रमेश मल्ल
पुष्पलालले आफ्ना चारजना सहयोद्धाका साथ सामन्तवाद र साम्राज्यवादका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीको झण्डा उठाए। इतिहासमा कैयाैं उतार चढाव बेहोर्दै, कहिले सशस्त्र सङ्घर्ष त कहिले शान्तिपूर्ण जनआन्दोलन हुदै नेपाली समाज रुपान्तरणको त्यो झण्डा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सगौरव उचालेको छ।
नेपालमा कम्युनिष्ट आन्दोलनका दुई फरक धार र दुई भिन्न प्रवृत्तिको नेतृत्व गर्दै आएका साविकको नेकपा (माओवादी केन्द्र) र साविकको नेकपा (एमाले) नेपालको संविधान २०७२ को कार्यान्वयनको क्रममा सम्पन्न भएको सङ्घ र प्रदेशको निर्वाचनको क्रममा पार्टी एकतालाई लक्ष्य बनाएर चुनावी गठबन्धनको घोषणा गरे। निर्वाचनको ऐतिहासिक सफलता र त्यसको उत्साहलाई पार्टी निमार्णको प्रक्रियामा पूँजीकृत गर्दै गत वर्षको जेठ ३ गते मदन आश्रित स्मृति दिवसको दिन पार्टी एकताको घोषणा गरियो। यो घोषणा नेपालको कम्युनिष्ट आन्दोलनमा निरन्तरतामाथिको क्रमभङ्ग, ऐतिहासिक छलाङ र एक ऐतिहासिक उत्सव थियो र रहिरहनेछ।
विगतमा नेपाली कम्युनिष्ट आन्दोलनमा देखा परेका वाम, दक्षिण लगायतका अतिवादी प्रवृत्ति र रुझान तथा तिनले पार्टी र आन्दोलनमा पैदा गरेका टुटफुट र विभाजनका नकारात्मक विरासतलाई चिर्दै, नेपाली समाजको आजको ठोस परिस्थितिको ठोस विश्लेषणका साथ समाजवादउन्मुख जनताको जनवादको तत्कालीन कार्यदिशासहित अघि बढ्ने सामूहिक प्रतिवद्धताका साथ पार्टी एकता घोषणा भयो।
वाम गठबन्धनदेखि पार्टी एकतासम्मको यो यात्रा दुनियाँका प्रतिगामी तथा प्रतिक्रियावादी तत्व वा शक्तिलाई मनपर्ने कुरै भएन। उनीहरु यो एकतालाई पाइला पाइलामा ध्वंश गर्न चाहन्थे र चाहिरहेकै छन्। तर, पार्टीभित्रैका केही प्रवृत्ति र पात्रहरु यो एकता नहोस्, भइहाले पनि सुदृढ नबनोस् र यसलाई कतै न कतै दुर्घटनामा पु¥याउन सकियोस् भन्ने सोच्छन् भन्दा पनि दुःख लाग्छ। पार्टी एकता घोषणादेखि एकताको प्रक्रिया जारी नै रहेको आजको अवस्थासम्म आउँदा केही पात्र र प्रवृत्ति सतहमा आउनुले एकता भाँडियोस् भन्ने प्रतिक्रियावादी सपना र योजनालाई नै मलजल गरिरहेका छन्।
नेपाल कम्युनिष्ट पार्टीलाई सर्वहारा श्रमजीवी वर्गको मुक्तिको साधनको रुपमा अझ बढी सुदृढ गर्ने र आजको राष्ट्रिय जिम्मेवारीअनुसार सिङ्गो देशको कुशलतापूर्वक नेतृत्व गर्ने ऐतिहासिक अवसर छ। उक्त अवसरलाई पार्टीले सम्पूर्ण शक्तिका साथ एकतावद्ध भएर मात्र पूरा गर्न सम्भव छ। त्यसका लागि आजका दिनमा पार्टीका नेता कार्यकर्ताले निम्न कुरामा ध्यान दिन जरुरी छ।
१) पार्टीको गौरवशाली इतिहासप्रति गर्व गर्न सकौं
