चितवन, २२ साउन। चितवनको माडी नगरपालिकाले विवाह, व्रतबन्ध, पूजाआजा लगायतका धार्मिक कार्य घरमै गर्नुपर्ने नियम लगाउने भएको छ। नगरसभाले गरेका निर्णय मंगलबार सार्वजनिक गर्दै नगर प्रमूख ठाकुर ढकालले अबका दिनमा आफ्नै घरमा बाहेक पार्टी प्यालेस लगायतका ठाउँमा विवाह, व्रतबन्ध लगायतका कार्य गर्न नपाउने बताए।
निर्णय कार्यान्वयनका लागि सम्पूर्ण नगरवासीलाई अपिल गरिने उनले जानकारी दिए। हुने खानेले विवाह, व्रतबन्ध, पूजाआजालगायतका शुभकार्यमा बढी दक्षिणा दिने र हुदाँ खानेले थोरै दक्षिणा दिने गर्दा समाजमा विभेद् निम्तिएको भन्दै नगरपालिकाले विभेद् अन्त्यका लागि यो निर्णय गरेको ढकालले बताए।कार्यपालिका बैठकले घरमा विवाह गर्दा खर्च कम हुने भएकाले घरमा नै गर्नुपर्ने प्रावधान अघि सारेको हो। यसले खर्चमा कटौती हुने र देखावटी गरिने खर्चको नियन्त्रणसँगै समाजमा हुने विभेद्लाई समेत केही मात्रामा रोक्न सहयोग पुग्ने नगरपालिकाको विश्वास रहेको प्रमूख ढकालले बताए।
उनका अनुसार पार्टी प्यालेसमा विवाह गर्नुपर्ने बाध्यता रहेमा त्यहाँ गरिने खर्चको केही रकम नगरपालिकालाई बुझाउनुपर्ने हुन्छ। सो रकमबाट नगरपालिकाले अभिभावक गुमाएका बालबालिकाका लागि खर्च गरिने उनले जानकारी दिए। अहिले नगरपालिकाले अभिभावक गुमाएका बालबालिकाका लागि आवास सञ्चालन गरिरहेको छ।नगरपालिकाले दक्षिणा स्वरुप दिइने पैसा निर्धारण गरेको छ। नगरपालिकाको ३५औँ कार्यपालिका बैठकले दक्षिणास्वरुप १सय १ रुपैयाँ कायम गरेको हो।



लाेकपाटी न्यूज

