विपद् व्यवस्थापनमा प्रहरीकाे सक्रियता बढ्दै

nepal-police
रासस न्यूज

काठमाडाैं, ६ असार । नेपाल प्रहरीले स्रोत र साधनको अभावकाबीच पनि विपद् व्यवस्थापनको क्षेत्रमा प्रगति गर्दै गइरहेको बताइएको छ ।

काठमाडौँ महानगरपालिका–३ को सहकार्यमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखाले शुक्रबार आयोजना गरेको ‘वृहद रक्तदान कार्यक्रम’मा विपद् व्यवस्थापनमा प्रहरीले सन्तोषजनक काम गर्दै गएको बताइएको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ठूले राईले समुदायको सहकार्य गरेर प्रहरीले विपद् व्यवस्थापनको क्षेत्रमा उल्लेख्य काम गरेको बताए । उनले भने,  “कुनै व्यक्तिलाई आकस्मिक रगत चाहियो भने नेपाली सेना र प्रहरीले तत्काल उपलब्ध गराउने हुँदा आम जनताको भरोसाजन्य सङ्गठन नेपाल प्रहरी बनेको छ।”

महानगरपालिका–३ का अध्यक्ष दीपक केसीले विपद् व्यवस्थापनको क्षेत्रमा नेपाल प्रहरीसँग सहकार्य गर्न स्थानीय सरकार तयार रहेको बताए । वि.सं २०७५ मा मात्र विपद्का कारण मुलुकभर ३८८ जनाले ज्यान गुमाउनुका साथै एक हजार ३०५ व्यक्ति घाइते भएका थिए ।

त्यस्तै १० जना बेपत्ता भएको महाशाखाका प्रमूख दिलीपकुमार चौधरीले जानकारी दिए । वि.सं २०६८ मा विपद् व्यवस्थापन शाखाको रुपमा स्थापना भएको यो एकाइ वि.सं २०६९ मा प्रति कार्यदल हुँदै वि.सं २०६९ माघमा महाशाखाको रुपमा काम शुरु गरेको हो । सोही अवसरमा ८८ जनाले रक्तदान गरेको महाशाखाका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्