आमाको हत्या गर्ने छोरीसहित ४ जनालाई थुनामा राख्न अदालतको आदेश

लाेकपाटी न्यूज

भक्तपुर, १४ साउन । जिल्ला अदालत भक्तपुरले प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीसहितका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

मंगलबार न्यायाधीश डाक्टर श्रीप्रकाश उप्रेतीको एकल ईजलासले छोरी र उक्त हत्या संग्लन रहेका अन्य तीन आरोपीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालतका तहसीलदार तथा सूचना अधिकारी सदन अधिकारीले जानकारी दिएका छन् ।

भक्तपुरको चाँगुनारायण ७ मा गत असार १५ गते आफ्नै छोरीले प्रेमीसँग मिलेर आमा सावित्रा भट्टराईकाे हत्या गरेकी थिइन् । प्रहरीले हत्याको विषयमा अनुसन्धान गर्दा हत्यामा छोरीकै संलग्नता रहेको भन्दै छोरी ईश्वरी, सिरहाका मोहम्मद नौशाद, भारतीय नागरिक अर्जुनकुमार भनिने भोलाकुमार र मोहमद रइसलाई पक्राउ गरेको थियो ।

उनले १२ लाख रुपैयाँमा सुपारी दिएर आमाको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको छ ।  प्रहरीका अनुसार प्रेमीसँग मिलेर उनले आमाको हत्या गर्न भारतीय कन्ट्राक्ट किलर (भाडाका अपराधी) भाडामा प्रयोग गरिएको पाइएको छ ।

छोरीको प्रेम सम्बन्धका बारेमा आमालाई थाहा भएकै कारण उनको हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्