–शिवजी तिवारी
काठमाडौं । सामान्यतः विवाह त्यस्तो प्रक्रिया हो, जसले अलग परिवारका दुई विपरीत लिङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्छ । र, यो सामाजिक, साँस्कृतिक तथा कानूनी रुपले मान्य हुन्छ । विवाहको परिणामस्वरुप महिला तथा पुरुषमा नयाँ दायित्वको सृजना हुने गर्दछ ।
विवाह पश्चात् महिला तथा पुरुष एक अर्काको आर्थिक वा सामाजिक कार्यमा सहभागी बन्नु, यौन सम्बन्धमा संलग्न हुनु तथा यौन ईच्छाको परिपूर्ति र यौन सन्तुष्टि प्राप्त गर्नु, सन्तान उत्पत्ति गर्नुका साथै तिनको लालनपालन एवं सामाजिकीकरण गर्नु जस्ता नयाँ दायित्व थपिन्छन् ।
हालको परिवेशमा रहेर आदर्श विश्लेषण गर्ने हो भने विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराई पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया हो । तथापि समाजको विकासक्रम सँगसँगै विवाहले निकै गहन समस्या र कुरीतिलाई अंगालो हालेर अगाडि बढेको देखिन्छ ।
पूर्वीय दर्शनलाई हेर्दा विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्रहरु उल्लेख गरिएका छन् । भन्नुको तात्पर्य के हो भने, वैवाहिक प्रथा त्यस बेलादेखि नै प्रचलनमा थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख गरिएको छ । प्राचिन कालमा भने विवाहको चलन थिएन ।
विवाहको चलनबारे मेरा हजुरबुबाले पुराणमा उल्लेख छ भन्दै एउटा रोचक कथा बताउनुभएको मलाई ख्याल छ । जसअनुसार ऋषि उद्दालक (अरु कुनै पनि हुनसक्छ) की पत्नीलाई कुनै बलियो व्यक्तिले जबर्जस्ती लैजान बल गर्यो । यो देखेर उद्दालकले कुनै प्रतिक्रिया जनाएनन् । उद्दालकको छोरालाई आफ्नी आमामाथि बलजफ्ती भएको मन परेन । उनले त्यसको प्रतिकार गरे । उद्दालकले छोरालाई भने, ‘नरोक, यो हाम्रो पहिलेदेखिकै सामाजिक परम्परा हो ।’ यस घटनाले उनलाई यति असर गर्याे कि पछि उनले जबरजस्ती अर्कालाई उठाउने व्यवस्था अन्त्य गरे ।
उनले एक पत्नी–एक पतिको व्यवस्थाको पैरवी गरे । त्यसपश्चात् आधिकारिक विवाहको सुरुवात गरेको अनुमान गर्न सकिन्छ । पश्चिमी विद्वान् फिसोन र टेलरका अनुसार विविध व्यापार र बन्दोबस्तीबाट अकूत सम्पत्ति जम्मा हुन थालेपछि निजीकरणको सुरुवात हुन थाल्यो । त्यसपछि औपचारिक रुपमा एउटा पुरुषले पत्नी राख्ने चलन विकसित भयो भन्ने छ । त्यसपछि विवाहको सुरुवात भएको अनुमान गर्न सकिन्छ ।
विवाह मानिसको जीवनमा घटित हुने एक महत्वपूर्ण प्रक्रिया भएको कारण सबै धर्मग्रन्थ, दर्शन तथा संस्कृति सबैतिर यसको विषयमा विशिष्ट र विवेकपूर्ण ढंगले उल्लेख गरेको पाइन्छ । नेपाली समाजको विश्लेषण गर्ने हो भने, विभिन्न किसिमका विवाह प्रचलनमा रहेको पाइन्छ । जस्तो कि मागी विवाह, प्रेम विवाह, भागी विवाह ,अनमेल विवाह, चोरी विवाह, गन्र्धव विवाह आदि इत्यादि । जे जस्ता किसिमका विवाह छन्, ती सबैमा आफ्नै गुण र अवगुण रहेको पाइन्छ ।
