काठमाडौं, ९ असार । भाेलि असार १० गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दकाे घाेषणा गरेकाे छ । गत ५ गते सर्लाहीको पार्टी जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको तयारी गरेको हाे ।
पार्टीले गत ७ गतेदेखि १० गतेसम्म विभिन्न कार्यक्रम तय गरे अनुरुप भाेलि नेपाल बन्द गर्ने भएकाे हाे। सरकारले देशभर हत्या अभियान चलाएको भन्दै त्यसविरुद्ध विप्लव समूहले असार १० गते नेपालभर बन्दको घोषणा गरेको हो ।
पार्टीले सोमबार मसाल जुलुस गर्ने विज्ञाप्तिमा उल्लेख गरेको छ । नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेको विज्ञाप्तिमा भनिएको छ, ‘निशस्त्र अवस्थामा रहेका पौडेल कसरी प्रहरीसँग दोहोरो भिडन्तमा मारियो ? गैरन्यायिक हत्या र अपराधमाथि कथित भिडन्त भनेर सरकारले सार्वजनिक गरेको छ । यो घटनाको निष्पक्ष छानबिनका लागि मानवअधिकारकर्मी र नागरिक समाजसँग अपिल गर्दछौँ।”
गत जेठ १३ गते पनि विप्लव माओवादीले देशभर बन्दको घोषण गरेको थियो । बन्दको घोषण गरी अघिल्लो दिन ठाउँ–ठाउँमा बम राख्ने तयारी हुँदै गर्दा बिस्फोट हुँदा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । काठमाडौंस्थित सुकेधारा र अनामनगरमा भएको विस्फोटमा परी उनीहरुको मृत्यु भएको हो । घटनामा थप ६ जना घाइते भएका थिए । देशभर बन्द आह्वान गरेको समूहले देशको विभिन्न भागमा बम विस्फोट गराएको थियो ।
त्यसकाे करिब एक महिनापछि बन्दको आह्वान गरेको विप्लव समूहले पुन: काठमाडौंसहित देशभर प्रभावित पार्ने देखिएको छ । बन्दको आह्वानसँगै देशभर जनताहरुमा बमको त्रास बढेको छ । विप्लवकाे बन्दले विशेष गरी राजधानीमा प्रभाव पार्ने प्रहरीले अनुमान गरेकाे छ ।




लाेकपाटी न्यूज

