नेकपामा कसरी हुँदैछ कार्यविभाजनको गृहकार्य ?

Nekapa sansadiya dal
लाेकपाटी न्यूज

काठमाडौं, ८ साउन। नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ। आजका लागि बोलाइएको बैठक आन्तरिक तयारी नपुगेको नेकपाले जनाएको छ।

गृहकार्य बाँकी रहेको भन्दै स्थगित गरिएको नेकपाको सचिवालयले जनाएको छ।नेताहरुको जिम्मेवारी बाँडफाँडका विषयमा छलफल गर्न भोलि (बिहीबार) नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बोलाइएको छ।

आइतबार बसेको बैठकले एकता प्रक्रिया टुंगो लगाएको थियो। बिहीबार बस्ने बैठकले विभिन्न ३२ वटा विभाग, तीन आयोग र एक सल्लाहकार समितिको जिम्मेवारी बाँडफाँड गर्ने कार्यसूचि तय भएको छ।

बिहीबारको बैठकमा गम्भीर रुपमा छलफल हुने बताउँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बाहिर चर्चा भएजस्तो जिम्मेवारीका विषयमा आधिकारिक निर्णय हुन बाँकी रहेको बताए।

उनले भने, ‘करिव–करिव एकता प्रक्रियाका सबै कुरा टुंगोमा पुगिसकेका छन्। जिम्मेवारी पनि अन्तिम अन्तिमतिर पुगेको छ। भोलिको बैठकबाट आवश्यक निर्णय लिइन्छ। जिम्मेवारी बाँडफाँडका विषयमा भने बाहिर चलेको हल्लाजस्तो अवस्था छैन। भोलिको निर्णय नै अन्तिम हुनेछ।’

जिम्मेवारी बाँडफाँडका विषयमा अहिले पनि नेताहरु आन्तरिक गृहकार्यमा छन्। अनौपचारिक रुपमा कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा छलफल जारी रहेको नेकपाले जनाएको छ।