–वि.वि. श्रेष्ठ
समाजमा जनतासँग प्रत्यक्ष सरोकार र घनिभूत सम्बन्धका साथमा सूरक्षाको प्रत्याभूति दिलाउने मुख्य अभिभारा दायित्व बोकेको प्रहरीसँग जनताको आशा र अपेक्षा के भन्ने कुरा प्रश्न चिन्ह खडा भएको छ ।
जिम्मेवारी दायित्व वहनबाट जनताको मन जित्न भन्दा पनि जनताको नजरमा गिरेको प्रहरी दिनप्रतिदिन दुषित र कलंकित हुदै गईरहेको छ । जनताको सूरक्षा भन्दा पनि कानून देखाएर आफू अनुकुलतामा रम्न बानी परेका प्रहरीहरुको यही रवैया रहिरहेमा भोेलिका दिनमा थप प्रहरी प्रशासन के लागी भन्ने कुरा चर्को विषय बन्ने छ ।
सरकारको मुख्य सूरक्षा अंगका रुपमा स्थापित भएको प्रहरी प्रशासन र त्यस मातहत रहने अन्य सूरक्षा निकायहरु आफनो जिम्मेवारी वहन भन्दा पनि कमाउ धन्दामा लिप्त रहेको पाइन्छ । सूरक्षाको जिम्मेवारी बोकेको प्रहरीप्रति नै आम सर्वसाधारण असूरक्षित रहेको विभिन्न कालखण्डले पनि प्रमाणित गरिसकेको छ । जनताको जीउ धनको रक्षा गर्ने मुख्य भूमिका रहेको प्रहरीबाट दिनहुँ अपराधिका र संगठित घटनाहरु भएको कसैसँग लुकेको छैन । जनताहरु अहिले आपराधिक जत्था होइन प्रहरीबाट नै असूरक्षित बनेका छन् । जनताले तिरेको करबाट जीवनयापन गरेका सूरक्षा निकायबाट नै जनताहरु प्रताडित बनिनुपर्ने यो भन्दा अन्याय अन्य हुन सक्दैन । त्यसमाथि पनि समाजमा घट्ने चोरीको घटनामा समेत प्रहरीकै संलग्नताले पनि झन जनताहरु पीडित बनिरहेका छन् । आफूलाई मन नपरेको कुरामा विभिन्न ऐन नियम बनाएर सिधा–साधा जनतालाई दुःख दिने प्रहरीहरु चोर, अपराधी, डाकासँग भने हात मिलाएर बसेका हुन्छन् । जसले गर्दा समाजमा प्रहरी, ट्राफिक प्रहरीलाई जनताले हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गइरहेको छ ।
हत्या, हिंसा र दुर्घटनाका विषयमा प्रत्यक्ष सरोकार राख्ने ट्राफिक र प्रहरीहरु मानवता भन्दा पनि कमाउ धन्दामा लिप्त रहेको पाइन्छ । दुर्घटना हुदाँ घाइतेको उद्धार भन्दा पनि घाइतेसँग भएको सामनमा वक्रदृष्टि राख्ने गरेको पाइन्छ । जसरी पनि कमाउ धन्दामा लाग्ने प्रहरी आफू अनुकुल नभएमा दुःख दिने प्रवृतिले आम जनतामा आक्रोश बढेको पाइन्छ । समदुरीमा राखेर जनतासँग सम्बन्ध राख्नुपर्नेमा बर्दिका आडमा गुण्डागर्दीमा संलग्न भएको पाइन्छ । राजनैतिक पहुँचका लागि कालोलाई सेतो र सेतोलाई कालो बनाउन माहिर प्रहरी नै यो समाजको मुख्य कलंक हुन् । जसले जनतालाई सूरक्षा हैन, दम्भ, डर र त्रास देखाउँछ ।
मानवीय शून्यता भएको परिचय बोकेको नै प्रहरी हो । दुर्घटनामा घाइते जीवन मरणको दोसाँधमा उभिरहँदा रिपोर्टका नाममा समय व्यतित गरिरहँदा मृत्युवरण गरेका घटना हाम्रा सामु बग्रेल्ती भेटिन्छन् । चेकजाँचका नाममा सर्वसाधारणलाई दुःख दिने, तर चुल्ठे, मुन्द्रे र आपराधिक कार्यमा संलग्नसँग मित लगाउने ट्राफिक प्रहरीको यही रवैयाले कुनै घटना घटिहालेमा प्रहरीमाथि नै निशाना