‘लोकसेवा विज्ञापन रोकिए आन्दोलनको आँधीबेहरी ल्याउँछौं’ (विज्ञप्ति)

Mangal Thapa
लाेकपाटी न्यूज

काठमाडौं, ३१ जेष्ठ। लोकसेवा आयोगको स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन रोकिए १० लाख युवा डिप्रेशनको शिकार हुने भन्दै त्यसबाट उत्पन्न परिस्थिति भयावह हुने चेतावनी दिइएको छ। लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिले रिपोर्टर्स क्लबमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।

लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिका संयोजक मंगल थापाले राजनीतिक स्वार्थका लागि लाखौंको भविष्य बर्बाद पार्ने चलखेल विगतदेखि नै हुँदै आएकाले यसपटक चुप नलाग्ने बताए। देशभरबाट आन्दोलन शुरु गरिने तयारी भइसकेकाले तत्काल विज्ञापन रोक्ने निर्देशन फिर्ता लिन आग्रहसमेत गरे। उनले भने, ‘देशमा सधै युवाको भविष्यमाथि खेलवाड गरियो, अब असह्य भयो।’ योग्यता र क्षमतालाई पन्छाएर चाटुकारहरुलाई भनाई गर्ने नियतका साथ विज्ञापन रोक्न खोजिएकाले आम युवा विद्यार्थीहरु सडक संघर्षमा ओर्लनसक्ने अवस्था आउन लागेको बताए।

समितिका सहसंयोजक विजय लुइँटेलले करारमा कर्मचारी नियुक्ति गर्ने खेलमा रोकिएको लोकसेवाको विज्ञापनले देशमा दुरगामी असर पार्न सक्ने चेतावनी दिए। उनले भने,‘यस्ता कदम युवाविरोधी हुन्।’ अभियन्ता पदमबहादुर खत्रीले आफूहरु समावेशी व्यवस्थाको विरोधी नभएको तर समावेशीको नाममा युवाको भविष्य अन्धकार बनाउन खोजिएको आरोप लगाए। देशमा यस्तै अवस्था बनिरहे आन्दोलनको आँधीबेहरी आउने चेतावनी दिए।

                                                                        प्रेस विज्ञप्ति

लोक सेवा आयोगले मिति २०७६ जेठ १५ गते प्रकाशित गरेको स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन रोक्न र ‘करारमा कर्मचारी’ नियुक्ति गर्न भनि सुशासन तथा राज्य व्यवस्था समितिले २०७६ जेठ २७ गते नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्मानित लोक सेवा आयोगलाई निर्देशन दिने भनि गरेको निर्णयप्रति हामी लोक सेवा आयोगको तयारी गरिरहेका लाखौ विद्यार्थीहरु चिन्तित तथा घोर आपत्ति प्रकट गर्दछौ ।

‘योग्यता प्रणालीलाई आधार बनाई स्थायी सरकारकोरुपमा रहेको निजामति सेवा र सेवा सञ्चालन गर्ने विभिन्न निकायहरुमा ‘निष्पक्ष र पारदर्शि तवरले परीक्षा लिई, योग्य कर्मचारी भर्ना छनौट गर्ने प्रक्रिया’ सम्मानित लोक सेवा आयोगबाटै गरियोस’’ भन्ने हाम्रो प्रमुख माग हो । साथै नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ उपदफा ८ विपरित ‘करारमा कर्मचारी नियुक्ति गर्ने’ भनि गरिएको निर्णय यथाशीघ्र फिर्ता गरियोस्, तथा यस्ता असंवैधानिक तथा नीति विपरितका कार्य नगर्न चेतावनी दिन चाहान्छौ ।

सुशासन समितिको गरेको निर्णयप्रति गम्भिर भई हामी लोक सेवा अध्ययनरत गरिरहेका लार्खौ विद्यार्थीहरुले यस निर्णयको विरोध गर्दै करार कर्मचारी नियुक्ति गर्ने भन्ने जस्ता असंवैधानिक निर्णयको विरोधमा संघर्ष समिति गठन गर्दै विगत ४ दिनदेखि शान्तिपूर्ण, चरणबद्ध आन्दोलनको गर्दै आएका छौ ।

चरणबद्ध आन्दोलन स्वरुप भोलि ३२ गते दिउँसो १ बजे माईतिघरमण्डलामा विरोध कार्यक्रम रहेको र उक्त कार्यक्रममा उपस्थित भईदिन सबै सुशासनका पक्षधरहरुलाई हार्दिक आग्रह गर्दछौं । साथै लोक सेवा तयारी गरिरहेका लार्खौ विद्यार्थीहरु सहभागिताको लागि अनुरोध गर्दछौ ।
संयोजक
मंगल थापा
लोक सेवा तयारी विद्यार्थी संघर्ष समिति
९८५११०३४३९

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्