महानिरीक्षक खनालबाट फेब्रिकेटेड केनल फिटेड भेइकल हस्तान्तरण

लाेकपाटी न्यूज

काठमाडौं, ५ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगञ्जलाई फेब्रिकेटेड केनल फिटेड भेइकल हस्तान्तरण गरेका छन्।

प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक खनालले उक्त महाशाखा प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरुङलाई उक्त भेइकलको साँचो हस्तान्तरण गरेका हुन्।

विधिको शासन सुनिश्चितताका लागि फौजदारी न्याय प्रणालीमा अनुसन्धानलाई सुदृढीकरण तथा संगठनले अंगिकार गरेका प्राथमिकताहरुमध्ये कसुरको अनुसन्धानलाई समयसापेक्ष, प्रविधिमैत्री र वैज्ञानिकीकरण गर्ने उद्देश्यलाई टेवा पुर्याउन प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागबाट चालु आवमा विनियोजित बजेट अन्तर्गत कुल ४३ लाख ५ हजार ३ सय रुपैयाँमा उक्त भेइकल खरिद गरिएको हो ।

चालकसहित ५ जना हेन्डलर र ५ वटा कुकुर बस्न मिल्ने क्षमता भएको उक्त भेइकलमा कुकुरका लागि आवश्यक दाना समेत राख्न मिल्ने व्यवस्था छ । विभिन्न प्रहरी कार्यालयहरुबाट माग भए अनुसार समयमा नै परिचालन गर्ने र कुकुरलाई सुरक्षित ओसारपसार गर्ने भेइकलको उद्धेश्य रहेको छ ।

अग्निशामक यन्त्रको प्रयोगसम्बन्धि प्रदर्शनी सम्पन्न
यसैबीच प्रहरी प्रधान कार्यालयको खेल मैदानमा विपद व्यवस्थापन महाशाखाद्वारा बिहीबार अग्निशामक यन्त्रको प्रयोग सम्बन्धि प्रदर्शनी सम्पन्न गरिएको छ ।

प्रदर्शनी अवलोकन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले अग्निशामक यन्त्रको प्रयोग गर्न सकेमा करोडौं सम्पत्ति जोगाउन सकिने बताए। घर, सवारी साधन लगायतको सुरक्षाको लागि अग्निशामक यन्त्र धेरै उपयोगी भएकोले सबैले प्रयोग गर्न जान्नुपर्नेमा समेत उनले जोड दिए ।

सो अवसरमा विपद व्यवस्थापन महाशाखाका प्रशिक्षकहरुले आगोको परिचय तथा वर्गिकरण, अग्निशामक यन्त्रको प्रयोगबाट आगो निभाउने तरिका र आगलागी नियन्त्रणका लागि ध्यान दिनुपर्ने कुराहरु तथा अपनाउनुपर्ने विधिबारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

प्रदर्शनीमा प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्