काठमाडौं, ३० असार । कांग्रेस नेता कृष्णप्रसाद सिटौला आइतबार बिहानै पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगे। प्रचण्डसँग उनले झण्डै सवा घण्टा छलफल गरे। त्यसपछि बाहिरिए।
कांग्रेस नेता सिटौलाको आज भोली प्रचण्डसँगको भेटघाट बाक्लिएको छ। असार महिनामा मात्रै सिटौला प्रचण्ड भेट्न उनको निवास खुमलटार नै चार पटक पुगिसके। अखिर सिटौला किन प्रचण्ड निवास खुमलटार पुगिरहेका छन् ?सिटौला प्रचण्डसँग पछिल्लो पटक सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठनका विषयमा छलफलका लागि प्रचण्ड निवासमा बाक्लै ओहोरदोहोरमा छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाकै निर्देशनका आधारमा सिटौला प्रचण्ड निवास पुगेका हुन्। देउवाले सिटौलालाई सत्य निरुपणका सन्र्दभमा सत्तापक्षसँग सहमतिको वातावरण निर्माणका लागि खटाएको कांग्रेस स्रोतको भनाई छ।शान्ति प्रक्रियाको बाँकी एउटै काम सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ताको खोजी कार्य मात्र बाँकी छ। हतियार ब्यवस्थापन, सेना समायोजन लगायतका शान्ति प्रक्रियाका काम आफ्नै मौलिक विशेषताका आधारमा नेपालका प्रमूख राजनीतिक दलहरु आफैले टुग्याएका थिए। तर, सत्यनिरुपण र बेपत्ताको खोजी कार्य मात्र अहिलेसम्म बाँकी छ।
यसका लागि पनि अब छिटो एउटा निश्कर्षमा पुग्न राजनीतिक दलहरुलाई दबाब छ। यसका लागि विगतमा सूर्य्किरण गुरुङको अध्यक्षतामा बनाईएको सत्य निरुपण तथा मेलमिलाप आयोगले चार वर्षसम्म उजुरी लिने बाहेकका अन्य काम गर्न नसकेपछि उक्त आयोगको म्याद सरकारले थप्न चाहेन। अहिले सत्य निरुपण र बेपत्ता दुबै आयोगमा नयाँ पदाधिकारी नियुक्ति गरेर प्रक्रिया अगाडी बढाउने सरकारको तयारी छ।
त्यसका लागि सर्वाेच्च अदालतका पूर्वन्यायधिश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समितिसमेत बनाएको छ। तर, राजनीतिक तहमा सहमति जुटन नसक्दा आयोग गठनमा बिलम्व भईरहेको छ। सत्य निरुपणमा ६० हजार भन्दा वढी यस अगाडी नै उजुरी परेका छन्। सत्य निरुपणका विषयमा अन्तर्राष्ट्रिय समुदायले नेपालमा हस्तक्षेपकारी नीति अबलम्वन गर्न खोजेको र राष्टिय अन्तर्राष्ट्रिय शान्ति प्रक्रिया बिरोधी शक्ति केन्द्रहरुले चलखेल गर्न थालेपछि राजनीतिक दलहरुका बिचमा आफ्नै मौलिकतामा यो प्रक्रिया पनि टुंगो लगाउने विषयमा निरन्तर छलफल छ।
प्रधानमन्त्री ओलीको पहलमा प्रधानमन्त्री निवास वालुवाटारमै पनि ओली, प्रचण्ड र कांग्रेस सभापति शेरवहादुर देउवाका बिचमा तीन पटक छलफल भईसकेको छ। तर पनि दलहरुले आयोग अध्यक्ष नियुक्तिका विषयमा व्यक्तिका विषयमा सहमति हुन नसक्दा आयोगमा पदाधिकारी गठनमा ढिलाई भईरहेको छ। कांग्रेसले सत्य निरुपण तत्कालिन माओवादी र आफूहरुसँग अलिक बढी जोडिएको विषय भएकोले त्यसको नेतृत्व आफूले भनेको व्यक्ति हुनुपर्ने अडान लिईरहेको छ।
प्रधानमन्त्रीलाई बेपत्ता आयोगको अध्यक्ष आफूले निर्णय लिएर सत्यनिरुपणका लागि आफूले भनेको व्यक्तिलाई आयोग अध्यक्ष बनाउन कांग्रेसले भनिरहेको छ। कांग्रेसले सत्य निरुपणका लागि डा. सूर्य ढुंगोललाई अगाडी सार्न चाहेको छ। प्रधानमन्त्री ओलीले भने गोविन्द बन्दीलाई अध्यक्ष बनाउन चाहेका छन्। यही विषयमा समझदारीका लागि देउवाले पटक पटक प्रचण्डसँग सहमतिको प्रयासका लागि सिटौलालाई राजनीतिक भेटघाटका लागि पठाईरहेका छन्। त्यही कारण पनि सिटौला प्रचण्ड निवास पुगिरहेका हुन्। आइतबार पनि त्यही क्रममा प्रचण्ड निवास खुमलटार पुगेका हुन्।



लाेकपाटी न्यूज