२००६ सालमा पार्टी स्थापना भएलगत्तै सामन्ती दरवारिया तथा प्रतिक्रियावादी तत्वको षडयन्त्रको शिकार भयो। समकालीन पार्टी नेतृत्व नै दरबार पसे। पार्टी विभिन्न समूहमा विभाजित बन्न पुग्यो। पञ्चायती निरंकुशताकै बीचमा पार्टी र आन्दोलनलाई पुर्नगठनको प्रयास गरेको देखिन्छ। मुलतः पुष्पलाल आफैंले २०२५ सालतिर शुरु गरेका प्रयत्न, झापा आन्दोलनको रुपमा भएको सशस्त्र सङ्घर्ष र केन्द्रीय न्युक्लियसका नेताहरुले गरेको प्रयत्न उल्लेखनीय देखिन्छन्।
पार्टी पुर्नगठनको प्रयासले ठोस आकार भने एकातिर कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरणको बाटोमा लिएर जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादलाई पार्टीको न्युनतम राजनीतिक कार्यक्रमको रुपमा अघि सार्नुभयो र पछि साविकको एमालेले त्यसलाई सिद्धान्तको रुपमा व्याख्या गर्यो। अर्कोतिर कमरेड प्रचण्ड नेतृत्वको साविकको नेकपा (माओवादी) ले मालेमावादलाई पथप्रर्दशक मान्दै नेपाली समाजको आमूल परिवर्तनका लागि जनयुद्धको झण्डा उठायो। र, जनयुद्धकै दौरान सामन्तवाद तथा साम्राज्यवादविरोधी शक्तिबीचको दलीय प्रतिस्पर्धा र राजनीतिक सत्तामा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेपको मार्गचित्र सहितको २१ औं शताब्दीमा जनवादको विकास सम्वन्धि प्रस्तावलाई अघि सार्यो।
इतिहासले यो कुरा पुष्टि गरिसकेको छ कि नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण, सडक र सदनमा गरिएका जनसङ्घर्ष त्यसका उपलब्धिलाई फर्केर हेर्दा कमरेड मदन भण्डारीले कम्युनिष्ट आन्दोलनको एउटा वैचारिक धार निमार्णमा महत्वपूर्ण योगदान गर्नुभएको छ भने कमरेड प्रचण्डको नेतृत्वमा भएको गौरवशाली जनयुद्ध, जनयुद्धका दौरानमा गरिएका वैचारिक संश्लेषण तथा राजनीतिक परिवर्तनमा जनयुद्धको निर्णायक भूमिका रहेको छ। यी विषयलाई नेकपाले आफ्नो राजनीतिक दस्तावेजमा संश्लेषण गरिसकेको छ। इतिहासमा जनयुद्ध र जनआन्दोलनले खेलेको गौरवशाली भूमिका र त्यस क्रममा भएको अद्धितीय त्याग, तपस्या र बलिदानप्रति हामी सबैले गर्व गर्न सक्नुपर्छ। यी उपलब्धिहरु अब कुनै समूह विशेषका नभई पार्टीकै साझा सम्पत्ति हुन् भन्ने कुरा पार्टी दस्तावेजले भनिसकेको छ।
२) पार्टीको राजनीतिक कार्यदिशालाई दृढतापूर्वक पकडौं
मार्क्सवादले हामीलाई सिकाएको छ कि प्रकृति र मानव समाजका हर वस्तु गतिशील छन्। यदी हामीले पदार्थको गतिलाई ठीक ढंगले बुझ्न सकेनौं भने चीज कहाँ कता पुगिसकेको हुन्छ हामी चाहिँ कुवाको भ्यागुतोजस्तै बन्दारहेछौं। यहाँ विषय विचारधारात्मक राजनीतिक कार्यदिशाको हो। यसका बारेमा माओले भन्नुभएको छ, “ विचारधारात्मक तथा राजनीतिक कार्यदिशाले नै सबथोक निर्धारण गर्दछ, यदी यो सही छ भने नभएका कुरा पनि प्राप्त हुन्छन्, यदी यो गलत छ भने भएका कुरा पनि गुम्दछन्।” राजनीतिक कार्यदिशा वा क्रान्तिको बाटोका बारेमा लेनिन भन्नुहुन्छ, “कुनै पनि सिद्धान्तलाई जडसुत्रको रुपमा लिनु हुँदैन।” उहाँले सिद्धान्तलाई कामको सजीव मार्गदर्शक बनाउनुपर्ने बताउनुभएको छ। ठोस परिस्थितिको ठोस विश्लेषणबाट मात्रै सही निष्कर्षमा पुग्न सकिने उहाँको भनाइ थियो।
नेपाली समाजको ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै नेकपाले आफ्नो राजनीतिक दस्तावेजमा मार्क्सवाद लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त र समाजवादउन्मुख जनताको जनवादलाई तत्कालीन राजनीतिक कार्यदिशा मानेको छ। माओवाद र २१ औं शताब्दीको जनवाद तथा जनताको बहुदलीय जनवादलाई एकताको राष्ट्रिय महाधिवेशनको सम्पत्तिका रुपमा सुरक्षित गरेको छ। जुन विषय महाधिवेशनको कार्यसूचिभित्र पार्टीको आन्तरिक छलफलको विषय हुनेछ। यसमा कतै दुईमत हुनै सक्दैन।
तर, पार्टीको यो निर्णयलाई जान्दाजान्दै कोही पनि व्यक्ति वा प्रवृत्तिले आजकै दिन जनताको बहुदलीय जनवाद चाहियो भन्दै वा वकालत गर्दै हिड्छ या माओवाद र २१ औं शताब्दीको जनवाद चाहियो भन्छ भने त्यो पार्टी एकता विरोधी कुरा हो। त्यतिमात्र होइन, माओवादका ११ बुँदा, २१ औं शताब्दीको जनवादमा प्रयोग भएका ७ प्रवर्ग वा जनताको बहुदलीय जनवादका १४ विशेषता वा प्रवर्ग खोई भन्नु या ती सबै समाप्त पारियो भन्नु भनेको त कि त्यसले मार्क्सवाद नै बुझेन कि त त्यसले एकताविरोधी विषवमन नियोजित रुपमा गर्दैछ भन्ने बुझ्नु पर्दछ। किनकि अबको समाजवादी गन्तव्यका लागि आवश्यक वैचारिक राजनीतिक मार्गनिर्देशन र थप विकसित विचारसहितको समाजवाद उन्मुख जनताको जनवादको धेरथोर व्याख्या त हरेक सचेत कार्यकर्ताले गर्न सक्दछन हैन र ?
३) पार्टीका संगठनात्मक निर्णयलाई कडाईपूर्वक पालना गरौं
पार्टी एकता दुई भीमकाय र विशाल पार्टीको एकता हो। हामी त करीब १० लाख पार्टी सदस्यहरुको पार्टी भन्छौं हाम्रो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई। कम्युनिष्ट पार्टीमा हरेक पार्टी सदस्यले पार्टी चेन अफ कमाण्डमा रहेर कुनै न कुनै जिम्मेवारी पाउनुपर्छ र दिनुपर्छ भन्ने कुरा पद विभाजनभन्दा उपयुक्त पदावली सामान्य कार्यविभाजनको सिद्धान्त नै हो।
पार्टी एकताको केही काम अझैं बाँकी रहेको र नेतृत्व तहदेखि नै कार्यविभाजन बाँकी रहेकाले कतिपय कुरा ठीक–ठीक समयमा र कार्यविभाजन पनि संगतिपूर्ण हुन सकेका छैनन्। अहिले पार्टी सञ्चालन गर्ने विधि भनेकै पार्टीको अन्तरिम विधान, नियमावली, पार्टी एकता बेला नेतृत्व तहमा गरिएका लिखित, अलिखित सहमति र समझदारी तथा पार्टी केन्द्रीय समिति (मुलतः सचिवालय) र तत्तत् समितिले गरेका निर्णयहरु नै पार्टीका संगठनात्मक सिद्धान्त, संरचना, कार्यप्रणाली, जिम्मेवारी र उत्तरदायित्व हुन्।
