काठमाडौं। तीज हामी नेपाली महिलाहरुको निम्ति एक महत्वपूर्ण चाड हो। यो चाडको सुरुवात कहिलेदेखि प्रचलनमा भयो भन्ने कुनै ठ्याक्कै मिति छैन। तिथि मात्र छ। तिथिसँग नै यो चाडको सुरुवात पार्वती र महादेवको प्रसङ्गसँग जोडिन्छ। तसर्थ तीज जहिले पनि भाद्र महिनाको शुक्लपक्षको तृतीय तिथिमा पर्छ। तृतीय तिथिमा परे पनि यो चाडलाई द्वितिया तिथिदेखि पञ्चमीसम्म गरी ४ दिन मनाइने चलन छ ।
तीजमा भगवान शिवजीको नाममा व्रत तथा आराधना गर्नुका साथै नाचगान, मनोरञ्जन पनि गरिन्छ । यो पर्व हाम्रो देश नेपालमा मात्र नभएर भारतका विभिन्न ठाउँहरुमा पनि मनाइन्छ ।

अहिले विश्व एक गाउँको अवधारणा रहेको अवस्थामा त झन् हिन्दु धर्म र तीज मनाउने संस्कृतिबाट प्रभावित नेपालीहरु जहाँ–जहाँ पुगेका छन् त्यहाँ–त्यहाँ आ– आफ्नो ढङ्गले तीजलाई मनाउँछन्। हिन्दु महिलाद्वारा यस दिन हर्ष उल्लासका साथ मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।
तीज सधैं बर्षायाममा पर्छ। तसर्थ, वर्षायाममा गाउँघर लगायत सहरहरुमा पनि जताततै हरियाली नै देखिन्छ। हरियालीपनले मनलाई आनन्द गराउँछ। यही हरियालीपनसँगै काठमाडौं लगायतका सहरहरु र बजार क्षेत्रहरुमा श्रावण महिनाको सुरुवातीदेखि नै हिन्दु नारीहरु भगवान शिवको आराधना गर्दै सोमबारे व्रत गर्न थालिहाल्छन्। व्रतको साथसाथै मेहन्दी लगाउने चलन पनि खुबै चलेको पाइन्छ। यी सबै कुराहरु तीज पर्वलाई लक्ष्यित गरेर नै गरिएको हुन्छ।
व्रत बस्दा र शिव मन्दिर जाँदा विवाहित महिलाहरुले पतिको लामो आयु होस् भनेर शिवसँग प्रार्थना गर्नुपर्छ भन्छन् भने अविवाहित महिलाहरुले आफूले सोचेको वा असल पति पाउनु पर्छ भन्ने कामना गर्नुपर्छ भन्छन्। अनि तीजको दिन ईच्छुक महिलाहरु बिहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभर जलसमेत ग्रहण नगरी व्रत बस्ने गर्दछन् भने कोही जल मात्र पिएर, कोही फलफूल खाएर व्रत बस्छन्। साँझ भने दही केरा र रोटी लगायतका चीजहरु खान्छन्। तर, यो तीज मनाउने तरिका भने समुदाय, क्षेत्र र समाज पिच्छे नै फरक हुन सक्छ।
काठमाडौंमा यस दिन विशेष गरी पशुपतिनाथमा व्रतालु र दर्शकहरुको घुइँचो लाग्छ। गाउँघरमा भने खासै शिव मन्दिर नहुने हुनाले महिलाहरु आ–आफ्नो पायक पर्ने ठाउमा चर्के, लिङ्गे, घुमाउने जस्ता पिङ्गहरु खेल्ने, तीजको गीत गाउने, नाच्ने गरी मनोरञ्जन गर्छन्। यस दिन टाढा टाढाबाट भए पनि चेलीबेटीहरु माइतमा आउँछन्। माइतमा आमा–बुवा, दाजु–भाइ, नातेदारहरुसँग भेटघाट गरी कोही खुसी मनाउँछन् भने कोहीले आफ्नो दुःख, कष्ट सुनाउँछन्।
चेलीबेटीहरुले प्रायः जसो आफ्ना दुःख कष्टका कुराहरु लोकभाका मार्फत् गीतहरुमा पस्कन्छन्, नाच्छन् र केही क्षण भए पनि एक आपसमा सुख दुःख साटासाट गरी रमाइलो गर्छन्। उनीहरुले गाउने गीतका शब्दहरु प्राय उनीहरुको दिलैदेखि आएको हुन्छ भलै गीतको भाका अरु कसैको किन नहोस्।
