– दिपक थापा
गीतको एल्वम चराहरुको भइसकेछ
ओ ! आस्याङ…
तिमी प्रीतको कुरा गर
बाटोहरु हिँड्नकै लागि हो
माटोहरु जिउनकै लागि हो
फूल फुलेर पनि फूल हुँदैन
परिभाषित जिन्दगी आफ्नै आगमनदेखि कहिल्यै डराउँदैन
पैतालाका डोवहरुमा मुस्कुराउनुपर्छ जिन्दगी जसरी मैतालु फर्काउँदै गरेकी नव दुलहीको सिउँदो उन्मुक्त भएर मुस्कुराउँछ
अब तिमीलाई अथवा मलाई
पूर्ण हक छ जिन्दगीको, आउ गन्तव्यको रुपरेखा कोरौं
साहस छ जिन्दगीको
गोरेटो पनि मुस्कुराउँछ
नदी र खोलाहरुले
गर्दैन अपमान कसैलाई
किनकी पुग्नु छ भोलि विहानै आफ्नै सयन कक्षमा
र भन्नुछ आफैंलाई
भन्नु छैन अरुलाई
मरेर बाँचेको समय
बाँचेर मरेको समय
बरु
बैशाखीमा टेकेर पनि टुकुटुकु हिँडिरहनुछ
समयभन्दा अघि
समयभन्दा पछि
लगाम जिन्दगीको राख्नु छैन बन्दगी र भन्नु छैन भाग्यको खेल हो जिन्दगी
हो आस्याङ
बग्नुको पनि आफ्नै सौन्दर्यशास्त्र छ
अटल रहनुको पनि आफ्नै महत्व छ
मलाई तिमीले
तिमीलाई मैले
बुझेर भनौं वा नबुझेर
आफू बाँचेको समयसँग लुकामारी गराउन खोजें होला
गन्तव्य हरायो भने हामी हराउँछौ भनें होला
सपना पछ्याइरहन्छु भनेर बालहठ पनि तिम्रो सामु पोखिदिएँ होला
अनुमान गर्न बाँकी छ धेरै
महसुस गर्नु त छँदैछ आफुलाई
प्रतीक्षा गरौं
किनकी तिमी र म
जिवनको एकलव्यमा
आफ्नो लागि कम र अरुको लागि बढी बाच्नुपर्छ !!!
दिपक थापा
अरुण गाउँपालिका–७, भोजपुर ।



लाेकपाटी न्यूज