साँध्ने र आक्रमण गर्ने कारक तत्वहरु हुन् । ठेक्का पट्टा होस् वा अन्य कुनै कारोवारमा जहाँ प्रहरीको अस्वस्थ संलग्नता नभएका ठाँउ नै हुँदैन । ठूला–ठूला अपराधीलाई साथ दिने होस् वा बलत्कारको विषयमा प्रहरीको नै संलग्नता र ढाकछोपको पटाक्षेप ३३ केजी सुन होस् वा निर्मला हत्याकाण्ड, जहाँ पनि प्रहरीको साथ र सहयोग बिना असम्भव रहेको पुष्टि हुन्छ । देशका दुर दराजमा भएको विभिन्न अपराधिक लगायत अन्य कार्यमा प्रहरीको संलग्नताले पनि प्रहरीको काम कर्तव्य र भूमिका के भन्ने कुरामा शंका उत्पन्न भएको छ ।
जनताका सहयोगी वनेर समाजमा सूरक्षा प्रदान गर्ने प्रहरीको भूमिकाले आम जनतामा प्रहरीप्रति नै नकारात्मक आक्रोश पैदा गरेको छ । सवारी साधन चेकजाँचका नाममा गरिने प्रहरी ज्यादतीले झन् जनतामा थप आक्रोश पैदा गरेको छ । सवारी साधन चेकजाँचका क्रममा घुस दिएमा कागजात नचाहिने तर घुस नदिएमा सर्वसाधारण जनतालाई दिइने जरिवाना र गरिने व्यवहार असहिष्णु रहेको पाइन्छ । नियम कानूनका नाममा जनतालाई दुःख दिने यही रवैया रहिरहने हो भने जनता जाग्नु को विकल्प छैन । कमाउ धन्दामा लिप्त भएर जनताका नजरमा नाङ्गिनु अगाडि आफनो काम, कर्तव्य र अधिकारको बारेमा सोच्ने कि ?
सत्यम्, शिवम् सुरक्षणम् को नारा फगत देखाउने नारा बनेको छ । शक्ति केन्द्रित सूरक्षा निकायको यो भूमिका साँच्चै नै आम जनताको हितमा छैन । कमाउनमा लिप्त बनेका ट्राफिक प्रहरी लगायत अन्य निकायहरु समाजमा चोर पक्रन भन्दा आफैं चोर्न, ठग्न र कमाउनमा लिप्त बनेको छ । प्रहरीको साथी जनता हैन चोर, फटाहा र डाका बनेको छ । वर्दिवाला चोर आफैंमा पनि सह्य हुँदैन ।
प्रहरी नै चोर, डाका, भ्रष्टाचारी, अपराधी भइसकेपछि समाजमा अर्को अपराधिक जत्थाको आवश्यक नै पर्दैन । बर्दिको आडमा गरिने कूकर्म नेपाल आमाका लागि कदापी सह्य हुन सक्दैन । पेशाप्रतिको इमान्दारिता नै नभएपछिका व्यवहार र कर्म आफैंमा सत्कर्म होइन । प्रहरी नै चोर, ठग र फटाहा भएपछि देश कहाँ पुग्ला ? गम्भिर प्रश्न चिन्ह खडा भएको छ ।
बक्स १
सवारी साधन चेकजाँचका क्रममा घुस दिएमा कागजात नचाहिने तर घुस नदिएमा सर्वसाधारण जनतालाई दिइने जरिवाना र गरिने व्यवहार असहिष्णु रहेको पाइन्छ । मन नपरेमा नियम कानूनका नाममा जनतालाई दुःख दिने यही रवैया रहिरहने हो भने जनता जाग्नुको विकल्प छैन । कमाउ धन्दामा लिप्त भएर जनताका नजरमा नाङ्गिनु अगाडि आफनो काम, कर्तव्य र अधिकारको बारेमा सोच्ने कि ?
बक्स २
कमाउनमा लिप्त वनेका ट्राफिक प्रहरी लगायत अन्य निकायहरु समाजमा चोर पक्रन भन्दा आफैं चोर्न, ठग्न र कमाउनमा लिप्त बनेको छ । प्रहरीको साथी जनता हैन चोर, फटाहा र डाका बनेको छ । बर्दिवाला चोर आफैंमा पनि सह्य हुँदैन । प्रहरी नै चोर, डाका, भ्रष्टाचारी, र अपराधी भइसकेपछि समाजमा अर्को अपराधिक जत्थाको आवश्यक नै पर्दैन ।



लाेकपाटी न्यूज

