहरु उसको भूत र वर्तमानको समीक्षाभन्दा पनि युट्युब र फेसबुकमा उसका सम्बन्धमा बनाइएका प्रचारका सामग्रीबाट आफ्नो धारणा बनाउन थालेका छन्। खासमा नेपाली समाजले पचाउनै नसक्ने यस्ता सामग्रीहरु नै समाजमा बढी बिक्छन्।

अझ भनौं नेपालीहरु नकरात्मकता, त्यसमाथि पनि रहस्य र षड्यन्त्रमा आफूलाई एकत्रित गर्न थालेका छन्। यस्तै सतही विचारहरु धेरै फैलिने हुँदा वकालत गर्ने र तर्कका आधारमा धारणा बनाउनेहरु घट्दै गइरहेका छन्।जे जस्तो भए पनि प्राय नेपालीलाई भेडा बनाउनुमा राज्यकै ठूलो भूमिका छ। राज्य स्वयंले आफ्ना संयन्त्रमाथि जनताद्वारा गरिने अथाह विश्वास र भरोसाको खडेरी निम्त्याउनु लाजमर्दो कुरा हो।

यसले निम्त्याएको वैराग्यको क्षतिपूर्ति कसले दिने ? जनताहरु व्यर्थैमा कसैको पुजारी बनिरहेछन्, अन्धभक्त बनिरहेछन्, भावनात्मक बनिरहेछन्। ठूला–ठूला परिवर्तन ल्याए पनि जनताको आधारभूत कुराहरुमाथि ध्यान नपुर्याउँदा चेतनशील नेपालीहरु आज भेडा बनिरहेछन्। यसलाई सबैले एकचोटी आत्मसमीक्षा गर्दै सत्यको जीतको खोजीका लागि राज्यलाई विश्वास गर्ने वातावरण सिर्जना गर्न लाग्नुपर्छ।

– डा.अच्युतशाली घिमिरे
चिकित्साशास्त्र अध्ययन संस्थान (IOM)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्