तर, अहिले भने काठमाडौं लगायतका सहर र दूरदराजका बजार क्षेत्रहरुमा रेकर्डेड गीतमा मात्र नाच्ने र रमाइलो गर्ने गरेको पाइन्छ। यहाँ त महिलाहरु एक महिना अगाडिदेखि नै दर खान सुरु गर्छन्। दरको नाममा मद्यपान गर्न पनि पछि पर्दैनन्। अझ शिवजीकै नाममा मद्यपान गरेकोमा गर्व पनि गर्ने गरेको चलन सुनिन्छ। जे होस् जुन ठाउँमा भए पनि सहरबजारमा बस्ने र शिक्षितहरु भने तीजको दिन शिवजीलाई सम्झन्छन् र पायक पर्ने शिव मन्दिरमा गई शिवको आरधना गर्नुका साथै नाचगान रमाइलो पनि गर्ने गर्दछन्। तर, प्राय जसो गाउँघर र गरिबीले छाएको घरमा भने दुःख र वेदनाले भरिएका गीत गाउने र नाच्ने मात्र हुन्छ।
उनीहरुलाई न यो कुरा शिव पार्वतीसँग जोडिएको थाहा हुन्छ, न शिवजीलाई सम्झन्छन् न त्यहाँ शिवको मन्दिर नै हुन्छ। यस दिन शिवलाई नै प्रमूख पात्र मान्दै आएकोले काठमाडौंको पशुपति मन्दिर परिसरमा महिला व्रतालुहरुको ठूलो भिड हुने गर्दछ । यो चाडमा कुनै समुदाय र समाजमा माइतीहरु जस्तै बाबु आमा दाजुभाइहरुले छोरी, दिदी–बहिनी वा चेलीहरुलाई घरमा गई लिएर आउने र कुनै समुदाय र समाजमा माइतीहरू चेलीहरुको घरमा लिन नजाने तर बोलाउने गर्छन्। र, चेलीहरु आफैं नै माइतीघरमा आउँछन् । यसरी माइतीहरु नै लिन गएर वा बोलाएर चेलीहरुको निम्ति गर–गहना दिने, नयाँ–नयाँ कपडा किनेर ल्याइदिने, मिठा मिठा परिकार खुवाउने तथा मनका भावना एवम् सुख दुःख साटासाट गरी एकै ठाउँमा खाने बस्ने चलन छ।
तीज पर्वमा तीजको दर खाने दिनलाई पनि विशेष महत्व दिइन्छ। दर तीजको अघिल्लो दिन बेलुकादेखि राति १२ बजेसम्म खाने चलन बसिसकेको छ। त्यो दिन विवाहित र अविवाहित महिलाहरुले दर खाने गर्दछन् । दर खाँदा पनि महिलाहरु प्राय रातो पहिरनमा भई तीजको गीतको सुरमा नाँच्ने गर्दछन् । वास्तवमा भन्ने हो भने रातो रंग तीजको पर्याय नै बनिसकेको छ।
तसर्थ, महिलाहरु प्राय रातो रंगको कपडामा नै सजिएका हुन्छन्। भोलिपल्ट कसैले तीजको दिन दिनभर पानीसम नखाई बस्नुपर्ने भएकाले दर खाने दिन रातिसम्म बसेर पेटभरी खाने प्रचलन रहेको छ। तीजको अर्को दिन चौथी ( चतुर्थी र गणेश चतुर्थी) पर्छ। यसलाई पनि तीज नै मानिन्छ र अन्तिम दिन ऋषि पञ्चमी पर्छ। यस दिन पँधेरा, कुवा, धारा, खोला जहाँ भए पनि स्नान गरी सप्त ऋषिहरुको पूजा आराधना गर्ने चलन छ।
तर, ऋषि पञ्चमीको दिन ऋषिहरुको पूजा आरधना गर्ने कुरा गाउँमा थाहा हँुदैन र गर्ने चलन पनि छैन। वास्तवमा अरु चाड पर्व जस्तै तीज महिलाहरुको विशेष चाड मानिए पनि दूरदराजका ठाउँहरुमा महिलाहरुको लागि तीज मात्र कुकुरलाई कुकुर तिहारको दिन फूलमाला लगाई दिएर एक छाक राम्रो खाना दिने र त्यो लगाइदिएको फूल नओइलाउँदै लौरो, ढुङ्गा मूढाले पिटे सरह जस्तै हुन्छ। त्यति मात्र होइन, गाई वस्तुको लागि आवश्यक घाँस, सोत्तर र दाउरा समेत चार दिनको पुग्ने गरी महिलाहरुले नै जम्मा गरी राख्नुपर्छ। अझ वर्षायाममा पानीलाई पानी र झरीलाई झरी नभनी आवश्यक सबै कुरा तयार पार्नुपर्छ । त्यसपछि मात्र तीजमा माइत जान पाइन्छ।
