मोटरसाइकल–स्कुटर चलाउँदा के गर्ने, के नगर्ने ? (१० टिप्स)

Biker with girl
लाेकपाटी न्यूज

मोटरसाइकल वा स्कुटर चलाउँदै हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईंले त्यसमा प्रशस्त सावधानी अपनाउनुपर्ने हुन्छ। हाम्रो ज्यान लापर्वाहीले आफ्नो ज्यानै जान सक्छ। दुईपाङ्ग्रे सवारी सबैभन्दा बढी दुर्घटनामा पर्ने गरेको तथ्याङ्कबाट देखिएको छ। यो सवारी साधन सबैभन्दा जोखिमपूर्ण पनि हुन्छ।

मोटसाइकल चलाउँदा के गर्ने, के नगर्ने ? यसबारे समान्य जानकारी सबै चालकलाई हुन्छ नै। तर, त्यति मात्र पर्याप्त हुँदैन। हामीले कति कुरा जानेर पनि हेक्का राख्न छोडेका हुन्छौं। अनि, कति कुरामा ज्ञान पनि हुँदैन। हामीले यहाँ मोटरसाइकल वा स्कुटर चलाउँदा अपनाउनुपर्ने सावधानी उल्लेख गरेका छौं।

१. दुई गाडीको बीचमा ‘क्रस’ गर्दै ओभरटेक गर्दा र घुम्ती वा मोडमा ओभरटेक गर्दा धेरै दुर्घटना हुन्छ। सिधा सडकमा पनि सोझै सवारीको अगाडि तेर्सिन जाने चलन छ। यसले पछाडिबाट ठक्कर खाने सम्भावना बढाउँछ। त्यसकारण ओभरटेक गर्दा विशेष सावधानी अपनाउनुपर्छ।

२. ओभरटेक गर्दा अगाडिपछाडि हेरेर सिधा लेनमा दायाँबाट मात्र गरिनुपर्छ। कम्तिमा पन्ध्र मिटर दूरी राखेर मात्र कुनै पनि सवारीको अगाडि पर्नुपर्छ। सिधै अगाडि तेर्सिंदा ज्यान जोखिममा पर्छ।

३. तीव्र गतिमा चलाउने, गलत लेनमा स्वाट्ट घुस्ने, अरू सवारीसँग टाँसिन जाने, कुनाकाप्चामा छिर्ने पनि दुर्घटनाका कारण हुन्। मोटरसाइकल चलाउनेहरुले यस्तो गल्ती धेरैपटक गरिरहेका हुन्छन्, जसले दुर्घटना निम्त्याउँछ।

४. मादक पदार्थ सेवन गरेर हुँइक्याउनेहरू पनि दुर्घटनामा पर्छन्। ट्राफिक प्रहरीका आँखा छलेर तीन जना बस्ने, केटाकेटी भनेर पाँच जनासम्म अटाउने र मालवाहक गाडीझैं गह्रौं सामान बोक्ने प्रवृत्तिले पनि दुईपाङ्ग्रे दुर्घटनामा पर्छन्। ओभरलोडले पनि दुर्घटना निम्त्याउँछ।

५. मोबाइल र इयरफोन दुर्घटनाका थप कारक बनेको छ। सवारी हाँक्दा फोनमा बोल्ने, गीत सुनेर हिँड्ने प्रवृत्ति बढ्दो छ, यसले सडकमा ध्यान हुँदैन, अरू गाडीको आवाज र पछाडिबाट हर्न बजाएको चाल पाइँदैन। त्यसमा दुर्घटनाको जोखिम हुन्छ।

६. हामीकहाँ सडकको अवस्था गतिलो छैन। यो सरकारी निकायको कमजोरी भए पनि ज्यान जोगाउन आफैं चनाखो हुनुपर्छ। चिप्लो र बलौटे बाटोमा झ्याप्प ब्रेक हान्दा वा मोड्दा धेरै दुर्घटना भएका छन्। खाल्डाबाट जोगिन दायाँबायाँ सुत्त घुमाउन हुंँदैन। बरू सानोतिनो खाल्डो देखे गति कम गरेर खाल्डोबाटै जानुपर्ने उनको भनाइ छ।

७. दुईपाङ्ग्रेको ‘मेसिनरी’ अर्को समस्या हो। काम नगर्ने लाइट, कमजोर ब्रेक, खिइएका वा हावा नभएका टायर र अरू समस्या भएका दुईपाङ्ग्रे नचलाउनु नै बेस। साथै सवारी साधन व्यक्तिको तौल, उचाई र शारीरिक अवस्थासँग मेल खाने खालको लिनु राम्रो मानिन्छ। यसले सवारी नियन्त्रणमा सघाउ पुग्छ।

८. पानी पर्दा जुन खालको ‘डबल रेनकोट’ हामी लगाउँछौं, त्यो पनि सुरक्षित छैन। एक त यस्तो रेनकोट मोटरसाइकल वा स्कुटरको ह्यान्डलमा अड्काएर राखिन्छ, अर्कातिर दुवै यात्रुले गम्लङ्ग ओढ्दा अपर्झट केही भइहाले सवारीसँगै पछारिनुको विकल्प छैन। सकेसम्म चम्किलो रङको बेग्लाबेग्लै रेनकोट सुरक्षित मानिन्छ।

९. सकेसम्म हाफप्यान्ट र छोटा लुगा लगाएर दुईपाङ्ग्रे नचलाउनु र नचढ्नु राम्रो। अलिकति लड्दा पनि खुला भागमा चोट धेरै लाग्छ। पातला चप्पल वा हिल पनि समस्या हुन्छन्। पातलो ज्याकेट, पूरा प्यान्ट, पञ्जा र जुत्ता लगाउँदा सडकमा पछारिए पनि चोट कम हुन्छ।

१०. नयाँ डिजाइनको मोटरसाइकल चलाउँदा विशेष ध्यान दिनुपर्छ। आजकल दपछाडिको सिट अग्लो भएको मोटरसाइकल सडक सुहाउँदो छैन। हाम्रोजस्तो अग्लो–होचो र खाल्डाखुल्डी सडकमा बाइक बुरूक्क उफ्रिँदा पछाडिको मान्छे पछारिने डर हुन्छ। तसर्थ, बाइक किन्दै विचार गर्नु राम्रो हुन्छ।