कम्युनिष्ट राजनीतिको नेपालमा प्रभाव सुरु भएसँगै एउटा नयाँ किसिमको विवाहको सुरुवात भएको पाइन्छ । त्यो हो जनवादी विवाह । विभिन्न कुरीतिलाई जरैदेखि उखेल्ने उद्देश्यले कम्युनिष्ट राजनीतिमा आस्था राख्ने नेता कार्यकर्ताहरुले यो विवाहलाई महत्वकासाथ अंगालेको इतिहास पाइन्छ । हिजो माओवादी जनयुद्धताका यो किसिमको विवाहलाई निकै महत्व दिने गरिएको थियो । तथापि, यो त्यहाँ भन्दा अगाडि पनि प्रचलनमा रहेको थियो ।
युद्धको समयमा दुई जना बिचको सहमतिमा शुभचिन्तकको सामुन्ने प्रतिबद्धता जाहेर गरेर सम्पन्न हुने विवाहले नेपाली समाजमा विवाह सम्बन्धि रहेका कुरीतिहरू जस्तै दाइजो प्रथा, ढोगी प्रथा (जुन प्रथामा महिलालाई पुरुषको अधिनमा रहनको निम्ति खुट्टाको जल खुवाउने, जुठो खुवाउने, पुरुषको परिवार पक्षका आफन्तको खुट्टामा ढोग गराउने प्रचलन छ), जातीय विभेद जस्ता विषयलाई समाधान गर्ने काममा योगदान पुर्याएको थियो ।
तर, जनयुद्धको समाप्तीसँगै स्वयम् माओवादीका नेताहरु नै पैसाको माला, दुबोको माला लगाएर, ठूला–ठूला भोजभतेरको आयोजना गरेर आफ्नो तथा आफन्तको विवाह गराउन थालेसँगै यो किसिमको विवाह करिब–करिब लोप हुने दिशामा छ । केही बर्ष अगाडि तत्कालीन माओवादी नेता तथा हालका नेकपा नेता टोपबहादुर रायमाझीले आफ्नो छोरोको विवाहमा पैसाको माला लगाएको विषयले खुब चर्चा पाएको थियो। हालसालै नेकपा अध्यक्ष प्रचण्डले आफ्नो विवाहको ५० औं बर्षगाँठ दुबोको माला लगाएर पन्चेबाजा बजाएर मनाएको विषय त ताजा नै छ । यो पछिल्लो घटनाले त कम्युनिष्ट राजनीतिमा रहेको थोरै आदर्श पनि च्युत भएको प्रष्ट्याएको छ ।
हिजो प्रचण्डपथ भन्दै आफ्नो आदर्श नेतृत्व मानेर सबै किसिमका कुरीति र कुसंस्कारलाई त्यागेर जनवादी विवाह गर्ने जोडीहरु आज क्रान्तिकारी नेताको विचलनको चित्र कसरी हेरिरहेका होलान् त्यो त फरक बहसको पाटो रहला । तर, अब पुनः जनवादी विवाह यो सामाजिक परिवेशमा स्वीकार्य होला या नहोला । त्यो विषयमा केही छलफल गर्नुपर्ने देखिन्छ ।
केही बर्ष अगाडि मैले कास्की जिल्लामा अनिरास्ववियू (क्रान्तिकारी) का कास्की अध्यक्ष कृष्ण दाहाल र कल्याणी अधिकारीको विवाहमा सहभागी हुने अवसर प्राप्त गरेको थिएँ। पूर्ण जनवादी विवाहको रुपामा आमन्त्रण गरेता पनि सामान्य भोज बाहेक अरु सबै मनन योग्य नै थियो ।
