काठमाडौं, ८ असार । जुवातास खेलिरहेकाे अवस्थामा देशका विभिन्न ठाउँबाट ४० जना पक्राउ परेका छन्। भक्तपुरकाे सूर्यबिनायक नगरपालिका ५ सल्लाघारीस्थित रामकृष्ण तोयनाको घरमा जुवातास खेलिरहेका सिन्धुपाल्चोक घर भई सल्लाघारी बस्ने ४९ वर्षीय गंगालाल श्रेष्ठ समेत १३ जनालाई नगद ६ लाख १ हजार ६ सय ८५ रुपैयाँ र ८ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै काठमाडौंकाे टोखा नगरपालिका ३ बानियाँटारस्थित झम्क बहादुर थापाको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने रामेछाप सुनपति गाउँपालिका ४ घर भएका ४३ वर्षीय लाल बहादुर तामाङ लगायत ११ जनालाई नगद ७५ हजार ४ सय रुपैयाँ र ६ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै काभ्रेकाे धुलिखेल नगरपालिका ६ स्थित नर्थपोल होटलमा जुवातास खेलिरहेका होटल संचालक सोही नगरपालिका ११ बस्ने २६ वर्षीय दिपेन्द्र धिताल लगायत ८ जनालाई नगद १ लाख ५७ हजार नेपाली रुपैयाँ, भारतीय रुपैयाँ ५ हजार ९ सय १०, युएस डलर १९, युरो ३०, अस्ट्रेलियन डलर १०, युएई धिराम १० सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कास्कीकाे पोखरा महानगरपालिका ४ रामकृष्ण टोल बस्ने ५० वर्षीय गणेश कतिला श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा निज गणेश लगायत ८ जनालाई नगद ५९ हजार २ सय ५५ रुपैयाँ र ४ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज

