ठोरी, १ असार । ठोरी समन्वय समाज चितवन नेपालको आयोजनामा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
ठोरी गाँउपालिका वडा नम्बर २ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न शिविरमा ३२२ जनाले स्वास्थ्य परीक्षण गराएको समाजका अध्यक्ष चक्र बहादुर कुँवरले जानकारी दिए । उनका अनुसार ३२२ मध्ये ६५ जना पुरुष र २५७ जना महिलाले स्वास्थ्य परिक्षण गराएको हुन्।
गाँउमै पहिलो पटक भिडियो एक्स्रे सहितको शिविर आयोजना गरिएकोले स्वास्थ्य परीक्षण गराउनेहरुको भिड लागेको उनले बताए । शिविरमा स्त्री रोग विशेषज्ञ डा. प्रविण योगीको नेतृत्वमा गएको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा डा. योगीसँगै फिजिसियन डा. प्रयास लामिछाने, रेडियोलोजिस्ट अमित चौधरी लगायतले स्वास्थ्य परीक्षण गरेको कुँवरले जानकारी दिए । शिविरमा विशेष गरी महिलाहरुले पाठेघर र स्तनको जाँच गराएका थिए ।
शिविरमा १५० जनाले पाठेघर सम्बन्धि जाँच गराएका थिए भने १४० जनाले युएसजी अर्थात भिडियो एक्स्रे गराएका थिए । यस्तै २२५ जनाले ओपिडी सेवा लिएको कुँवरले बताए । शिविरमा स्वास्थ्य परीक्षण गराएका मध्ये १ जनामा क्यान्सर देखिएको उनले बताए ।
यस्तै ७ जनामा क्यान्सरको संकेत देखिएको छ भने ५ जनाको पित्त थैलीमा पत्थरी भेटिएको छ । यस्तै ८ जनाको मृगौलामा पत्थरी तथा १ जनाको पित्त थैलीमा मासु पलाएको भेटिएको छ । कार्यक्रमका बोल्दै प्रमूख अतिथि ठोरी गाँउपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष रामप्रकाश कुँवरले स्थानीय सरकारले गर्न पर्ने काम यो समाजले गरेको भन्दै प्रशंसा गरे ।
उनले समाज स्थापना भएको केही महिनामा नै यसले उदाहरणिय काम गरेको बताए । यस्तै उनले आवश्यक परेको खण्डमा आगामी दिनमा गाँउपालिका समाजसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।
ठोरी गाँउपालिकाका वडा नम्बर २ का अध्यक्ष किशोर तामाङले बामे सर्दै गरेको समाजले ठोरीमा यति ठूलो स्वास्थ्य शिविर आयोजना गरेर उदाहरण प्रस्तुत गरेको बताए । उनले भर्खर मात्र स्थापना भएको समाजले ठोरीबासीको स्वास्थ्यलाई मध्यानजर गर्दै यति निशूल्क स्वास्थ्य शिविर गरेकोमा धन्यवाद दिए । यस्तै उनले आगामी दिनमा वडा नम्बर २ र समग्र गाँउपालिका नै समाजलाई जस्तो सुकै सहयोग गर्न तयार रहने प्रतिबद्धता गरे ।
समाजका सल्लाहकार समिति सदस्य एवम् श्री सरस्वती मा बिका प्रधानध्यापक केशव रेग्मीले यो किसिमको शिविर निकै आवश्यक रहेको बताए । समाजले स्थापनाको छोटो समयमा नै उदाहरणिय काम गरेको रेग्मीले बताए ।
समाजका सल्लाहकार समिती सदस्य उद्दव सापकोटाले स्वागत मन्तब्य राखेको कार्यक्रमका समाजका अध्यक्ष चक्र बहादुर कुँवरको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रम समाजका संचार समिती सदस्य सुशिल पन्तले सन्चालन गरेका थिए ।



लाेकपाटी न्यूज