पार्टीमा निर्णय एउटा गर्ने र कार्यान्वयन अर्के गर्ने, सहमति एउटा गर्ने र लागू गर्दा तर्किने, पार्टी निर्णय अमुक नेता वा अमुक कार्यकर्ताका लागि लागू गर्नुपर्ने तर अमुक नेता तथा अमुक कार्यकर्तालाई लागू गर्नु नपर्ने, आफ्नो स्वार्थ अनुकूल भइञ्जेल पार्टी निर्णय हुुने प्रतिकूल हुने भए भएको थियो र, कहिले भएछ ? भन्दै पन्छिने आदिजस्तो अवस्था सिर्जना भएमा यसले एकतामा गम्भीर असर पर्न सक्छ। किनकि हामी एकताको विशिष्ट अवस्थामा छौं। पार्टीमा भएका समझदारी र निर्णयको कार्यान्वयन भनेका विश्वास आर्जनको आधार पनि हो।
यदी निर्णयहरु लत्याइएमा त्यो निर्णय लत्याइएको मात्र हुँदैन, त्यो त विश्वासलाई लत्याइएको हुन्छ र त्यसले पार्टी एकतालाई क्षतविक्षत पारिदिन्छ। पार्टीमा कोही माग्ने र कोही दिनेको सम्वन्ध निर्माण गर्न खोजेमा त्यो सम्भव छैन, किनकि हामीले सामन्तवादको मलामी गएर भर्खरै आएका हौं। तसर्थ आज हाम्रो पार्टीमा सबैभन्दा पहिले सहमतिको कार्यान्वयन दुई अध्यक्षको कार्यविभाजनबाटै शुरु गर्नुपर्छ। आलोपालो अध्यक्षता भन्ने कहाँ गयो ? आलोपालो सरकार प्रमुख हुने कुरामा किन जिब्रो चपाउन थालेको ? आदी प्रश्नहरु उठेका छन्। नेतृत्वले जिम्मेवार भएर सहमति कार्यान्वयन गरी पार्टीमा विश्वास आर्जन गर्नुपर्दछ र एकताप्रति इमान्दार बन्नुपर्दछ।
४) पार्टीमा वर्गीय आचरण र संस्कृति निर्माणको प्रश्न
हुन त यो धेरै वृहत विषय हो। यद्यपि संसदीय परम्पराबाट आएको एउटा पंक्ति र केही समययता आएर त्यही परम्पराका लागि अभ्यस्त हुन खोजेको तर अझै भइनसकेको अर्को पंक्तिको बीचको पार्टी एकतालाई एकीकृत स्वरुप दिन केही समय लाग्न सक्छ। तर, एउटा कम्युनिष्ट पार्टीले आफ्ना सदस्यहरुलाई कसरी प्रशिक्षित गर्ने हो ? सधैंभरि बुर्जुवा संसदीय व्यवस्थाका पहरेदार बनाएर राख्ने हो या समाज र राजनीतिलाई निरन्तर अग्रगामी रुपान्तरण गर्ने अभियान्ता बनाउने हो ? आदी इत्यादी प्रश्नको उत्तर खोज्ने विषयसँग अबको पार्टी आचरण र संस्कृतिको विषयले स्थान पाउला र पाउनुपर्छ।
महाधिवेशन पूर्वसम्मका लागि पार्टीको आधिकारिक कार्यदिशा र कार्यनीति पार्टीको राजनीतिक प्रतिवेदन र विधानमा लिपिवद्ध गरिएको छ। विधान र प्रतिवेदन नै पार्टीको आधिकारिक दृष्टिकोण, लाइन र आचरण पनि हो। तसर्थ, प्रत्येक पार्टी सदस्यले विधान र प्रतिवेदनको गहिरो अध्ययन गर्न जरुरी छ। अर्को कुरा, कम्युनिष्ट पार्टीलाई यथास्थितिको रक्षाकवज बनाउने प्रयास मात्र गरियो र समाजको अग्रगामी रुपान्तरणको साधन बनाउने कुरालाई तपसिलको विषय बनाउन खोजियो भने पनि एकतालाई उद्देश्यकेन्द्रीत बनाउन सकिँदैन। आगामी दिनमा पार्टीले यसलाई पनि आफ्नो प्राथमिक एजेण्डा बनाओस, अस्तु।



लाेकपाटी न्यूज

