विप्लव सर्लाही इन्चार्ज पौडेलको योजनाबद्ध ढंगले हत्या गरिएको परिवारको दाबी

kumar poudel
लाेकपाटी न्यूज

सर्लाही, २१ असार । सर्लाहीमा प्रहरीको गोली लागेर गत असार ५ गते मृत्यु भएका विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको परिवारले दोहोरो भिडन्तको नाममा प्रहरीले योजनाबद्ध ढंगले कुमारको हत्या गरेको दाबी गरेका छन्।

कुमारका ७२ वर्षीय बुवा खिलकराज पौडेलले आफ्नो छोरालाई प्रहरीले पक्राउ गरेर हत्या गरेर भिडन्तमा मृत्यु भएको गलत हल्ला फैलाएको आरोप लगाए।  उनले भने, ‘आज मेरो छोराकोमात्रै मृत्यु भएको छैन देशको लागि केही गर्छु भनेर हिडेको देशकै छोरो गुमेको छ, सर्लाहीका गरिब किसान,सुकुम्बासीको अभिभावक गुमेको छ तर सरकारले दोहोरो भिडन्तमा मृत्यु भएको नाम दिईएको छ, यो गलत हो, जनविरोधी र भष्ट्रचारीहरु मिलेर मेरो छोराको हत्या गरिएको छ।’

कुमारका भाई हरिकृष्ण पौडेलले अहिलेसम्म पनि आफनो दाइको पोष्टमार्टम रिपोर्ट नदिएको बताए। उनले आफ्नो दाइलाई नियन्त्रणमा लिएर हत्या गरेको र पोष्टमार्टम रिपोर्ट सरकारको दबावमा अस्पतालले सार्वजनिक गर्न आलटाल गरिरहेको गुनासो गरे।

घटना भएको नजिकै रहेका स्थानीयवासीले पनि आफूहरुले घटना भएको दिन गोलीको कुनै आवाज नसुनेको बताए।
पत्रकार तथा मानवअधिकारकर्मीको टोलीसँगकोे भेटघाट तथा छलफलका क्रममा परिवारले यस्तो बताएका हुन्। जनपत्रकार संगठन,नेपालका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्ट,अधिकारकर्मी रोहित पौडेलको अगुवाईमा पुगेको पत्रकार र मानवअधिकारकर्मीको टोलीले घटनास्थलको अध्ययन गर्नुका साथै घटनाबारे स्थानीयवासी र परिवारसँग छलफल गरेको हो।

छलफलका क्रममा पौडेलको  जिल्ला अस्पताल सर्लाहीले अझै पोष्टमार्टमको रिपोर्ट नदिँदा राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, एभोकेसी फोरमले अन्तिम रिपोर्ट सार्वजनिक गर्न सकेका छैनन्।