नेपाल प्रहरी र त्रिविबीच समझदारीपत्रमा हस्ताक्षर, के छ समझदारीपत्रमा ?

police and tu
लाेकपाटी न्यूज

काठमाडौं, १ साउन । नेपाल प्रहरी र त्रिभुवन विश्‍वविद्यालयबीच समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप संस्थागत साझेदारी निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच त्रिभुवन विश्‍वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थराज खनियाँ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । उनीहरुले समझदारीपत्रमा हस्ताक्षर गर्नका साथै समझदारीपत्र आदानप्रदान समेत गरेका छन् ।

सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना फैलाउँदै अपराध रोकथाम गर्न, सुरक्षा व्यवस्थापनमा जनसहयोग र समग्रमा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न प्राज्ञिक क्षेत्रको विज्ञता र महत्त्वपूर्ण भूमिकालाई मनन गर्दै तथा प्राज्ञिक गतिविधिहरूको निर्बाध सञ्चालनमा प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न, सुरक्षा सचेतना अभिवृद्धि गर्न र नेपाल प्रहरीमा निहित सुरक्षा सम्बन्धी विज्ञताको प्राज्ञिक क्षेत्रमा उपयोग गर्ने सम्बन्धमा नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच “समुदाय–प्रहरी साझेदारी” अवधारणा अनुरूप संस्थागत साझेदारीको निर्माण एवं कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

समझदारीपत्रमा अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग, पाठ्यक्रम विकास, अध्ययन अनुसन्धान, सूचनाको आदान प्रदान, श्रोत व्यक्ति तथा स्वयंसेवक सम्बन्धी व्यवस्था, सुरक्षा सचेतना अभिवृद्धि, प्रकाशन, क्षमता अभिवृद्धि, सूचना प्रविधिको विकास, व्यवहारिक अभ्यास, इन्टर्नसिप, विद्युतीय पुस्तकालय, सुरक्षित विश्वविद्यालयको अवधारणा, भ्रमणको आदानप्रदान र साझेदारी कार्यान्वयनको लागि सम्पर्क विन्दु लगायतका विषय समेटिएका छन् ।

उक्त अवसरमा त्रिभुवन विश्‍वविद्यालयका उपकुलपति प्रा. डा. खनियाँले सम्झौतापत्रका विषयवस्तु ज्यादै महत्वपूर्ण रहेको चर्चा गर्दै नेपाल प्रहरीले गर्ने सेवामा विश्‍वविद्यालयकोतर्फबाट गर्नुपर्ने योगदान दिन विश्‍वविद्यालय तयार रहेको बताए। आपसी सहकार्यबाट समाजलाई दिने सेवालाई उत्पादनमूलक र मूल्यवान बनाउन सकिने भएकाले समझदारीको प्रभावकारी एवं शीघ्र कार्यान्वयनको लागि समझदारीका विषयवस्तुलाई प्राथमिकता तोकेर लक्षित टीम बनाई काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

विश्‍वविद्यालयले लामो समयदेखि अन्तर्राष्ट्रिय रुपमा सहकार्यको संस्कृति अगाडि बढाएको भए पनि राष्ट्रिय रुपमा नेपाल प्रहरीसँग नै पहिलो समझदारी भएको उल्लेख गर्दै उपकुलपति प्रा.डा. खनियाँले अबका दिनमा कामबाटै एकअर्कालाई योगदान गर्ने नयाँ अवस्थाको थालनीसँगै थुप्रै कुरामा मिलेर जान सकिने बताए।

त्रिभुवन विश्‍वविद्यालयका विद्यार्थीहरुले नेपाल प्रहरी मार्फत योगदान पुर्‍याइरहेको चर्चा गर्दै त्रिभुवन विश्‍वविद्यालयको अध्यापन गुणस्तरीय हुँदा सो बाट नेपाल प्रहरीका अधिकृतहरुको सेवा प्रवाह समेत गुणस्तरीय हुन सहयोग पुग्ने उनले बताए । यस साझेदारीको माध्यमबाट हुने विचार, अनुभव र विज्ञताको आदानप्रदानबाट व्यावसायिक कार्यसम्पादन अभिवृद्धि गर्न सहयोग पुग्ने समेत उनले प्रष्ट पारे ।

समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समझदारीपत्रमा हस्ताक्षर महत्वपूर्ण भएकाले उपलब्धीपूर्ण हुने विश्‍वास व्यक्त गरे । मर्यादित मानिने सुरक्षा निकाय र अध्ययन अध्यापन क्षेत्रसँगको सहकार्यलाई नियमित रुपमा अगाडि बढाउँदै थप उपलब्धीमुलक बनाउन तत्कालै समझदारी कार्यान्वयन गर्न अगाडि बढ्ने प्रतिबद्धता खनालले व्यक्त गरे।

उक्क समझदारीबाट साझेदारीमा नविन आयाम थपिएकोले आफूलाई गर्व महसुस भएको उल्लेख गर्दै महानिरीक्षक खनालले प्रहरीको बहुआयामिक कार्यक्षेत्रमा बृहत दृष्टिकोण निर्माणको लागि प्राज्ञिक क्षेत्रको विज्ञता उपयोग गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए। विश्‍वविद्यालयसँगको सहकार्यले सामाजिक सांस्कृतिक पक्षहरुसँग जोडिएका अपराधका विविध पक्षहरुको सम्बन्धमा गहिरो सोध एवं अनुसन्धान गरी निदानका उपायहरुको खोजि गर्न सहयोग पुग्ने विश्‍वास उनले दिलाए ।

अहिलेका दिनमा अध्ययन परिष्कृत हुँदै अनुसन्धानमुखी भएकाले संगठन मजबुत, सबल र समयसापेक्ष बनाउन सहयोग मिलेको उनले उल्लेख गरे । उच्च अध्ययनको साथै यूएन समेत अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका र समाजको गहिराई बुझेर काम गर्ने प्रहरी अधिकृतहरुको कामले नेपाल प्रहरीको छवि उच्च बनाएको उनले चर्चा गरे।

मानव अधिकारको संरक्षण गर्दै सुरक्षित समाज र समृद्ध राष्ट्र बनाउन नेपाल प्रहरी समुदायसँग मिलेर काम गर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, “संगठनको बुझाई, दृष्टिकोण र कार्यशैली नागरिक केन्द्रीत छ ।” सूचना प्रविधिको कारण अपराधको सिमाना नहुने अवस्थामा बाहिर के भइरहेको छ भन्ने बुझेर नीति योजना बनाउन सके समयले माग गरेको काम गर्न सकिने भएकोले यसतर्फ प्रहरी उन्मुख भइरहेको उनले बताए।

प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले समझदारीपत्रको मस्यौदा प्रस्तुतीकरण गरेकाे उक्त समारोहमा त्रिभुवन विश्‍वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेती, प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राई, उक्त विश्‍वविद्यालयका विभिन्न विभागका प्रमूखहरु, प्रहरी प्रधान कार्यालयस्थित विभिन्न निर्देशनालयका प्रमूखहरु समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्