बाह्र वर्षदेखि साउदीको जेलमा रहेका नेपालीलाई मृत्युदण्ड

law-court-kanun
लाेकपाटी न्यूज

काठमाडौं, ३० जेठ। १२ वर्षदेखि साउदी अरेबियाको जेलमा रहेका एक नेपाली युवालाई पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको छ। आफ्नै नातेदारको हत्यामा दोषी ठहरिएका उदयपुरका विवेक दाहाल उदयपुरका विवेक दाहाल १२ वर्षदेखि साउदीको जेलमा छन्।

उदयपुरको बसाहा ७, बैकडाँडाका दाहालले मोरङ, बबियाबिर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेका थिए। उनलाई जुवेलस्थित हायल जेलमा राखिएको छ। सार्वजनिक कानूनअनुसार मृत्युदण्डको फैसला सुनाएको तल्लो तहको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको हो।

अदालतले पीडित पक्षलाई निजी अधिकारसम्बन्धी कानून प्रयोग गर्न दिन अस्वीकार गरेको छ। दाहालको जीवन बचाउन रियादस्थित नेपाली दूतावासले निजी कानूनअनुसार पीडित पक्षलाई ‘ब्लडमनी’ रकम दिई माफी दिन अदालतसमक्ष अनुरोध गरेको थियो।

पुनरावेदनका तीन न्यायाधीशको संयुक्त इजलासले मृत्युदण्डको फैसला सुनाएको हो । ‘दुई जना न्यायाधीश मृत्युदण्ड नै दिनुपर्नेमा मतमा उभिए। एक जना न्यायाधीश निजी कानूनअनुसार पीडित परिवारलाई फैसला गर्न दिनुपर्ने पक्षमा उभिएका थिए,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने, ‘पुनरावेदनले मृत्युदण्डको सजाय नै तोक्यो।’

दाहाल, विष्ट र एक जना सुडानी जुवेलको मरुभूमिमा ऊँट गोठाला थिए। विष्ट दाहालका नातेदार पनि हुन्। ‘विष्ट र सुडानी राति सुतिरहेका बेला दाहालबाट आक्रमण भएको मिसिलमा उल्लेख छ। आक्रमण हुनेबित्तिकै विष्टकोज्यान गयो। सुडानी घाइते भए,’ राजपुतले भने, ‘प्रतिकार नै गर्न नसक्ने अवस्थामा हत्या गरेको हुँदा अदालत पीडित पक्षलाई ब्लडमनी दिलाई माफी दिने पक्षमा देखिएन।’

पीडित पक्षले पीडकलाई माफी दिइसकेको पत्र दूतावासले अदालतलाई बुझाएको थियो। ‘यो केसमा न्यायाधीशले निजी कानूनभन्दा बढी सार्वजनिक कानुनअनुसार फैसला गरेको देखियो,’ उनले भने। दूतावासले पुनरावेदन अदालतको फैसला चित्त नबुझेपछि सर्वोच्च अदालतमा निवेदन दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्