– दिनेश भुसाल
सामाजिक सम्बन्ध नामको
जञ्जिरमा फसाएर
मेरो स्वतन्त्रतामाथि कुठाराघात गर्दै
मेरो प्राकृतिक अधिकारलाई कुण्ठित पारिएको
जब म आफैं महसुस गर्छु,
गन्तव्यहीन यात्रामा
अनवरत रूपमा सयल गर्ने
मेरो चाहनामाथि
सामाजिक धर्म नामको गाँठो
मेरो घाँटीमा झुन्डाइएको
जब म देख्छु,
लाग्छ,
मेरो आजात खोसिएको छ,
स्वतन्त्रता लुटिएको छ,
संसार छिनिएको छ ।
तर अब
मेरो आफ्नो दुनियाँ, गन्तव्य
समाज, प्रकृति, संस्कृति
आफैं बनाउने दृढ संकल्पका साथ
मेरो स्वतन्त्रता छिन्ने संसारबाट
अलग्गै बाँच्ने हिम्मत
म आफैंभित्र खोज्दै छु,
मेरो भरोसामा जीवन काट्नेहरु
मेरो लठ्ठी समातेर उभिनेहरु
मेरो गीतमा नाच्नेहरु
मेरो जञ्जिरबाट छुटेका छौ,
सब यो गर्नु छ तिमीहरु आफैं
एक्लै जन्मेको हो सबै
जाने पनि एक्लै हो,
त्यसैले
आफ्नै सहाराले बाँच्न सिक ,
सम्बन्ध, साथ, सहयोग
परिवार, माया, तिम्रो मेरो
यो सब बनावटी नाटक जस्तै हो,
र हामी सबै नाटकका पात्र मात्रै हाैं …!!



लाेकपाटी न्यूज

