एक योद्धाको छोरालाई चिठी (कविता)

लाेकपाटी न्यूज

– बि.एन ढकाल

प्रिय छोरा
अटल विद्रोही
म तिम्रो एक योद्धा बाबू !

तिम्रो पृथ्वीभन्दा माथिको स्वर्गबाट
हिजोका मेरा अधुरा सपना र
आजका तिम्रा अपूरा सपना
नियालिरहेको
म तिम्रो सपनाको बगैँचामा
फुल्दै गरेका फूलहरुको माली !
परमधाम भएको वर्षौंपछि आज
तिम्लाइ केही भन्ने निधो गरी
यो चिठी लेख्दैछु… !

छोरा,
जब मान्छेलाई भोकको अभावले गाँज्छ,
तब ऊ खानाको खोजीमा निस्किन थाल्दोरहेछ !
जब मान्छेलाई अत्याचारको खोलामा ज्यूँदै हेलिन्छ,
तब ऊ सङ्घर्ष गर्दोरहेछ पौडिन !
जब हावाले भरिएको बललाई
निर्मम थेचारिन्छ यो जमीनमा,
तब उस्ले देखाईदिँदोरहेछ – एउटा बुलन्द क्रान्ति !

छोरा,
क्रान्ति अनन्त हुन्छ र हुनुपर्छ …!

हिजो जनताको सपना कुल्चिएर
राज गर्ने बादशाहका विरुद्ध
हामीले गरेकै हो नाराबाजी… !
पिखुवाकाे पानी पिएर पिखुवाकै छालझैँ
स्वतन्त्रताको विगुल फुक्न
ट्याम्केको शिरमा उभिएर
राजदरबारीया कुशासकको विरुद्ध
हामीले नचाएकै हो खुकुरी… !

छोरा,
जब तिमी सानो हुँदा
आकाशमा उडेका चराहरु हेरेर भन्ने गर्थ्यौ
‘हामी किन ती चराजस्ता नभएर
यो पिँजडामा कैद सुगाजस्ता भयौँ बाबा ?’
तब म निस्किए क्रान्तिको ज्वाला लिएर
लगाइदिएँ डढेलो
रुढ परम्परा र कुसंस्कारको झ्यास बोकेका कयौँ मनहरुमा
उरालेर बर्बर भिडहरु
जब फिजाइयो क्रान्तिचेतना – अबोध मस्तिष्कमा
तब पुग्यो करेन्टको झट्का राजदरबारसम्म

र आज
बोलेकै अभियोगमा
तिमीले गिरफ्तार हुनुपर्दैन !

प्रिय छोरा,
अब तिमीले कैलै नझुक्नु पाखण्डी समाजसँग
कुनै दिन बिर्सिएर झुक्न लागेउ भने – तिम्रो बाबालाइ सम्झिनु …!
तिमीले कैलै आइतबार नपर्खिनु
जनताको जिब्रोमा लुप्त आवाजहरु उराल्न
तिमीले कैलै नबिर्सनु तिम्रा सपनाहरु
तिमीले कैल्यै नभुल्नु देश, जनता र माटो
तिमीले सधैँ सम्झिनु तिम्रो सिंहदरबारीया भोकको राजनिती…!
र कहिलै नबिर्सनु क्रान्तिको परिभाषा
‘क्रान्ति अनन्त हुन्छ र हुनुपर्छ…!’

कैलेकाहीँ बिर्सन खोज्यौ भने,
पल्टाउनु तिम्रो बाबाको आत्मवृतान्त
त्यहाँ तिम्ले पाउनेछौ
म क्रान्तिमा हिँड्नु अघि
‘तँ नजा छोरा, क्रान्तिकारी नबन्’
भन्दै विलौना गाइरहेकी मेरी आमालाई
‘आमा, म त आफ्नो भोकभन्दा माथि उठेर
देश र जनताको भोकका निम्ति
सङ्घर्षशिल एक योद्धा पो त !
मैले कतै क्रान्तिको लडाइँ
लड्दालड्दै विरगती प्राप्त गरिहालेँछु भने
मलाइ सहिद बनाउनुको सट्टा
मेरो अधुरो क्रान्तिकाे नेतृत्त्व गर्ने
एक कुशल सपूत जन्माइदेउ है आमा !’
भनी मैले हातमा थमाइदिएको एक पृष्ठ …!

छोरा,
तिमीले पढ्नु ,
सोच्नु र बुझ्नु सधैँ ती शब्दहरुलाई…!

स्वर्गको एक कुनाबाट
पृथ्वीको चरित्र नियालिरहेको म
आज बर्षौं पछाडि तिम्रो मुहारमा
एउटा विश्वास देखिरहेछु‍ छोरा,
पक्कै तिमी नै हुनुपर्छ – मेरो अधुरो क्रान्तिको कुशल नेतृत्त्व !

र अन्त्यमा,
दृढ विश्वाससहितको लालसलाम !
उही तिम्रो योद्धा बाबू रामप्रसाद….!!

बि.एन ढकाल
अरुण गा.पा.५, भोजपुर।

(–भाेजपुरमा जन्मिएका एक याेद्धा जननायक रामप्रसाद राईकाे सम्झनामा रचित)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्