विस्तारै हराउँदै गएको आदर्शलाई अंगालेर समाजलाई उदाहरण प्रस्तुत गर्ने कृष्णराज दाहालको जोडी पश्चात् अहिले राजनीतिक वृत्तका पात्र तात्कालिन अनिरास्ववियू (क्रन्तिकारी) का सचिव नरेश रेग्मी र डा. क्षमता सुवेदीले गरेको विवाहको चर्चा छ। उनीहरुले यही जनवादी विवाहलाई प्रोत्साहन हुने किसिमको विवाह गरेका छन् । यसैगरी राजनीतिक व्यक्तिहरुले मात्रै भए पनि प्रगतिशिल विवाह गर्ने हो भने पनि समाज एक खुड्किलो अगाडि पक्कै बढ्ने छ । तर, विडम्बना निकै ठूला आदर्शका कुरा गर्ने नेता कार्यकर्ताहरु नै सबै कुरीतिलाई अंगालिरहेको पाइन्छ ।
आज हामी यस्ता भएका छाैं, विवाह जस्तो स्वच्छ सम्बन्धमा पनि आफ्नो तडकभडक देखाउँदै छौं । जुन दुनियाँकै सबैभन्दा लाजमर्दो संस्कार हो। इन्टरनेटमा गरगहना र दाइजो देखाउनकै निम्ति विवाह गरेजस्तो देखिनु निकै दुःखदायी अवस्था हो । मलाई बेला बेलामा यो कुराले घोचिरहन्छ कि हामी पढेलेखेका र बुझेकाहरु पनि किन यस्ता कुरीतिहरुको पछि दौडिरहेका छौं ? हामी यी कुराहरुलाई सामान्य रुपमा लिन्छौं वा परिवर्तन गर्ने साहस हामीमा छैन ? मेरो एउटा मनले यो पनि सोच्छ कि हामी पढेलेखेकाहरू कता कता विवाहमा पाउने दाइजोमा ल्याउने सम्पत्तिलाई इज्जत सम्झिरहेका त छैनौं ? यस्तो अवस्थामा के त्यो एक थान कागजले हाम्रो शिक्षाको परिचय दिन्छ त ?एक पटक छातिमा हात राखेर आफ्नो मनको सत्य कुरा सुनौँ त ।
हामी पढेलेखेकाहरू यो खराब र अपमानजनक परम्पराको बारेमा किन केही बोल्दैनौं र सिकाउँदैनौं ? छोरा र बुहारी समान हुन् भनेर बिना दाइजो सम्मानजनक रुपमा बुहारीलाई अंगालो मारेर भित्र्याउनु पर्छ भनेर अभियान संचालन गर्न किन सक्दैनाैं ?
इज्जतलाई धनसँग दाँज्ने गरिब मानसिकता हामीले जबसम्म त्याग्न सक्दैनौं तबसम्म परिवर्तन असम्भव छ। इज्जत पैसामा होइन व्यवहारमा हुन्छ भन्ने कुरा सोच्न सक्नुपर्छ। हामीलाई क्षणिक रवाफभन्दा सुखी र खुशी घर एवं समाज चाहिएको छ। जातभात, दाइजो होइन असल र कर्तव्यपरायण जोडी चाहिएको छ।
घर त्यो हो जहाँ एक आपसमा आदर, सम्मान, माया, प्रेम र कर्तव्य जीवित रहेको हुन्छ भन्ने भाव सबैमा जगाउन आवश्यक छ। दाइजो प्रथाले आज छोरीलाई गर्भमा नै हत्या गर्न बाध्य बनाइएको छ ।
अब हामी यस्ता कुरीतिहरुमा अल्झिनु हुँदैन। विवाह मण्डपदेखि नै महिलालाई गिराउने यस्ता अपमानजनक संस्कृतिको विरोध गरी सम्मानजनक रुपबाट नयाँ सदस्यलाई घरमा प्रवेश गराएर परिवर्तनको सम्वाहक बन्न सक्नु आजका पुरुष युवाहरुको दायित्व हो । यसलाई सहयोग गर्नु समाजको कर्तव्य हो।
त्यसैले आगामी दिनमा जनवादी अर्थात् प्रगतिशील विवाहलाई सरकार र सरोकारवालाले हौसला प्रदान गरुन् साथै विवाहमा हुने कुरीतिलाई जरैदेखि निर्मुल पार्न सबै सरोकारवाला लागुन् । सबैमा शुभकामना ।।



लाेकपाटी न्यूज

