भोजपुर, ११ साउन । भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७ सिक्रेटारस्थित सडकमा १५ दिन देखि लगातार आएकाे भारी बर्षाले ठुलो क्षति पुगेकाे छ । सिक्रेटार वडा कार्यालयबाट अरुण गा.पा. ५ जाेड्ने करिब ८ कि.मिकाे सडकमा पहिराेले गम्भीर क्षति पुर्याएकाे हाे ।
मानव आवतजावत गर्ने वैकल्पिक बाटाे समेत नभएकाले सर्वसाधरणहरु जाेखिमपूर्ण यात्रा गर्न बाध्य भएको कुरा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भाेजपुर जिल्ला कमिटी सदस्य समेत रहेका स्थानीय समाजसेवी कुमार थापाले जानकारी दिएका छन् ।
उनले भने, ‘स्कुले बालबालिकाकाहरु निरन्तर विद्यालय आउने–जाने बाटाे समेत पहिराेका कारण बन्द भएकाले विद्यार्थीहरुले सास्ती भाेग्दै आएका छन् । यस्काे चाँडाे समाधान खाेज्न स्थानीय बासिन्दाले वडा र गा.पा.कार्यालयमा यसअघि नै पटक पटक आग्रह गरिसकेका छन् । यद्यपि उचित सम्बाेधन भने भएकाे छैन ।’ पहिराेका कारण परेकाे समस्याकाे समाधानका लागि स्थानीयले पहल गरे पनि गाउँपालिका कार्यालयले खासै चासाे नदिएकाे उनकाे भनाइ छ ।
उक्त समस्याकाे समाधान वडाकाे एक्लो प्रयासले मात्र गर्न नसकिने भन्दै गाउँपालिका कार्यालयलाई निरन्तर गुहार मागिरहेको तर उचित सम्बाेधन गर्न आलटाल गरिरहेकाे वडा कार्यालयले जनाएकाे छ । थापाले भने, ‘यस्तो गम्भिर समस्याप्रति गाउँपालिकाले चासाे नदिनु भनेकाे निकै दु:खद र निन्दनीय कुरा हाे ।
आर्थिक वर्ष २०७६/०७७ काे पूँजिगत बजेट करिब ८ कराेड रुपैंया गा.पा.अध्यक्ष , उपाध्यक्षले आफूखुसी वितरण गरेकाे बताउँदै उनले ७ नं वडामा उक्त बजेटबाट एकै रुपैयाँ पनि सम्बाेधन नगरिनु आपत्तिजनक कुरा भएकाे बताए । उनले भने, ‘गाउँपालिकाकाे याे असमान वितरण प्रणाली आपत्तिजनक छ । यस्तो विभेदपूर्ण व्यवहारकाे घाेर विराेध गर्दछु।’
उनले गाउँपालिकाले विभेदपूर्ण बजेट वितरण गरेर सिक्रेटारबासीलाई दाेस्राे दर्जाको नागरिकको रुपमा व्यवहार गरिरहेकाे आराेप लागाए । उनले भने, ‘गाउँपालिकाले हामी ७ नम्बर वडाका बासिन्दालाई दाेस्राे दर्जाकाे नागरिकाकाे रुपमा व्यवहार गरिरहेकाे छ । साथै अन्य वडाहरुमा पनि आफूइतर पार्टीका जनतालाई समेत बिल्कुल फरक दृष्टिकोणले हेरिरहेकाले यस्तो गम्भिर गल्ती नगर्न आग्रह गर्दछु।’
उनले साेझा जनताको जीवनमाथि खेलबाड गर्न नहुने भन्दै जनताको जल्दाबल्दा समस्याहरुलाई बिना सर्त चाँडाेभन्दा चाँडाे समाधान गर्न गाउँपालिकासँग जाेडदार माग गरेका छन् ।
भाेजपुरकाे अरुण गाउँपालिकामा रहेका ७ वडामध्ये स्थानीय तहकाे निर्वाचनमा वडा नम्बर ७ मा तात्कालीन माओवादीले जितेकाे भने अन्य वडामा कांग्रेसले जितेकाे थियाे । गाउँपालिकाभित्र परेका विपद तथा समस्याकाे समाधानमा गाउँपालिकाले राजनीतिक हिसाबले नभई समान रुपमा वयवहार गर्नुपर्ने स्थानीय समाजसेवी थापाकाे भनाइ छ ।



लाेकपाटी न्यूज

