काठमाडौं, ९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लागेका छन्।
दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ। ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लागेको बताएका हुन्।सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्ने जनाइएको छ।
यस भेटवार्ताको क्रममा दुई देशबीच अझै गहिरो सम्बन्ध र सहयोगलगायत कोरियाली प्रायद्वीपमा निशस्त्रीकरण विषयमा छलफल हुने प्रवक्ताले जानकारी दिए। मुन र ट्रम्पकोबीच तीन महिना भन्दा पनि कम समयमा पुनः भेटवार्ता हुन लागेको बताइएको छ।
यसअघि गत अप्रिलमा यी दुई नेताबीच भेटवार्ता भएको थियो।ट्रम्पले सन् २०१७ को नोभेम्बरमा दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गरेका थिए। दक्षिण कोरियाको भ्रमण गर्नुअघि जापानको ओसाकामा हुने जि २० सम्मेलनमा शुक्रबार र शनिबार ट्रम्पले सहभागीता जनाउने जनाइएको छ। दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनको निमन्त्रणामा ट्रम्पको यो भ्रमण हुने लागेको ब्लु हाउसका प्रवक्ताले जानकारी दिएका छन्। (रासस \सिन्हवा)



लाेकपाटी न्यूज

