काठमाडौं, १ साउन। आदिवासी जनजातिले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले आह्वान गरेको विज्ञापन रद्द गर्न माग गर्दै उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
आयोगले ५ सय २१ स्थानीय तहमा कर्मचारी भर्ना गर्न ९ हजार ४ सय ६१ कर्मचारीको माग गर्दै सो विज्ञापन खुलाइएको हो। आयोगले संविधानको मर्म विपरीत समावेशी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै उनीहरुले आरक्षण बचाऔं आन्दोलनमार्फत सो प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गरेका छन्।
सो प्रदर्शनीमा आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अल्पसंख्यक, पिछडिएको क्षेत्र र अपांगता भएका नागरिकहरुको सहभागिता रहेको छ। यसअघि काठमाडौंको सुन्धारा, भृकुटीमण्डप, थापाथली र बानेश्वरबाट माइतीघर मण्डलासम्म र्याली निकालिएको थियो। सो प्रदर्शनमा टाउकोमा रातो कपडा बाध्नुका साथै ब्यानर र पर्चा बोकिएको थियो। यो समाचार आजको नेपाल समाचारपत्रमा छ।



लाेकपाटी न्यूज