यति हुदाहुँदै पनि अचेल तीज मनाउने स्वरुप पनि लगभग पुरै परिवर्तन भएको पाइन्छ। पहिले–पहिले घरेलु मादल र बाँसुरीको त्यो ताल र धुनमा रमाउने चेलीबेटीहरु अहिले क्यासेट र डेकमा रेडिमेड गीत बजाएर तीजमा रमाउने चलन बढ्दो छ। गीतमा प्रयोग हुने वेदना र दुःखका शब्द र भाकाहरुको सट्टामा छाडा शब्द र उच्छृङ्खल भाकाहरुले तीज रंगिएको पाइन्छ। एकले अर्काको भवना बुझ्ने र दिदी, बहिनी, साथिसंगीहरु बीचको सम्बन्ध प्रगाढ बनाउनुको सट्टा आ–आफ्नो तुजूक देखाउने रवाफिलो र खर्चालु हुँदै गएको छ तीज।

गाउँघरका अधिकांश मान्छे विदेश हुने, प्राय महिलाहरुले पनि पहिले जस्तो गाईवस्तुहरु नपाल्ने, सगोलको परिवारमा नबसी छुट्टै बस्ने, पढ्न सहरतिर जाने आदि कारणले दुःख र वेदनाका कुराहरु अहिले तीजमा पोखेको सुनिदैन। सुनिए पनि प्राय गाउनेहरुले गाएको मात्र हो भोगेको होइन। यसको अर्थ गीत दिलैबाट आएको होइन, दिमागबाट तानेर मात्र ल्याएको हो। यसको अर्थ हाम्रो देशैभरि यस्तो हुन्छ भनेको पनि होइन। विकट गाउँहरु, गरीब घरपरिवार, अशिक्षित, रुढिवादी आदिले ग्रस्त ठाउँमा दुःख, पीँडा, वेदनाहरु साटासाट हुन्छन् नै।
तर, तिनीहरुको आवाज कसले सुन्ने ? आवाज त तिनीहरुको सुनिन्छ, जो तीज आउनु भन्दा महिनाै दिन अगाडिदेखि नै सहर बजारमा तडक भडकका साथ हिँड्छन्, रमाइलो गर्छन्। अझ दैनिक दर खाने नाममा महिलाहरुको विभिन्न ठाउँमा आवतजावत, विकृतिपूर्ण क्यासेटका चर्को स्वरका गीतहरु, पहेँलै सुनका गहनाको सजावट, बोलीमा लर्बराई देख्दा र सुन्दा त लाग्छ तीज धनी र धाक देखाउनेलाई मात्र हो जस्तो।
तीजलाई जसले जे जसरी मनाए पनि गाउँ, टोल र समाज नै बिगार्ने गरी तीजलाई प्रवद्र्धन भने गरिनु हुन्न। परापूर्वकालदेखि चलिआएको हँुदा यो पर्व हाम्रो संस्कृति र पहिचान हो। तसर्थ, तीजलाई हामीले विकृत हुनबाट बचाउनु पर्छ। किनकि हामीले यसको बारेमा आउने पुस्तालाई पनि आफूले देखाएर सिकाउनु पर्छ। तीजमा विवाहित नारीले आफ्नो लोग्नेको दिर्घायु र अविवाहित नारीले असल पति पाउने आशाको नाममा मात्र यो पर्व मनाइनु हुँदैन।
प्रायः यो पर्वमा अधिकांश मान्छेबाट शिवजीको नाम मात्र पुकारिनु तर माता पार्वतीको नाम नजोडिनु राम्रो कुरा होइन। बरु त्यो समयमा माता पार्वतीले आफूले चाहेको लोग्ने शिवसँग नै विवाह गर्नमा चालेको कदम हामी नारी जातिको लागि कम्ता क्रान्तिकारी कदम होइन। ती पक्षहरु बुद्धिजीवी, संस्कृतिविद् र सामाजिक अभियन्ताहरुबाट जोडतोडका साथ बाहिर ल्याउनु पर्छ। प्रायः तीजमा नारीले लगाउने रातै रंगको महत्व, व्रतको महत्व र मेहन्दीहरुको वैज्ञानिक महत्वलाई पनि प्रकाश पारिनु पर्छ। यसो भयो भने हाम्रो संस्कृति हाम्रो धरोहर हुन्छ। हाम्रो पहिचान, हाम्रो गौरव हुन्छ।
देवयानी घर्ति मगर
एम.ए.(ग्रामिण विकास)
प्रथम सत्र, पाटन संयुक्त क्याम्पस, ललितपुर।


लाेकपाटी न्यूज

