काठमाडौं, ६ साउन। राष्ट्र बैंकले सोमबार र मंगलबारका लागि सञ्चालक समिति बैठक बोलाएको छ। बैठकमा चालु आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल हुने छ।
सञ्चालक समितिका एक सदस्यका अनुसार दुवै दिनको बैठकमा मौद्रिक नीतिमा समावेश भएका विषयमाथि छलफल हुने छ। विभिन्न क्षेत्रको सुझाव संकलनपछि तयार पारिएको मौद्रिक नीतिमाथि राष्ट्र बैंकले सञ्चालक समितिमा छफल गर्न लागेको हो।
‘अहिलेसम्म मौद्रिक नीतिको विषयवस्तुमाथि छलफल भएको छैन, आज र भोलि बस्ने बैठकले सम्भवतः त्यसलाई अन्तिम रुप दिनेछ,’ सञ्चालक समितिका ती सदस्यले भने, ‘बढीमा तीनदेखि चार दिनसम्म छलफल गरेर यसै साता सार्वजनिक गर्ने तयारीमा हामी छौँ।’
सञ्चालक समिति बैठकमा मौद्रिक नीतिमा समावेश हुने विषयवस्तुमाथि सोमबारबाट छलफल हुन लागेको राष्ट्र बैंक सञ्चालक समिति सदस्यसमेत रहेका अर्थसचिव डा राजन खनालले बताए। ‘विभिन्न क्षेत्रबाट संकलित सुझाव र बजेटमा समावेश भएका नीतिगत व्यवस्थालाई समेत मध्यनजर गरेर मौद्रिक नीतिको तयारी गरिएको छ, यसमा अब सञ्चालक समितिमा विस्तृत छलफल हुनेछ,’ उनले भने।
सरकारले चालु आर्थिक वर्षका लागि विस्तारकारी बजेट ल्याएकाले त्यसैलाई सहयोग हुने गरी मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकको छ। सरकारले चालु वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धि गर्ने र मुद्रास्फिति ६ प्रतिशतमा कायम गर्ने लक्ष्यसहितको बजेट ल्याएको छ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाको लगानीलाई प्राथमिकता प्राप्त क्षेत्रमा विस्तार गर्ने गरी मौद्रिक नीतिले नीतिगत व्यवस्था गर्ने राष्ट्र बैंकको तयारी छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको स्वेच्छिक ‘मर्जर’का लागि केही व्यवस्था मौद्रिक नीतिमार्फत् गर्ने अपेक्षा गरिएको छ।



लाेकपाटी न्यूज

