काठमाडौं। तपाईं कुनै रेष्टुरेन्टको मेनुमा आँखा दौडाउनुहोस्, ननभेज परिकारको सूची लामो देख्नुहुनेछ। कुनै भोज-भत्तेरमा पुग्नुहोु्स्, मासुकै परिकारले प्लेट भरिभराउ हुनेछ।
कम्तीमा पनि सप्ताहन्त मासु खानैपर्ने प्रचलन हाम्रो समाजमा छ। यी पृष्टभूमीलाई हेर्ने हो भने ठोकुवा गर्न सकिन्छ, हामी मांशहारी छौं। चाडपर्व, जमघट, उत्सवलाई रसिलो बनाउन हामी मासुको साथ खोज्छौं। मीठो-मसिनो खानेकुराको प्रसंग आउनसाथ हाम्रो भान्सामा मासुजन्य परिकार पाक्ने गर्छ।
पशुपंक्षीको मासु नै हाम्रो लागि मीठो परिकार हो। अब हिसाब-किताब गरौं, हामी दिनहुँ कति मासु उपभोग गर्छौं ? हामीले उपभोग गर्ने मासुका खातिर कति पशुपंक्षी मारिन्छ ? यत्तिका पशुपक्षीको हत्या र त्यसको सेवनबाट मानव स्वास्थ्य एवं पर्यावरणमा कस्तो असर परिरहेको छ? यो कुरामा किन पनि सोच्नुपर्ने बेला भएको छ भने, मासुजन्य परिकारको सेवन मानव स्वास्थ्यका हिसाबले हानिकारक मात्र छैन, पर्यावरणका लागि पनि।
पछिल्लो समय जसरी जलवायु परिवर्तन र पर्यावरण दुषित हुँदै गएको छ, त्यसमा मासुजन्य उपभोगलाई पनि एक प्रमूख कारक मानिएको छ। त्यसो त अहिले एकाथरीले शारीरिक रुपमा पोषक तत्व आपूर्तिको लागि मासु अनिवार्य भनी तर्क गर्ने गरेका छन्। प्रोटिन, फ्याट, आइरन जस्ता पोषक तत्वको स्रोत हो मासु। अन्नपात एवं सागसब्जीको अभाव टार्नसमेत मासु खानुपर्ने अवस्था पनि छ।
तर, जब तपाईं कुनै रोगको उपचार गर्न अस्पताल पुग्नुहुनेछ, चिकित्सकले कतिपय खानेकुरा नियन्त्रण गर्न सुझाव दिन्छन्। र, अक्सर यस्ता खानेकुरामा मासुजन्य परिकार पर्छ। खासगरी रातो मासु। जबकी हामीले उपभोग गर्ने मासुको प्रकारमा धेरैजसो रातो मासु नै पर्छ। यसमा खसी, बोका, रागा, भैंसी, सुँगुर आदि पर्छ।
चिकित्सकहरु के पनि भन्छन् भने, मासुबाट जुन पोषक तत्व प्राप्त हुन्छ, त्यो अन्य सागसब्जीबाट पनि प्राप्त गर्न सकिन्छ। अर्थात मासु निर्विकल्प स्रोत होइन। त्यसैले सन्तुलित भोजनका लागि मासुमै निर्भर हुनुपर्छ भन्ने छैन।अब रह्यो स्वादको कुरा। मासुजन्य परिकार मात्र स्वादिलो हुन्छ भन्नु आफैँमा भ्रम हो। स्वादमा विविधता खोज्ने र जिब्रोलाई नयाँ स्वादमा अभ्यस्त गर्ने हो भने अनेकथरी सागसब्जी फेला पर्छ।
शारीरिक स्वास्थ्यका लागि मासु त्यती उपयोगी नहुने त पुष्टि नै भइसकेको छ। धेरै जसो रोगमा तपाईंले मासुको उपभोग कटौती गर्नै पर्छ। अझ महत्वपूर्ण कुरा त के भने, हाम्रो शरीरको संरचना मासुको लागि अनुकुल नभएको बताइन्छ। मासु पचाउन पाचन यन्त्रले धेरै भार व्यहोर्नुपर्छ। मासु लामो समयमा मात्र पच्छ। त्यसमाथि मासुका लागि जनवारको छनौट गर्ने, बध गर्ने, भण्डारण गर्ने, पकाउने कुरामा हामी अस्वस्थ्यकर विधी अपनाउँछौं। यसले गर्दा मासु हाम्रो लागि रोगको भण्डार बन्ने गर्छ।
मासुको खपत पूर्णत ठप्प भयो भने मुटुको रोगी, मधुमेह, स्ट्रोक र केही किसिमको क्यान्सर पनि पटक्कै हुन ेछैन। यस्तो अवस्थामा विश्वभरबाट स्वास्थ्य उपचारका लागि जति खर्च हुन्छ, त्यो बचत हुनेछ। यी भए, शारीरिक स्वास्थ्यको कुरा। मासुजन्य परिकारको उपभोगले पर्यावरणमा पनि नकारात्मक असर परिरहेको छ। एउटा आलेखमा के दाबी गरिएको छ भने, ‘यदि सन् २०५० सम्म विश्वका मानव समुदाय शाकाहारी भए भने हरेक वर्ष ७० लाख कम मृत्यु हुनेछ। त्यसैगरी पशुसँग जोडिएको उत्पादन पूर्णत खपत गर्न छाडियो भने हरेक वर्ष ८० लाख कमको मृत्यु हुनेछ।
अक्सफोर्ड मार्टिन स्कुल फ्युचर अफ फुड प्रोगामको एक रिसर्चबाट यो तथ्यांक तयार गरिएको छ। रिसर्चर मार्को स्प्रिगम्यानका अनुसार खाद्य सामाग्रीसँग जोडिएको उत्सजनमा ६० प्रतिशतको गिरावट आउनेछ। यो रेड मिटबाट मुक्तिको कारण हुनेछ। किनभने रेड मिड मिथेन ग्यास उत्सर्जित गर्ने पशुबाट प्राप्त हुन्छ। कोलम्बियामा इन्टरनेशनल सेन्टर फर ट्रपिकल एग्रिकल्चरमा काम गर्ने एन्ड्र्यु जर्विस भन्छन्, ‘विकसित देशमा शाकाहारी हुनु निकै फाइदाजनक छ। यो पर्यावरण र स्वास्थ्य दुबैका लागि फाइदा छ।
चार सदस्य भएका मांशहारी परिवारले दुई वटा कारले भन्दा बढी ग्रीन हाउस ग्यास छोड्छ। उदेगलाग्दो चाहि के छ भने, जब ग्लोबल वार्मिङको कुरा गरिन्छ, तब कारलाई दोष दिइन्छ, मासु खानेहरुलाई होइन। यही कारण ग्रीन हाउस ग्यास उत्सर्जन बढी हुन्छ। ब्रिटेनका फूड सेक्युरिटी विज्ञ टिम बेन्टन भन्छन्, ‘हाम्रो खानपानको प्रवृत्तिले हाम्रो माहौलमा असर पर्छ । तर, यसमा कसैको ध्यान जाँदैन। हामीले पूर्ण रुपमा मासु छाड्न सकेनौ भने पनि यसको खपत कम गर्न सकिन्छ। यसले पक्कै सकारात्मक नतिजा दिनेछ।



लाेकपाटी न्यूज

