काठमाडौं, १२ साउन । आज आइतबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सरेको छ। बैठक भोलि (सोमबार) दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ ट्वीटरमार्फत जानकारी दिए।
यसअघि आज दिउँसो सचिवालय बैठक बसेर पार्टीका विभागहरू र जनवर्गीय संगठनका इन्चार्ज र सह-इन्चार्ज टुंगो लगाउने नेकपाले जनाएको थियो।
‘तर बालुवाटारबाट प्रधानमन्त्रीज्यू बिरामी परेको र दुई अध्यक्षबीचको गृहकार्य नसकिएको भन्दै बैठक स्थगित भएको खबर आयो,’एक सचिवालय सदस्यले भने। सचिवालय सदस्यलाई बैठक स्थगितको खबर पठाउनुअघि आज बिहान ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो।
स्कूल विभाग प्रमूखका विषयमा उनीहरूबीच सहमति नभएपछि बैठक स्थगित भएको खबर पठाएका हुन्। नेकपाका महत्वपूर्ण विभागहरूमध्ये विदेश, संगठन, अर्थ तथा योजना र नीति तथा प्रतिष्ठान विभाग आफ्नो भागमा लिइसकेको पूर्वएमाले पक्षले स्कूल विभाग पनि आफूहरूले नै राख्नुपर्ने अडान छोडेको छैन।
पार्टी समिकरणमा सबै महत्वपूर्ण विभाग पूर्वएमालेका नेतालाई मात्रै हुन नहुने तर्क पूर्वमाओवादी केन्द्र पक्षको छ। पार्टी स्कूल विभाग प्रमूखमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दाबी गरिरहेका छन्।
नेकपाका नीति तथा प्रतिष्ठानसहित ३३ मध्ये ३२ वटा विभागको भागबन्डा मिलिसकेको छ। स्कूल विभागको नेतृत्वमै नेताहरूबीच सहमति नभएपछि यसअघि डाकिएका दुइ वटा सचिवालय बैठक स्थगित भएका थिए।



लाेकपाटी न्यूज

