काठमाडौँ, २ साउन । गृह मन्त्रालयले केही दिन अघिको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा परेर ९० जनाको मृत्यु भएको जनाएको छ । मन्त्रायलका अनुसार बिहीबार बिहानसम्म अझै २९ जना बेपत्ता छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान सुरक्षा अधिकारीहरूले गरेका छन् ।
अहिलेसम्म सबैभन्दा धेरै रौतहटमा १० जनाको तथा ललितपुर र सिराहा जिल्लामा छ-छ जनाको मृत्यु भएको छ । सरकारका अनुसार ४१ घाइतेमध्ये ११ जनाको उपचार भइरहेको छ । बिस्तारै पानीको सतह कम हुन थालेपछि अस्थायी रूपमा विस्थापितहरू घर फर्किन थालेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।
बाढीबाट प्रभावित विभिन्न जिल्लामा हजारौँ मानिसहरू अस्थायी रूपमा विस्थापित भएका छन् । तराईका सिरहा, सर्लाही, बारा, मोरङ, रौतहट र पर्सा जिल्लामा गरेर झन्डै १२ हजार परिवारले आफ्नो घर छोड्नुपरेको छ । यता डोल्पामा पनि चार घर विस्थापित भएका छन्।
गृह मन्त्रालयको तथ्याङ्कमा सिरहामा सर्वाधिक ५,०००; सर्लाहीमा २,४००; बारामा १,६६५; मोरङमा १,५३९ तथा पर्सामा १२० घरपरिवार विस्थापित भएको देखिएको छ । सरकारले बाढीबाट प्रभावितहरुलाई एकद्वारबाट राहत वितरणका कार्य गरिएको बताएको छ।
त्रिपाल, खाद्यान्न, औषधि आदि अत्यावश्यक सामग्री स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, निजी क्षेत्र, रेडक्रस तथा मानवीय सहायतका क्षेत्रमा काम गर्ने सङ्घ, संस्था एवं व्यक्तिले उपलब्ध गराइरहेको गृह मन्त्रालयले जनाएको छ ।


लाेकपाटी न्यूज