श्रम गर्नेका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम उपयुक्त अवसर : मेयर ढकाल

chitwan madi
लाेकपाटी न्यूज

चितवन, ५ असार । चितवनको माडी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम बिहीबारबाट सुरु भएको छ। माडी नगरपालिकाका मेयर ठाकुर ढकालले वडा नं. ८ कान्तिपुरस्थित चक्लाबन्दीमा आधारित सामूहिक खेती सुरुभएको स्थानमा कामदारलाई बेल्चा र तगरी दिएर प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गरेका हुन्।

सो कार्यक्रमअन्तर्गत माडी नगरपालिकाले बिहीबारदेखि यो आर्थिक वर्षमा १ सय ४५ जनालाई रोजगार प्रदान गर्न लागेको छ। सो अवसरमा मेयर ढकालले कामको खोजीमा भौतारिनु पर्ने अवस्थाको अन्त्य भएकोभन्दै काम गर्ने र रोजगार बन्ने समय आएको बताए। विदेशमा युवा पलायन रोक्न र स्वदेशमा रोजगारी सृजना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएकोभन्दै उनले श्रममा विश्वास गर्नेहरुका लागि यो उपयुक्त अवसर भएको बताए।

कार्यक्रममा नगरपालिकाका उपमेयर ताराकाजी महतो, प्रमूख प्रशासकीय अधिकृत हरिदत्त कडेल लगायतले मन्तव्य राखेका थिए। माडीको वडा नम्बर ८ कान्तिपुरस्थित चक्लाबन्दीमा आधारित सामूहिक खेती सुरुवात भएको स्थानमा कुलो विस्तार र मर्मतमा ४० जना, वडा नम्बर ५ को पर्यटकीय क्षेत्र सोमेश्वरमा चौतारो निर्माण, छरछरेमा भु-संरक्षण, पर्खाल निर्माणका लागि ३०\३० जनाले रोजगार प्राप्त गर्नेछन्।

त्यसैगरी भु-संरक्षणकै काम अन्तर्गत वडा नम्बर ९ को घाँघर खोला र प्याउली खोलामा १५ र १५ जना, वडा नम्बर ३ को मगुई खोलामा १५ जनाले ड्याममा बाँस लगाउने काम गर्ने माडी नगरपालिकाकी रोजगार संयोजक यमुना ढकालले जानकारी दिईन।माडी नगरपालिकामा ११ सय ६८ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आवेदन फारम भरेका छन् ।

जसमा महिलाको संख्या अधिक रहेको छ। यस आर्थिक वर्षमा रोजगार प्राप्त गर्ने १ सय ४५ जनाले दैनिक ६०० रुपैयाँको दरले पारिश्रमिक प्राप्त गर्ने संयोजक ढकालले बताईन। संघीय सरकारले सञ्चालन गरिरहेको यो कार्यक्रम देशैभरका स्थानीय तहहरुमा लागू गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्